राजनीति


नेपालका माओवादीले जनयुद्ध बेचेर खाइसके: सञ्चारमन्त्री गुरुङ

दिलभूषण पाठकलाई यदु गौतम स्मृति पुरस्कार
नेपालका माओवादीले जनयुद्ध बेचेर खाइसके: सञ्चारमन्त्री गुरुङ

नेपालखबर
फागुन २१, २०८१ बुधबार ११:४९, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालका माओवादीले जनयुद्ध बेचेर खाइसकेको टिप्पणी गरेका छन्।

यदु गौतम स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। राजतन्त्र माओवादीले रुकुम, रोल्पाबाट हुँकार गरेर, सिंहदरबार कब्जा गरेर, नारायणहिटी कब्जा गरेर, नेपाली सेनालाई पराजित गरेर नआएको उनको भनाइ थियो।

मुलुकमा जनताको बहुदलीय जनवादकै बाटोबाट क्रान्ति सम्पन्न भएको दाबी पनि उनले गरे। २०६५ जेठ १५ गते ६०१ जना सांसदमध्ये ५९६ जना प्रतिनिधिले मतदान गरेर राजतन्त्र फालिएको प्रसंग उल्लेख गर्दै उनले गणतन्त्र पनि बुलेट (गोली)बाट नभएर ब्यालेट (मतपेटिका) बाट आएको तर्क पनि उनले गरे।

शान्तिपूर्ण ढंगले मुलुकमा क्रान्ति सम्पन्न भएको कुराले माओवादीको जनयुद्ध गलत थियो भन्ने पुष्टि भएको उनको जिकिर थियो। 

उनले भने, ‘२०६५ जेठ १५ गते पहिलो संविधान सभाको पहिलो बैठक बसेको थियो। त्यो पहिलो बैठकले मुलुकमा अब राजतन्त्र चाहिँदैन भनेर निर्णय गरेको हो। राजतन्त्र माओवादीले रुकुमबाट वा रोल्पाबाट हुँकार गरेर, सिंहदरबार कब्जा गरेर, नारायणहिटी कब्जा गरेर, नेपाली सेनालाई पराजित गरेर क्रान्ति सम्पन्न भएको होइन, यो मुलुकमा। यो मुलुकमा जनताको बहुदलीय जनवादकै बाटोबाट क्रान्ति सम्पन्न भएको हो। सामन्तवाद, त्यसको नाइके राजतन्त्र, राजसंस्था हामीले बुलेटबाट होइन, ब्यालेटबाट पराजित गरेका हौँ। ६०१ जना सांसदमध्ये १ जना सभाध्यक्ष भइहाले। ५९६ जनाले राजतन्त्र चाहिँदैन, गणतन्त्र, लोकतन्त्र चाहिन्छ भनेर मत हालेर आएको हो। कमल थापाका ४ जना थिए, उनीहरूले राजतन्त्र चाहिन्छ, गणतन्त्र चाहिँदैन भने। त्यसकारण भोटबाट शान्तिपूर्ण ढंगले मुलुकमा क्रान्ति सम्पन्न भएको कुराले माओवादीको जनयुद्ध गलत थियो भन्ने कुराको पुष्टि हुन्छ।’

उनले माओवादी हिंसा भन्ने शब्दबाट डराएर किन भागिरहेको छ भन्दै प्रश्न पनि गरे।

‘जुन कम्युनिस्ट पार्टीको हातमा हतियार हुँदैन, त्यो कम्युनिष्ट पार्टी हुँदैन भन्ने माओवादी अहिले कम्युनिस्ट पार्टी हो कि होइन?’ उनले भने, ‘मओवादी केन्द्र नाम राखेको भए पनि माओवाद सही हो भनेर भन्न नसकेको छैन।’

नेपालमा माओवादीका नेताहरू शान्तिपूर्ण बाटोबाट उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री बने पनि संसारका माओवादीहरू अहिले पनि मरिरहेको उनले बताए। क्रान्तिको नाममा माओवादीले गरेको हत्या, हिंसा, बर्बरता, क्रुरता आतंकवाद भएको उनको जिकिर थियो।

नेकपा एमाले रुकुमका तत्कालीन सचिव तथा प्रतिनिधि सभाका उम्मेदवार यदु गौतम २०५५ फागुन २१ गते माओवादी कार्यकर्ताबाट मारिएका थिए।

पत्रकार तथा कानुन व्यवसायी पृष्ठभूमिका गौतमको २६ औँ स्मृति दिवसका अवसरमा पत्रकार दिलभूषण पाठकलाई पुरस्कार पनि प्रदान गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad