राजनीति


प्रधानमन्त्री ओली किन गएनन् अख्तियारको वार्षिकोत्सवमा?

प्रधानमन्त्री ओली किन गएनन् अख्तियारको वार्षिकोत्सवमा?

नेपालखबर
माघ २८, २०८१ सोमबार १६:१९, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले सोमबार बिहान ८:४५ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थापनाको ३४ औँ दिवसमा सहभागी हुन जाने तालिका आइतबार राति तय गरेको थियो।

महत्त्वपूर्ण र सार्वजनिक चासोका कार्यक्रमबारे जानकारी दिने क्रममा सचिवालयले उक्त तालिका सञ्चारकर्मीको समूहमा पनि सम्प्रेषण गरेको थियो।

त्यसपछि संशोधित तालिका आएन।

उता अख्तियार भने प्रधानमन्त्रीको उपस्थिति हुने कुरामा ढुक्क थियो। नेपाल प्रहरीको अडिटोरियम हल, नक्सालमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलदेखि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल लगायत विशिष्ट पदाधिकारी पुगे। तर, प्रधानमन्त्री ओली पुगेनन्।

अख्तियारको वार्षिकोत्सव समारोह

बालुवाटारबाट नक्सालको दूरी टाढा पनि थिएन। तर, अख्तियारका एक अधिकारीले बताए अनुसार प्रधानमन्त्री ओलीका तर्फबाट अन्तिम समयमा मात्र आउन नसक्ने सन्देश पठाइयो। 

‘सम्माननीय ज्यूलाई सन्चो भएन भन्ने खबर आयो,’ ती अधिकारीले नेपालखबरसँग भने, ‘उहाँको नाम एनाउन्समेन्ट भएको थियो, तर उपस्थित हुन नसक्ने भन्दै स्थापना दिवसको शुभकामना सन्देश पठाउनुभएको थियो।’

रातभर भेटघाटमा व्यस्त रहेका प्रधानमन्त्री ओली सोमबार बिहान ४ बजेपछि मात्र आराम गर्नु पुगेका थिए। त्यसैले बिहानलाई निर्धारित सबै कार्यक्रम स्थगित गरेको उनको सचिवालयका एक सदस्य बताउँछन्।

‘उहाँ बिहान ४ बजे मात्र सुत्नुभयो,’ ती सदस्यले नेपालखबरसँग भने, ‘स्वास्थ्य अवस्था ख्याल गरेर सबै कार्यक्रम स्थगित गरिएको हो।’

राष्ट्रपति प्रमुख अतिथिका रूपमा उपस्थित हुने कार्यक्रममा प्रधानमन्त्रीले अन्तिम समयमा आफ्नो पूर्वनिर्धारित तालिका रद्द गरेको देखिन्छ।

सामान्यतः अख्तियारको कार्यक्रममा देशका कार्यकारी प्रमुखको उपस्थितिलाई भ्रष्टाचार नियन्त्रणमा उनको प्रतिबद्धतासँग पनि जोडेर हेरिन्छ।

यसअघि सरकारले पठाएका ५ वटा अध्यादेशमध्ये राष्ट्रपतिले भूमिसम्बन्धी अध्यादेश केही दिन रोकेका थिए।

यस्तै अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईसहित ५२ जना संवैधानिक पदाधिकारीको नियुक्तिसम्बन्धी विवादको सुनुवाइका लागि पर्सि बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेसी तोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad