ad ad

राजनीति


नेपाल छिर्नेको भिड थामिनसक्नु भयो, गड्डाचौकी नाका बन्द गराइदेऊ सरकार: भीमदत्त नगरपालिका

नेपाल छिर्नेको भिड थामिनसक्नु भयो, गड्डाचौकी नाका बन्द गराइदेऊ सरकार: भीमदत्त नगरपालिका

नेपालखबर
चैत ९, २०७६ आइतबार ६:३८,

कोरोना संक्रमण जोखिमका बेला भारतबाट नेपाल छिर्नेकाे भिड थामिनसक्नु भएको भन्दै कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालयले पश्चिमी सीमा नाका गड्डाचौकी बन्द गर्न संघीय सरकारसँग माग गरेको छ।

नगर कार्यपालिकाको आइतबार बसेको आकस्मिक बैठकले केही दिनयता गड्डाचौकी नाकाबाट फर्किनेको संख्या अत्यधिक बढेकाले कोरोना संक्रमणको जोखिम बढेको भन्दै नाका बन्द गराउन संघीय सरकारसँग माग गरेको हो।

नगर कार्यपालिकाका प्रवक्ता हिमालबहादुर चन्दले कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले कार्यपालिकाको आकस्मिक बैठक बसेर नाका बन्द गर्न संघीय सरकारलाई अनुरोध गरिएको जानकारी दिए।

‘नाकामा आउनेका भिड थामिनसक्नु छ। यस्तो अवस्थामा जोखिमको धेरै सम्भावना छ,’ नगर प्रवक्ता चन्दले भने, ‘त्यसकारण कार्यपालिका बैठकले नाका बन्दका लागि संघ सरकारसित अनुरोध गर्ने निर्णय गरेको हो।’ 

यसैगरी बैठकले कोरोना रोकथामका लागि स्वयंसेवक परिचालन, कोरोनाविरुद्ध खटिएका स्वास्थ्यकर्मीलाई सहुलियत दिने, ५० शैय्याको प्रीफ्याब आइसोलेसन कक्ष स्थापनाका लागि प्रदेश सरकारलाई अनुरोध गर्नेलगायत निर्णय गरेको छ।

नगरप्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा बसेको बैठकमा कोरोना रोकथामका लागि हालसम्म गरिएका प्रयास, समस्या र चुनौती सम्बन्धमा समेत छलफल गरिएको छ।

नगरप्रमुख विष्टले कोरोना संक्रमणको जोखिम रोकथाम र पूर्वतयारीका लागि नगरपालिकाका सबै जनप्रतिनिधि र कर्मचारी एक भएर लाग्नुपर्नेमा जोड दिए।

कार्यपालिका बैठकले भीमदत्त नगरपालिकाअन्तर्गत अत्यावश्यकबाहेक सबै सेवा कार्यालय बन्द गर्ने निर्णयसमेत गरेको छ।

नगरपालिका कार्यालयले कोरोना संक्रमणबाट जोगिन सुरक्षाका उपाय अपनाउन र अत्यावश्यक अवस्थाबाहेक अरू समय घरबाहिर ननिस्कन सबै नगरवासीलाई आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयले शनिबारदेखि गड्डाचौकीबाहेक सबै नाकामा आवागमन बन्द गर्ने निर्णय गरेको हो।

नगरपालिकाले कोरोना संक्रमण रोकथामका लागि गड्डाचौकी नाकामा सहायता कक्ष ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ।

यसैगरी कोरोना बिरामीका लागि आइसिएचको सय शैय्याको भवनलाई क्वारिन्टिइन बनाउने तयारी गरिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .