राजनीति


कर्णालीमा चिकित्सक पठाउन सांसद मल्लको माग

कर्णालीमा चिकित्सक पठाउन सांसद मल्लको माग

नेपालखबर
असार २५, २०८३ बिहिबार १४:३८, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रमेश मल्लले कर्णालीमा चिकित्सक पठाउन सरकारको ध्यानाकर्षण गराएका छन्। 

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद मल्लले कर्णालीमा इन्टर्न चिकित्सक पठाउने भनिए पनि कार्यान्वयन नभएको गुनासो गरे। ‘कर्णालीमा तत्काल इन्टर्न चिकित्सक पठाइने भनिएको थियो, तर त्यसको कुनै कार्यान्वयन भएको छैन। एमडी÷एमएस अध्ययन पूरा गरी स्वदेश फर्किएका चिकित्सकहरू मन्त्रालयको सम्पर्कमा आएको एक महिना बितिसकेको जानकारी प्राप्त भएको छ, तर सल्यान अस्पताललगायत कर्णालीका अस्पतालमा आवश्यक जनशक्ति अझै पठाइएको छैन,’ उनले भने। 

चिकित्सक नहुँदा कर्णाली क्षेत्रका बासिन्दाले उपचार पाउन नसकेको उनले सुनाए। ‘सुत्केरी सेवा प्रभावित भएको छ, विशेषज्ञ उपचारको अभाव झन् गम्भीर बन्दै गएको छ र सामान्य उपचारका लागि समेत नागरिकहरू जिल्ला बाहिर धाउन बाध्य छन्,’ मल्लले भने। 

दुई महिनाअघि सल्लान अस्पतालमा चिकित्सक पठाउन गरिएको आग्रह पनि सरकारले नसुनेको उनले गुनासो गरे। ‘सल्यान अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव, स्वास्थ्य बीमा कार्यक्रमको कमजोर अवस्था, स्थानीय तहका अस्पतालहरूको पूर्वाधार निर्माण तथा जनशक्ति व्यवस्थापनका समस्याबारे सरकारको ध्यानाकर्षण गराएको थिएँ। तर दुःखका साथ भन्नुपर्छ, आजसम्म त्यसको समाधानतर्फ कुनै प्रभावकारी पहल भएको देखिएको छैन,’ उनले भने। 

त्यस्तै, उनले स्वास्थ्य बीमाका विषयमा पनि सरकारको ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहले चुनावको बेला ‘खल्तीमा पैसा नभएको विपन्न गरिबले पनि स्वास्थ्य उपचार पाउनुपर्छ, त्यो हाम्रो एजेन्डा हो’ भनेको स्मरण गराए। ‘आजको यथार्थ त्यसको ठीक विपरीत देखिएको छ। स्वास्थ्य बीमा कार्यक्रम दिनप्रतिदिन कमजोर बन्दै गएको छ, सरकारी अस्पतालहरूमा औषधि तथा स्वास्थ्य सामग्रीको अभाव छ, र विपन्न नागरिक उपचारको पहुँचबाट टाढिँदै गएका छन्,’ मल्लले भने। 

स्वास्थ्य बीमालाई लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिबारे सरकारले स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो। अर्थमन्त्री वाग्लेले तीन हजार पाँच सय रुपैयाँ प्रिमियम तिरेर एक लाख रुपैयाँको उपचार सेवा दिन नसकिने बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad