राजनीति


रास्वपाका सांसदले पाएनन् आकस्मिक समय, सभामुखले पेलेरै चलाए संसद् बैठक

रास्वपाका सांसदले पाएनन् आकस्मिक समय, सभामुखले पेलेरै चलाए संसद् बैठक

नेपालखबर
माघ १८, २०८१ शुक्रबार १३:३७, काठमाडौँ

प्रतिनिधिसभाको हिउँदे अधिवेशन आजदेखि सुरु भएको छ। सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढ्न लाग्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले उठेर आकस्मिक समय माग गरे। तर सभामुख घिमिरेले बैठक सञ्चालन गर्न सहयोग गर्न आसनग्रहणका लागि आग्रह गरे। रास्वपाका सांसदले आकस्मिक समयमा बोल्नुपर्ने कुरा रहेको भन्दै समय माग गरिरहे। 

जवाफमा सभामुखले भने, 'आज दलीय आधारमा बोल्न र कुरा राख्न समय निर्धारण गरिएको छ। त्यहीँ बोल्न समय मिल्छ। अहिलेलाई बैठक सञ्चालनका लागि सहयोग गर्नुस्।'

'एउटै कुरा फेरि कतिपल्ट राख्नु आज पहिलो बैठकमा आकस्मिक समय नराख्ने निर्देशन गरेको छु,' उनले भने, 'यस्तो अवस्थामा सभामुखको निर्देशन पालना गरेर अघि जानुपर्ने हुन्छ।' रास्वपाका सांसदहरू उठिरहेपछि सभामुख घिमिरेले पेलेरै सभा सञ्चालन गरे। 'माननीय सदस्यहरू सभा सभामुखको आदेश र निर्देशनअनुसार नै चल्ने हो' उनले भने। यसबीचमा सभामुखले विभिन्न नियमावली पनि पढेर सुनाए। 

रास्वपाले आकस्मिक समयमा पार्टी सभापतिसमेत रहेका निलम्बित सांसद रवि लामिछानेको पद फुकुवा हुनुपर्नेलगायतका विषय उठाउने तयारी गरेको थियो। यसबारे रास्वपाको तर्फबाट सांसद सोविता गौतमले बोल्ने निर्णय पनि यसअघि नै रास्वपाले गरिसकेको थियो। 

सभामुखले रास्वपाका सांसदलाई आकस्मिक समयमा बोल्न नदिने बताइरहँदा नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरूले भने ताली बजाइरहेका थिए।  सभामुखले कार्यव्यवस्था समितिको बैठकमा पनि यसबारे जानकारी नगराएको भन्दै आपत्ति पनि जनाए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad