राजनीति


फेरि जिल्ला दौडाहामा निस्किँदै पूर्वराष्ट्रपति भण्डारी, पश्चिमका ३ प्रदेश पुग्ने

फेरि जिल्ला दौडाहामा निस्किँदै पूर्वराष्ट्रपति भण्डारी, पश्चिमका ३ प्रदेश पुग्ने

सागर न्यौपाने
फागुन ७, २०८१ बुधबार २१:६, काठमाडौँ

केही समययता पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दलका नेताहरूलाई पनि उछिन्नेगरी जिल्ला भ्रमण गरिरहेकी छन्।

पुस २ गते गण्डकी प्रदेशका स्याङ्जा र कास्कीबाट राजनीतिक सन्देश दिनेगरी भ्रमण थालेकी भण्डारीले माघ १४ गते कोसी प्रदेशका विभिन्न जिल्लामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न भ्याइन्। उनले सम्बोधनमा देश र विकासको अवस्थाप्रति चिन्ता जनाएकी थिइन्। 
 
गण्डकी र कोसीमा दुईहप्ता बसेर फर्केकी उनी अब छिट्टै फेरि थप केही प्रदेशको भ्रमणमा निस्कने भएकी छन्। उनी निकट नेताहरूका अनुसार लुम्बिनी, सुदूरपश्चिम र कर्णाली भ्रमणको तयारी छ। 

सम्भवतः फागुनको तेस्रो हप्तापछि प्रदेश यात्रा थालिने निकट एक नेताले जानकारी दिए। त्यसका लागि चाँजोपाँजो मिलाउन केही नेता खटिइसकेका छन्। 

नेकपा एमालेको राजनीतिमा फर्कन माहौल बनाइरहेकी भण्डारीले तीनैवटा प्रदेशमा राजनीतिक दलका नेतासँग समेत भेट्ने छिन्। उनले गण्डकी र कोसीमा पनि नेताहरूसँग भेटघाट गरेकी थिइन। तर, ती दुई प्रदेशमा बढी भाषण र सम्बोधनमा केन्द्रित भएकी उनले अबका भ्रमणमा आम नागरिकसँग भेटेर उनीहरूको मत बुझ्ने नेताहरू बताउँछन्।

‘सो क्षेत्रमा रहेका स्थानीय तहका प्रमुख, उपप्रमुख लगायत जनप्रतिनिधिसँग भेटघाट गर्ने त भइहाल्यो,’ कार्यक्रम तयारीमा लागेका ती नेताले नेपालखबरसँग भने, ‘तर यता आम नागरिकसँग पनि अन्तक्र्रिया गर्ने भन्नुभएको छ। नागरिकको के छ त माग? त्यहाँको आर्थिक सामाजिक, शैक्षिक अवस्था कस्तो छ? त्यहाँ भोग्नुपरेका समस्या समाधानमा भइरहेका पहलबारे मानिसहरू के भन्छन्? एककिसिमको जनमत बुझ्नुपर्छ भन्नुभएको छ।’

एमालेमै फर्केर सक्रिय राजनीति गर्नकै लागि भण्डारीले देश दौडाहा बढाएको ती नेता दाबी गर्छन्। यद्यपि, उनले एमालेको राजनीतिमा औपचारिक रूपमा कहिलेदेखि फर्किने भन्ने साइत जुराइसकेकी छैनन्।

ती नेताले थपे, ‘तीन प्रदेशमा उहाँ झण्डै एक महिनाजति रहनुहुनेछ। पहिला लुम्बिनी त्यसपछि सुदूरपश्चिम र कर्णालीमध्ये कहाँ पहिले गर्ने मिलाउँदै छौँ तर, उता जाने निश्चित भइसक्यो।’ 

पछिल्ला दिन युवाहरू पुराना राजनीतिक दलप्रति रुष्ट भइरहेको बेला त्यसको कारण पहिल्याउने चाहना भण्डारीमा रहेको ती नेता दाबी गर्छन्।

‘यसपटक आफ्ना कुरा राख्ने भन्दा पनि सोही क्षेत्रका मानिसका कुरा सुन्ने भन्नुभएको छ। यसैगरी कार्यक्रम सेड्युल बन्छ,’ ती नेताले भने, ‘सार्वजनिक, व्यक्तिगत भेटघाट, विभिन्न दलका व्यक्ति सामाजिक संघसंस्थाका व्यक्तिहरूसँग पनि छलफल र अन्तर्क्रिया हुनेभयो। देशको लागि चिन्ता गर्ने आवश्यक ठान्ने हरेक व्यक्तिसँग यसपटक खुलेर कुरा गर्ने भन्नुभएको छ।’

स्वागतमा एमालेका नेता 
पुस २ देखि ५ गतेसम्म गण्डकीमा बस्दा भण्डारीलाई एमालेकै नेताले स्वागत गरे। उनले त्यहाँका स्थानीय तहका प्रभावशाली जनप्रतिनिधिसँग भेटघाटको व्यवस्था गर्न पनि एमालेकै नेताले सहयोग गरे। 

पुस २ मा पोखरा झरेकी उनलाई लिन एमालेका केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज कृष्ण थापा विमानस्थलमै पुगे।

यस्तै, गण्डकीका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर केसी, प्रदेश सांसदहरू देवका पहारी, राजकुमारी भुजेल, पोखराकी उपमेयर मञ्जुदेवी गुरुङलगायत नेताले पनि भण्डारीलाई स्वागत गरे। 

उनले पनि खुलेरै एमालेको बिग्रँदो संगठनप्रति चिन्ता जनाइन्। 

एमालेमा उपाध्यक्ष रहेकै बेला २०७२ साल कात्तिकमा राष्ट्रपति बनेकी भण्डारी ७ वर्ष शीतल निवासमै रहिन्। जसले गर्दा एमालेका नेता/कार्यकर्तासँग उनको दूरी बढ्यो। 

राष्ट्रपतिको कार्यकाल सकिएपछि उनी फेरि विस्तारै एमालेमै फर्कने जमर्काे गर्न नेता/कार्यकर्ताको मनस्थिति अध्ययन गर्दै हिँडेकी छन्। 

उनी माघ १४ देखि २१ सम्म कोसीका विभिन्न जिल्ला घुमिन्। आफू माले र त्यसपछि बनेको एमालेमा लामो समय राजनीति गरेको भन्दै उनले केही समय राष्ट्रपति बने पनि सो पद गैरराजनीतिक नभएको बताएकी थिइन। 

अब फागुन अन्तिमदेखि हुने उनको तीन प्रदेश भ्रमणमा पनि एमालेकै नेताले साथ दिने नेताहरू बताउँछन्। 

त्यसो त भण्डारी राजनीतिमा सक्रिय भएकोमा एमालेका केही नेता खुसी छैनन्। उनीहरू राष्ट्रप्रमुख भइसकेको व्यक्ति फेरि राजनीतिमा आउनु राम्रो नहुने बताउँछन्। 

तर, भण्डारीलाई एमालेमै सक्रिय बनाउन केही नेता जोड दिएर लागेकै छन्। 

‘भण्डारीलाई रोक्न एमालेका केही नेता र उनीहरूको एउटा समूह त लागेकै छ, सके आफैँ हुने नभए रोक्नपर्छ भन्ने छ,’ भण्डारीलाई सक्रिय बनाउन लागेका एमालेका एक स्थायी कमिटी सदस्यले भने, ‘तर, अब उहाँलाई रोक्न सम्भव छैन। एमालेमा आफैँ माहौल बन्दै गएको छ।’ 

प्रधानमन्त्रीको परामर्शमै प्रदेश दौडाहा!
भण्डारी राजनीतिमा फर्कने तयारी प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई खासै मन नपरेको केही नेता बताउँछन्। त्यही भएर ओलीको भित्री समूहले उनलाई रोक्न खोजेको भण्डारीको पक्षमा लागेकाको आरोप छ। 

तर, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा भने प्रधानमन्त्रीसँगको सल्लाहमै भण्डारीको प्रदेश कार्यक्रम तय भएको हुनसक्ने बताउँछन्। गण्डकी र कोसीको कार्यक्रम पनि प्रधानमन्त्रीले अनुमति दिएरै गएको उनको भनाइ छ।

‘सल्लाहमै हिँड्नुभएको होला, आफू एक्लै कसरी हिँड्नु? सल्लाहबाटै हो,’ उनले भने। 

पुस १८ गते प्रधानमन्त्री ओलीले भण्डारीसँग उनकै निवास पुगेर २ घण्टा छलफल गरेका थिए। 

गण्डकीका केही जिल्लामा राजनीतिक कार्यक्रममा सहभागी भएर फर्केको केही समयपछि ओलीले भण्डारीसँग भेट गर्नु अनि त्यसलगत्तै कोशी प्रदेशको कार्यक्रम बन्नु संयोग मात्र नभएको नेताहरू बताउँछन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad