नेपाली कांग्रेसको १५औं महाधिवेशन नियमित समयमा भए ०८२ मंसिरमा हुनुपर्ने हो। तर, क्रियाशील सदस्यता नवीकरण, नयाँ सदस्यता वितरणलगायतको कामको प्रगति हेर्दा महाधिवेशन पर धकेलिने पक्का छ। त्यसो त नेताहरूले पनि महाधिवेशन नियमित समयमा नहुने अभिव्यक्ति दिन थालिसकेका छन्।
पार्टी सभापति शेरबहादुर देउवाले त आफूनिकटका नेतालाई बोलाएर यसबारे छलफल नै गरिसकेका छन्। तर, नेताहरू १५औं महाधिवेशनको तयारीमा लागिसकेका छन्। सभापतिका सम्भावित उम्मेदवारमध्येका एक पूर्णबहादुर खड्काले पनि आफू उम्मेदवार हुने संकेत गरेका छन्।
रुपन्देहीमा सुरु हुन लागेको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नको जवाफ दिँदै खड्काले आफ्नो उम्मेदवारीबारे संकेत गरेका हुन्।
उनले वर्तमान सभापति शेरबहादुर देउवा पार्टीमा नेतविसंघको साधारण सदस्य हुँदै नेविसंघकै नेतृत्वबाट पार्टी राजनीतिमा आएको र अहिले नेतृत्वमा पुगेको उदाहरण दिँदै आफू सभापतिको उम्मेदवार हुने बताए।
'म आफैँ पनि नेविसंघको साधारण सदस्य, इकाइ सदस्य, सभापति, नेविसंघको केन्द्रीय सदस्य नेविसंघको नेतृत्व हुँदै अहिले पार्टी उपसभापति छु,' उनले भने, 'नेपाली कांग्रेस स्वच्छ प्रतिस्पर्धा भएको पार्टी हो। सम्भावना भएको पनि हो।'
उनले पार्टीको महाधिवेशन ०८२ मंसिरभित्रै हुन्छ? भन्ने प्रश्नमा पार्टीको विधानअनुसार हुने जवाफ दिए।
'हाम्रो पार्टी अधिवेशन विधानअनुसार गर्छौँ। यसलाई तानतुन जोड घटाउ गर्न जरुरी छैन,' उनले भने, 'सदस्यता नवीकरणको काम भइरहेको छ। महामन्त्री गगन थापाको नेतृत्वको समितिले संगठनात्मक काम अघि बढाइहेको छ। क्रियाशील नवीकरणको काम, नयाँ सदस्यताको काम सकिएर केन्द्रमा जतिबेला आउँछ त्यति बेला अधिवेशनका बारेमा केन्द्रीय कार्यसमितिमा छलफल गर्छौँ।'
त्यस्तै उनले सामाजिक सञ्जाललाई नियमन गर्ने विधेयक संशोधन भएर मात्र संसद्बाट पास हुने बताए।
'सामजािक सञ्जाल विधेयक संसद्मा गएको छ। राज्यले दिएका अधिकार, संविधानले दिएका अधिकारहरू रक्षा गरी, अधिकारको सम्मानपूर्वक उपयोग गर्ने वातावरण बनाउने हो,' उनले भने, 'सामाजिक सञ्जालमार्फत हुने नकारात्मक कामलाई नियमन गर्ने सन्दर्भलाई जोडेर प्रस्तुत भएको विधेयकलाई संशोधन गर्छौँ। जस्ताको त्यस्तै पारित हुँदैन। कांग्रेसको औपचारिक धारणा यही हो।'
Shares

प्रतिक्रिया