उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले एकात्मक केन्द्रिकृत शासन व्यवस्थाभन्दा संघीयता राम्राे हाे भन्ने बनाउन तिनै तहकाे सरकारले मिलेर काम गर्नुपर्ने बताएका छन्।
साेमबार अछामकाे पञ्चदेवल गाउँपालिकाकाे प्रशासकीय भवनकाे उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले प्रदेश र स्थानीय तहलाई प्रभावकारी बनाउन संविधानमा व्यवस्था भएअनुसार आवश्यक संघीय कानुन चाँडाेभन्दा चाँडाे बनाउनेतर्फ सरकारकाे ध्यान रहेकाे बताएका हुन्।
'आवश्यक संघीय कानुन बनाएर संविधानकाे अनुसूचीमा व्यवस्था भएकाे अधिकार तिनै तहकाे सरकारलाई दिएर जनतालाई सहज सेवा प्रवाह दिएर केन्द्रीकृत एकात्मक शासन व्यवस्थाभन्दा संघीयता राम्राे हाे भन्ने बनाउन सरकारकाे ध्यान केन्द्रीत छ,' उनले भने।
उपप्रधानमन्त्री सिंहले देशमा राजनीतिक स्थायित्वबिना आर्थिक, सामाजिक विकास नहुने भन्दै राजनीतिक स्थिरताकाे जगमा आर्थिक विकास र समृद्धिका लागि नेपाली कांग्रेस र एमालेसहितका दलहरू मिलेर गठबन्धनको सरकार बनेको बताए।
उनले प्रशासकीय भवन बनेसँगै अछाम पञ्चदेवलका नागरिकका लागि सेवा प्रवाहमा सहजता थपिने विश्वास व्यक्त गरे।
त्यस्तै, उपप्रधानमन्त्री सिंहले अछाम दरबारको पनि उद्घाटन गरे। शहरी विकास मन्त्रालय मातहतहत निर्माण भएको दरबार उद्घाटनपछि उपप्रधानमन्त्री सिंहले अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालमार्फत गृह मन्त्रालयलाई हस्तान्तरण गरे।
२०५८ फागुन ४ गते तत्कालीन विद्रोही माओवादीको आक्रमणमा जिल्लास्थित सरकारी कार्यालय रहेको अछाम दरबार ध्वस्त भएको थियो।
तीन तला रहेको उक्त दरबारको पुनर्निर्माण २ करोड ४८ लाख रुपैयाँ लागतमा भएको हो।
Shares

प्रतिक्रिया