राजनीति


सामाजिक मर्यादा ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने कार्य नियन्त्रण गरिन्छ: केपी ओली

सामाजिक मर्यादा ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने कार्य नियन्त्रण गरिन्छ: केपी ओली

नेपालखबर
फागुन १५, २०८१ बिहिबार १२:३३, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरू ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र परिवारकै बीचमा पनि अविश्वास पैदा गर्नेजस्ता कामहरू नियन्त्रण गरिने बताएका छन्। 

महान्यायाधिवक्ताको कार्यालयद्वारा आज आयोजित डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मानवीय सुख र समृद्धिका लागि डिजिटल प्रविधिको प्रयोग हुनुपर्ने भएकाले अधिकारको प्रयोगका नाममा समाजलाई विकृत बनाउने छाडातन्त्रलाई रोक्न कानुन ल्याएको बताएका हुन्।  

सरकारले सामाजिक सञ्जाल प्रयोगको अधिकारमा तलमाथि हुने गरी कुनै कानुन नबनाउने स्पष्ट गर्दै कार्यान्वयनको १० वर्ष पुगेको अवस्थाका संविधानको समीक्षा गर्दै आवश्यक संशोधन गरिने ओलीको भनाइ छ।  

डिजिटल युगमा कुनै मुलुकको एक्लो प्रयासले अपराध नियन्त्रण प्रभावकारी नहुने भएकाले यसमा अन्तर्राष्ट्रिय सहयोग आदानप्रदान आवश्यक हुनेमा जोड दिँदै उनले डिजिटल प्रविधिकोे प्रयोग गरेर वा नगरेर अपराध हुन सक्ने र यसको अनुसन्धानका लागि विद्युतीय प्रविधि प्रयोगको सुविधाले अपराध नियन्त्रणमा अन्तर्राष्ट्रिय सहयोग आदान–प्रदान सहज हुने बताए। 

प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिले मानिसलाई सहज र सरल बनाइ सुख सुविधा दिने भएकाले यसको दुरुपयोगका कारण सभ्य समाजका लागि अपराध नियन्त्रण चुनौतीपूर्ण बनेको उल्लेख गर्दै लोकतन्त्रमा सबै मानव जातिले सुविधा पाउनुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको जनाए।

'यो शताब्दीले नयाँ नयाँ आविष्कार दिएको छ तर त्यसको दुरुपयोग पनि भएको छ। अपराधका क्षेत्रमा सङ्गठित प्रयासहरू भएका छन्,' उनले भने, 'हामीले एआई र डिजिटल प्रविधिको प्रयोग गरेर अपराध हुन नपाउने परिस्थिति निर्माण गर्नुपर्छ र अपराध भइहालेमा वस्तुनिष्ठ अनुसन्धान गरेर निष्पक्ष न्याय निरुपण गर्न सक्नुपर्छ।' 

डिजिटल प्रविधिको सदुपयोग मात्र नभएर अपराध कर्म पनि मौलाइरहेकोले यसलाई रोक्न जारी सम्मेलनले भूमिका खेल्ने उनको विश्वास छ।  

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य प्राप्ति गर्न सुशासन प्राप्ति तथा जनताको सामाजिक र आर्थिक अधिकारको प्रयोग आवश्यक पर्ने तर यी कुनै पनि अधिकारको दुरुपयोग हुन नहुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad