नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बुधबार बालुवाटारमा बस्यो।
बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग स्पष्टीकरण सोध्ने लगायत १९ वटा निर्णय भएका छन्।
उक्त बैठकले सरकारका मन्त्री, सचिव र संवैधानिक पदाधिकारीका ९ वटा विदेश भ्रमण पनि स्वीकृत गरेको छ। जसमा ऊर्जामन्त्री दीपक खड्का, महिलामन्त्री नवल किशोर साह सुडी, वनमन्त्री ऐन बहादुर शाही ठकुरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दसम्मका भ्रमण छन्।
शुक्रबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएअनुसार, चैत २६ देखि २७ (तदनुसार ८ देखि ९ अप्रिल, २०२५) गतेसम्म अमेरिकाको वासिङ्टन डीसीमा आयोजना हुने एन्टिकरप्सन ग्लोबल फोरममा सहभागी हुन अख्तियार आयुक्त जयबहादुर चन्दलाई स्वीकृति प्रदान गरिएको छ।
त्यस्तै थाइल्यान्डको बैंककमा फागुन १९ देखि २१ (तदनुसार ३ देखि ५ मार्च, २०२५ ) सम्म आयोजना हुने एसिया प्यासिफिक रिजनल प्रिपेरेटोरी मिटिङ फर द सेकेन्ड युनाइटेड नेसन्स फुड सिस्टम समिट स्टकटेकिङ मुमेन्ट कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्राडा आरपी बिच्छालाई सहभागी हुन स्वीकृति दिइएको छ।
यही चैत ५ देखि ६ (तदनुसार १८-१९ मार्च, २०२५) सम्म जर्मनीको बर्लिनमा आयोजना हुने ११ औं एडिसन अफ द बर्लिन इनरूजी ट्रान्जिसन डायलगमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्कालाई सहभागी हुन स्वीकृति दिइएको छ।
मन्त्रिपरिषद्ले फागुन २६ गतेदेखि चैत ८ गतेसम्म न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र संघीय महिलाको स्थितिसम्बन्धी आयोग (सीएसडब्ल्यू) को ६९ औँ सम्मेलनमा सहभागी हुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीको नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको छ।
फागुन २९ (तदनुसार १३ मार्च, २०२५) मा बेलायतको लन्डनमा आयोजना हुने मन्त्रीस्तरीय गोलमेच कार्यक्रममा सहभागी हुन वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीलाई स्वीकृति प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय मामिलासचिव चूडामणि पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्तिसचिव गोविन्दबहादुर कार्की, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहको विभिन्न देशमा हुने वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
बाँकी निर्णयहरू पनि सरुवा, बढुवा र कारबाहीमा बढी केन्द्रित छन्।
स्वास्थ्य मन्त्रालयमा डा विकास देवकोटालाई सचिवमा बढुवा गरिएको छ।
दुईवटा सचिवको सरुवा गरिएको छ। जसअनुसार अतिरिक्त समूहमा रहेका सुमनराज अर्याल राष्ट्रिय योजना आयोगमा र कर्णाली प्रदेशका प्रमुख सचिव लोकनाथ पौड्याल उपराष्ट्रपतिको कार्यालयको सचिवमा सरुवा भएका छन्।
यस्तै मधेश प्रदेशका कायममुकायम प्रमुख सचिव मदन भुजेललाई बढुवा गरी सोही पदमा पदस्थापन गर्ने निर्णय पनि सोही बैठकबाट गरिएको छ।
उता सहसचिव वीरेन्द्रकुमार यादवलाई कर्णाली प्रदेशको प्रमुख सचिव पदमा कायममुकायम मुकरर गरिएको छ।
यही बैठकले प्रधानमन्त्रीको मानव अधिकार तथा संक्रमणकालीन न्याय सल्लाहकारमा अग्नि खरेललाई नियुक्त गरेको छ। खरेल आम निर्वाचनमा झापा क्षेत्र नं १ मा पराजित भएका थिए। महान्यायाधिवक्ता र कानुनमन्त्री भइसकेका उनी २०७९ को निर्वाचनमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए।
Shares

प्रतिक्रिया