राजनीति


प्रधानमन्त्रीको सचिवालयद्वारा त्रिवि क्रिकेट रंगशाला निरीक्षण

प्रधानमन्त्रीको सचिवालयद्वारा त्रिवि क्रिकेट रंगशाला निरीक्षण

नेपालखबर
चैत ८, २०८१ शुक्रबार १०:३०, काठमाडौँ

सरकारको लक्ष्यअनुरुप आगामी वैशाख २४ मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १० हजार दर्शक अट्ने प्यारापिट बनाइनसक्न र फ्लड लाइट स्थापना गर्ने कामको गतिलाई तीनवटै सत्रमा तीव्रता दिन थालिएको छ।

कामको प्रगति अनुगमन गर्न बिहीबार राति प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय टोलीले निरीक्षण गरेको छ। राति नौबजे प्रधानमन्त्रीको सचिवालयका अधिकृत टोली जनसम्पर्क सल्लाहकार किरण पौडेल, प्रधानमन्त्रीको निजी सचिव विनोद कुँवरसहितको टोली साइटमा पुगेको थियो।

टोलीलाई यसबारे जानकारी दिँदै भवन निर्माण मन्त्रालयका सहसचिव चक्रवर्ती कन्ठले अहिले मैदानको चोभार इन्डतर्फ दायाँ र बायाँतर्फ अन्तरराष्ट्रियस्तरका दुईतले प्यारापिट बनाइने बताए।

यसैगरी, रङ्गशालाका छ स्थानमा फ्लडलाइट जडान गर्ने काम भइरहेको उनले जानकारी दिए। यसका लागि अहिले जमिनको सतहमुनि रहने पाइल बनाउने काम भइरहेको छ। कामलाई निर्धारित समयभित्र सम्पन्न गर्न तीनवटै प्रहरमा काम भइरहेका छन्। दिनमा एक सय र राति करिब ६० जना जनशक्ति खटिइरहेका छन्।

अहिले करिब १० हजार दर्शक अट्नेगरी ३५ प्रतिशत जमिनमा काम भइरहेको पनि उनले बताए। सबैतर्फ काम सम्पन्न भएपछि भने ५० हजार जना दर्शक अटाउन सक्ने भनाइ उनको थियो।

निरीक्षणपश्चात विकास निर्माणलाई तीव्रता दिने कुरामा प्रधानमन्त्रीको समेत चासो रहेकाले काममा तीव्रता दिन टोलीले निर्देशन दिएको थियो।

यसअघि बिहीबार उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad