प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई लक्षित गर्दै जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने दयनीय अवस्थामा आफूहरू नरहेको टिप्पणी गरेका छन्।
सोमबार गैरसरकारी संस्था महासंघको ११ औं महाधिवेशन तथा नागरिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन्।
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किंदा स्वागतका लागि जम्मा भएकाहरूले भारतीय नेता तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग गरेका थिए।
असंवैधानिक, प्रजातन्त्रविरोधी, पद्धतिविरोधी र प्रणालीविरोधी कुरामा लाग्न आफूहरूलाई फुर्सद नभएको प्रधानमन्त्रीको भनाइ थियो।
प्रधानमन्त्री ओलीले भने, ‘हामी एउटा जुलुस निकाल्नुपर्यो भने विदेशीको फोटो राखेर जुलुस निकाल्नुपर्ने दयनीय हालतमा छैनौँ। हामी आफैँसँग विचार छ, आफैँसँग नेता छन्। हामी यसको दृष्टान्त दिन सक्छौँ। हामी आफैँले गरेका छौँ। त्यसमा केही भयो भने केपी ओलीले मान्छे घुसायो भन्नुहुन्छ, त्यो जुलुस नै मैले गराइदेको हो, भयो? हामी आफ्नै कुरामा छौँ। यस्ता फाल्तु, असंवैधानिक, प्रजातन्त्रविरोधी, पद्धतिविरोधी, प्रणालीविरोधी कुरामा हामी लाग्नुहुँदैन। दरबार हत्याकाण्ड हामीले सम्झेका छौँ। यो बीभत्सतामा आएका संस्थाहरूका समर्थकका क्रियाकलाप यस्तै हुन्छन्।’
Shares

प्रतिक्रिया