नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै मधेसवादी राजनीतिक दलहरूको कार्यदलसँग पहल गरिदिन आग्रह गरेको छ।
सोमबार सिंहदरबारमा मधेसवादी ८ राजनीतिक दलहरूको बैठकमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले थरुहट आन्दोलनको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गरिदिन कार्यदलसमक्ष आग्रह गरेको बताए।
उनकाअनुसार बैठकमा नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनाका बारेमा विभिन्न कुराहरु राखेको जानकारी दिए। मधेसवादी ८ राजनीतिक दलहरू मिलेको मोर्चाको नामका बारेमा पनि बैठकमा छलफल भएको बताए।
समान मुद्दा बोकेका राजनीतिक दलहरूको बैठक र एक आपसमा छलफल हुनु स्वभाविक भएको बताए। मोर्चाले विशेषतः समान मुद्दालाई संसद र सरकारसमक्ष कसरी उठाउने भन्ने बारेमा पनि छलफल गरेको बताए।
विगतमा भइ आएका घटनालाई अहिलेको राज्यले हेर्ने दृष्टिकोण र अहिलेसम्म पनि किनारा नलागेका विषयहरुमा छलफल भएको बताए।
उनले भने, ‘आठ दलको कार्यदलभित्र नागरिक उन्मुक्तिले हिजो टीकापुर घटना भइरहँदा टीकापुर घटनामा झुटा मुद्दा लगाइएका अहिले पनि ५८ जनामाथि झुटा मुद्दा लगाइएको थियो, २८ जना जेलमा बस्यौँ हामी। ३० जना फरारको सूचिमा हुनुहुन्छ। ३ सय जनाको नाम र ठेगाना मिलेन भनेर अझै पनि त्यो मुद्दाको तामेलीमा छ। जुनसुकै बेला नाम ठेगाना प्रमाणित भए तिनीहरूमाथि पनि मुद्दा लाग्नसक्छ। त्यो थरुहट आन्दोलनको लाल आयोगको प्रतिवेदन किन सार्वजनिक गरिएन, त्यो पनि उठाइदिनुस्, राख्दिनुस्। राख्नुहुन्छ की राख्नुहुन्न। मोर्चाको नामका विषयमा पनि कुराकानी भयो।’
उनले सरकारले ल्याएको समाजिक सञ्जाल सम्बन्धी अध्यादेश समग्रमा राम्रो रहेको बताए। भूमि सम्बन्धी अध्यादेशप्रति भने पार्टीको असन्तुष्टि रहेको बताए।
Shares

प्रतिक्रिया