नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति भइसकेको व्यक्तिले दलीय राजनीतिमा सक्रिय हुने कुरा उचित नभएको बताएका छन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) मा फर्किन लागेको चर्चाबीच उनले यस्तो टिप्पणी गरेका हुन्।
बुधबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले मुलुककै अभिभावक भइकसकेको मान्छे पार्टीको प्रत्यक्ष कार्यकारी भूमिकामा फर्किने कुरा उचित नहुने बताए।
उनले राष्ट्रपति वा उपराष्ट्रपति संस्था गणतन्त्रको प्रतिकको रुपमा नवोदित संस्थाहरु भएको उल्लेख गर्दै ती संस्थाहरुलाई सुदृढीकरण गर्दै थप मर्यादित बनाउनुपर्नेमा जोड दिए। उनले पूर्वराष्ट्रपति भण्डारी अध्यक्ष पदमा लड्ने गरी एमालेमा सक्रिय हुन लागेको भाष्य निर्माण गरिएको उल्लेख गर्दै त्यसमा कुनै सत्यता नरहेको बताए।
‘राष्ट्रपति वा उपराष्ट्रपति संस्था गणतन्त्रको प्रतिकको रुपमा नवोदित संस्थाहरु हो,’ ज्ञवालीले भने, ‘त्यो संस्थालाई सुदृढिकरण गर्नु र त्यसलाई थप मर्यादित बनाउनु हामी सबैको कर्तव्य हो। यस मामलामा सम्माननीय पूर्वराष्ट्रपति र उपराष्ट्रपतिज्यूहरू सचेत नै हुनुहुन्छ भन्ने म ठान्दछु। सामान्यतः संवैधानिक राष्ट्रअध्यक्षहरु मुलुककै अभिभावक हो। त्यसअर्थमा नेकपा एमालेको अभिभावकको रुपमा पूर्वराष्ट्रपति हुनुहन्छ नै। तर मुलुककै अभिभावक भइकसकेको मान्छे पार्टीको प्रत्यक्ष कार्यकारी भूमिकामा फर्किने कुरा चाहीँ उचित हो जस्तो म ठान्दिनँ। सामान्य अवस्थामा पनि त्यो उचित हो भन्ने म ठान्दिनँ।’
Shares

प्रतिक्रिया