नेपाल सरकार मन्त्रिपरिषद्को सोमबार साँझ बालुवाटारमा बसेको बैठकले विभिन्न राजनीतिक नियुक्तिसम्बन्धी निर्णय गरेको छ।
बैठकले विद्युत नियमन आयोगको सदस्य पदमा भागीरथी भट्टराई ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ। काठमाडौंकी ज्ञवाली ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्य पनि छन्।
ऊर्जामन्त्री दीपक खड्काको प्रस्तावमा उनलाई यो राजनीतिक नियुक्ति दिइएको हो। जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर ज्ञवाली अध्यापन अरू विभिन्न संघसंस्थामा पनि आबद्ध छिन्।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशक पदमा लमजुङका फाइन्द्रराज पाण्डे नियुक्त भएका छन्।
अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेस गर्न बाबुराम रेग्मीको अध्यक्षतामा भरतबहादुर बोहोरा र बद्रीप्रसाद भट्टराई सदस्य रहेको ३ सदस्यीय जाँचबुझ आयोग गठन गरिएको छ।
रेग्मी उच्च अदालतका पूर्वन्यायाधीश हुन्। उनले विशेष अदालतको अध्यक्ष भएर पनि काम गरेका थिए। बोहोरा नेपाल प्रहरीका पूर्वअधिकारी हुन्।
सरकारले स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकको पदमा डा रघुराज काफ्लेलाई नियुक्त गरेको छ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलका गृहजिल्ला तनहुँका काफ्ले यसअघि गण्डकी प्रदेशका नीति तथा योजना आयोग उपाध्यक्ष थिए। मन्त्री पौडेलले केही समयअघि स्वास्थ्य बिमासम्बन्धी अध्ययन कार्यदलमा पनि उनलाई राखेका थिए।
डिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा वन तथा वातावरण मन्त्रालयका प्राविधिक सहसचिव डा बुद्धिसागर पौडेललाई अर्को व्यवस्था नभएसम्मको लागि कामकाजमा खटाउने निर्णय पनि सरकारले गरेको छ।
यस्तै, नागरिक उड्डयन क्षेत्रको सुधारसम्बन्धी उच्चस्तरीय अध्ययन तथा सुझाव समितिको म्याद ४५ दिन थप गर्ने निर्णय भएको छ। गत कात्तिकमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाको अध्यक्षतामा उक्त समिति बनाइएको थियो। समितिमा हवाई व्यवस्थापन विज्ञ राजेन्द्रबहादुर सिंह, हवाई सुरक्षा विज्ञ भेषराज सुवेदी, हवाई सेवा सञ्चालन तथा गुणस्तर व्यवस्थापन विज्ञ रिवाजप्रसाद प्रधान र पर्यटन मन्त्रालयका सहसचिव सदस्य रहेका छन्।
आर्थिक वर्ष २०८१/८२ को बाँकी अवधिका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत सञ्चालित उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम, काठमाडौंको लागि अधिकृतस्तरका ६ पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
यस्तै बैठकले महालेखापरीक्षक तोयम राया, उपमहालेखापरीक्षक वैकुण्ठबहादुर अधिकारी, वनमन्त्री ऐनबहादुर शाहीको विदेश भ्रमण पनि स्वीकृत गरेको छ।
Shares

प्रतिक्रिया