काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह बालेनले फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरेर स्टाटस लेखेको केहीबेरमै नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले फेसबुकबाटै जवाफ फर्काएका छन्।
बालेनले शुक्रबार राति आफूलाई हराउने धुनमा देशलाई नडुबाउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए। उनले लेखेका थिए,
‘प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नु भाको छ, हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिडेको मन्छे! मलाई हराउने ताकमा, देशलाई चैँ नडुबाउनु होला!’
त्यसको जवाफमा महासचिव पोखरेलले काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत किन जान मानिरहेका छैनन् भन्नेतिर ध्यान नपुगेको बताएका छन्।
उनले लेखेका छन्, ‘काठमाडौं महानगरको मेयर बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउँदै तिखो आक्रोश र असन्तुष्टि पोखेको देखिन्छ। तर किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान पुगेको देखिँदैन। कार्यकारी अधिकृत जान नमान्नुको कारण जे भए पनि सरकारले विशेष व्यवस्था गरेर भए पनि अविलम्ब कार्यकारी अधिकृत पठाउनुपर्दछ। कार्यकारी अधिकृतको अभावमा महानगरको सेवा प्रवाह र अन्य काममा समेत असर पर्न सक्दछ।’
पछिल्लो मन्त्रिपरिषद् बैठकबाट ७८ सहसचिव सरूवा गर्दा पनि काठमाडौँ महानगरपालिका खाली राखिएको छ।
गत पुस ५ मा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ टावरमा गैरकानुनी काम गरेको भन्दै कारबाही गर्न सिफारिस गरेका थिए। त्यसयता महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन छ।
Shares

प्रतिक्रिया