राजनीति


विदुरलाई आफैँ मेट्रोन रहेको अस्पताल लगेकी थिइन् भारतीले, तर सकिनन् बचाउन

विदुरलाई आफैँ मेट्रोन रहेको अस्पताल लगेकी थिइन् भारतीले, तर सकिनन् बचाउन

सागर न्यौपाने
फागुन ८, २०८१ बिहिबार १६:५६, काठमाडौँ

उमेरले ५९ वर्षका भए पनि उनी जोसिला र फुर्तिला थिए। पातलो ज्यान, संगठन बनाउन जुनसुकै बेला पनि खटिरहने। काभ्रेमा नेकपा एमाले र पछिल्लोपल्ट एकीकृत समाजवादीको संगठन बलियो बनाउनेमध्ये नेतामा पर्थे विदुर सापकोटा।

युवा हुन् कि बालक, चाहे वृद्ध नै किन नहुन्, सापकोटाको कुरा मिल्थ्यो।

सकारात्मक सोच राख र युवालाई आवेग नियन्त्रण गर्न उनी प्रायशः सुझाव दिइरहन्थे। बिहान उठेदेखि समाज विकासका लागि होमिने यी कम्युनिस्ट नेताको अल्पायुमै बिहीबार बिहान निधन भएको छ। 

उनी ‘मल्टिपल अर्ग्यान फेलियर’ (एकसाथ धेरै अंगले काम गर्न छाड्ने समस्या) भएपछि उनलाई बचाउन नसकिएको परिवारको भनाइ छ।

सापकोटा लामो समयदेखि मधुमेह र मिर्गौलाको समस्यासँग जुधिरहेका थिए। पछिल्लोपल्ट भने उनलाई ज्वरो देखिएको थियो।

‘सुरूमा ज्वरोलाई सामान्य समस्या ठानेर अस्पताल जानुभएनछ,’ नेकपा एकीकृत समाजवादीकी सचिव गरिमा शाहले भनिन्, ‘गाह्रो भएपछि मंगलबार मात्र अस्पताल जान मान्नुभएछ।’

सापकोटाकी श्रीमती भारती भेटवाल काठमाडौँको चावहिलस्थित हेल्पिङ हेन्ड्स् अस्पतालकी मेट्रोन (प्रमुख परिचारिका) हुन्। उपचारमा उनी खटेकी थिइन्। 

आफूसहितको संलग्नतामा श्रीमान्‌को उपचार अघि बढाइन्। तर, उनको केही जोर चलेन।

पहिलेदेखि नै मधुमेहका बिरामी सापकोटामा कलेजोको समस्या पनि थपिएको थियो। स्वास्थ्य अवस्थामा कुनै सुधार नभएपछि उनलाई आईसीयूमा पनि राखियो। 

बिहीबार बिहान ३ बजेतिर सापकोटाको निधन भएको एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए।

‘उहाँमा सुगर रोग पहिलेदेखि रहेछ। त्यसले विस्तारै अरू समस्या पनि पारेजस्तो छ,’ खतिवडाले नेपालखबरसँग भने, ‘राजनीतिक कार्यक्रम पनि गरिहनुभएको थियो। तर, अस्ति एक्कासि थप गाह्रो भएपछि अस्पतालमा ल्याइयो। उपचारकै क्रममा उहाँको निधन भएको सूचना पायौँ।’

तत्कालीन पञ्चायती शासनविरुद्धको संघर्ष, मालेकालमा भूमिगत, विद्यार्थी राजनीति मार्फत २०४६ सालको प्रथम जनआन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेका उनी लामो समय काभ्रे एमालेको सचिवको जिम्मेवारीमा रहे। सचिव प्रमुख हुने तत्कालीन संरचनामा एमालेको १५ वर्षसम्म काभ्रे जिल्ला सचिव भएर काम गरे।

एमाले विभाजन भएपछि उनी माधवकुमार नेपालको नेतृत्वमा गठित नेकपा एकीकृत समाजवादीमा लागे। त्यसयता सोही पार्टीका पोलिटब्युरो सदस्य रहेका सापकोटाको निधनसँगै एउटा होनहार संगठक गुमाएको उपाध्यक्ष खतिवडा बताउँछन्।

‘जनता र समाजप्रति निष्ठावान् नेता बनाउन समय लाग्छ,’ उनले थपे, ‘अहिले हाम्रो पार्टीले ठूलो क्षति व्यहोरेको छ।’

काभ्रेको मण्डनदेउपुर-७ स्थायी घर भएका सापकोटाले कानुनमा स्नातक गरेका थिए। पछिल्लो समय काठमाडौंको त्रिचन्द्र क्याम्पसमा समाजशास्त्रमा एमए पनि पढे।

उनका छिमेकीसमेत रहेका एकीकृत समाजवादीका नेता लक्ष्मण लम्सालका अनुसार, सापकोटा अधिवक्ता पनि थिए। 

‘समकालीन वामपन्थी तप्कामा इमान्दार नेता हो उहाँ,’ लम्सालले भने, ‘बाचुन्जेल विवादित क्रियाकलापमा कतै मुछिनुभएन। राष्ट्रिय राजनीति भन्दा पनि जिल्लामै केन्द्रित रहनुभयो। काभ्रेमा थोरै सम्मानपूर्वक नाम लिने नेतामा पर्नुहुन्थ्यो।’

‘भाषण गर्ने शैली र वैचारिक क्षमताको कसैसँग तुलनै हुँदैन थियो, उहाँको भाषण सुन्न काभ्रे आसपासका मान्छेहरू आउथे,’ लम्सालले विगत स्मरण गर्दै भने।

२०५६ को संसदीय चुनाव र २०६४ को पहिलो संविधान सभा चुनावमा उठे पनि उनी पराजित हुन पुगे। तर, ०७० मा जिते। २०७४ को आम चुनावमा टिकट नै पाएनन्। २०७९ को चुनावमा उठ्न खोजे पनि दिइएन।

‘उहाँ संगठक र गजब क्षमता भएको नेता हो भन्ने बलियो प्रमाण नै तीन कार्यकाल पार्टी प्रमुख हुने सचिव हुनु हो,’ लम्साल भन्छन्, ' शालीन, भद्र, इमानदार र असल मान्छे भएर नै काभ्रेमा लोकप्रिय नेता हुनुभयो।’ 

एकपटक बाहेक कुनै पनि राजकीय पद नलिएका सापकोटा कार्यकर्ता र नेतासँग घुलमिल गरिरहेकै बेला अस्ताएका छन् ।

हुन त मृत्यु संस्कारमा पुग्ने नेपालीको संस्कार नै हो । तर, विदुर सापकोटा यस्ता थोरै नेतामा परे कि देशभरका ४ सय बढी केन्द्रीय सदस्य उनलाई श्रद्धाञ्जली दिन पुगे। 

एकीकृत समाजवादीको बिहीबार सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी हुन आएका सबै नेता सापकोटालाई श्रद्धाञ्जली दिन पार्टी केन्द्रीय कार्यालय आलोकनर पुगेका थिए। 

समाजवादीले सापकोटाको शोकमा केन्द्रीय समिति बैठक स्थगित गरेको जनाएको छ।

सन्तानमा सापकोटाकी एक छोरी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad