नेपालका लागि अन्तर्राष्ट्रिय व्यापारमा पानी जहाज अत्यावश्यक भइसकेको सांसदहरूले बताएका छन्।
सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै सांसदहरूले पानी जहाज नेपालका लागि अत्यावश्यक भइसकेको बताएका हुन्।
उनीहरूले नेपालमा केही समयअघि पानी जहाज चलाउने भन्दा ठट्टा गर्ने गरेपनि अहिले नेपालमा पनि सानासाना पानी ज्हाज चलाउन मिल्नकुरा बुझ्दै गएको बताए।
बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले नेपालमा पानी जहाज चलाउने कुरा गर्दा पानी जहाजलाई ठट्टामा उडाउने गरे पनि अहिले आएर बुझ्दै गएको बताएका हुन्।
उनले नेपालमा सानासाना पानी जहाज चलाएर जल यातायातको उपयोग गर्न सकिने उल्लेख गरे। सरकारले पानी जहाजसम्बन्धी विधेयक ल्याएकोमा धन्यवाद दिँदै प्रभावकारी रुपमा जल यातायातको सदुपयोग गर्न उनले आग्रह गरे।
‘अस्तिअस्तितिर नेपालमा पानी जहाज चलाउने कुरा गर्दा पानी जहाजलाई ठट्टामा उडाए। ठाउँठाउँ सानासाना जहाजहरू बनाएर उडाएका थिए,' उनले भने, 'त्यसमा हामी पनि हाँसिन्थ्यो। अहिले त हामी हाँस्दैनौँ। किनभने एउटै स्वर बनाएर पानी जहाज चल्ने रहेछ भनेर अघि बढेका छौँ। यो विधेयक ल्याएकोमा धन्यवाद छ। अब यो विधेयकलाई ल्याइसकेपछि हाम्रा नदीहरूभित्र साना जहाजहरू कसरी चलाउन सकिन्छ, त्यसमा लागौँ।’
समितिको बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य गोपालप्रसाद भट्टराईले पानी जहाज तथा जल यातायात भन्दा राम्रो हुने प्रस्ताव गरे।
पानी जहाजसम्बन्धी विधेयक तत्काल अघि बढाउन जरुरी रहेको उनको भनाइ छ। उनले तेल ढुवानीमा पाइप लाइन बिछ्याउने, अन्तर्राष्ट्रिय व्यापारमा पानी जहाज अत्यावश्यक भइसकेको उल्लेख गरे।
‘हामीले पानी जहाजभन्दा पनि पानी जहाज तथा जल यातायातभन्दा राम्रो हुन्छ होला। यो विधेयक तत्काल नै अघि बढाउनुपर्ने आवश्यकता छ,'उनले भने,'तेल ढुवानीमा पाइप लाइन बिछ्याउने, अन्तर्राष्ट्रिय व्यापारमा पानी जहाज अत्यावश्यक भइसकेका छन्।’
समितिको बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य झक्कुप्रसाद सुवेदीले पहिला पानी जहाज नेपालमा चलाउने भन्दा नकारात्मक बहस हुने गरेपनि अहिले सानासाना जहाजहरू चलाउन सकिने कुरा बुझ्दै गएको बताए। उनले पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक ल्याउनु सकारात्मक रहेको बताए।
‘पहिला पानी जहाज चलाउने भन्दा नेगेटिभ बहसहरू हुन्थे। तर अहिले पानी जहाज सञ्चालन तथा व्यवस्थापन भनेर विधेयक आएको छ,' उनले भने, 'विधेयक ठिक भनेर संसदमापनि पास गरिसकेका छौँ। नेपाल भूपरिवेष्ठित देश भएको हुनाले यो देशमा पानी जहाज छैन, तर पानी जहाज राख्ने अधिकार पाउँछ भन्नेकुरा धेरै पहिला थाहा थियो। पानी जहाज निर्माण र पानी जहाज सेवा सञ्चालन गर्न कानुनको आवश्यक भयो, वर्तमान सरकारले अनुभूति गरेर यो विधेयक आयो। यो विधेयक कानुनमा परिणत भइसकेपछि नेपालीले अन्तर्राष्ट्रिय जलमार्गको उपयोग गर्न पाउनेछ। पानी जहाज सेवा सुरक्षित बनाउन यो विधेयक आएको छ।’
बैठकमा राष्ट्रिय सभा सदस्य डा. वेदुराम भुसालले तत्काल पानी जहाज सञ्चालन गरिहाल्नेभन्दा पनि कानुनी आधार तयार पार्नुपर्नेमा जोड दिए। उनले यसका लागि छुट्टै निकाय आवश्यक भए कानुनमा राख्न जरुरी हुने बताए।
‘तत्काल पानी जहाज सञ्चालन गरिहाल्ने भन्दा पनि अहिले कानुनी आधार तयार गरौँ। त्यसका लागि कुनै निकायहरू चाहिन्छ की त्यो पनि सोचौँ’ उनले भने।
सांसदहरूले कानुन निर्माण गर्दा भाषालाई बचाउनुपर्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन्। सांसदहरूले आन्तरिक जलमार्गबाट पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गरेका छन्।
Shares

प्रतिक्रिया