राजनीति


सरकारले हतारमा अध्यादेश ल्याउन जरुरी थिएन : शेखर कोइराला

सरकारले हतारमा अध्यादेश ल्याउन जरुरी थिएन : शेखर कोइराला

नेपालखबर
माघ १४, २०८१ सोमबार १७:५९, विराटनगर

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले संसदलाई पर सारेर अध्यादेश ल्याएकोमा आपत्ति जनाएका छन्।

नोना कोइराला स्मृति प्रतिष्ठानले सोमबार विराटनगरमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले संसद् बस्ने समय नजिकिँदै गर्दा हतारमा अध्यादेश ल्याउँदा आमजनतामा आशङ्का देखिएको टिप्पणी गरे।

‘हतार हतार अध्यादेश ल्याउनुपर्ने कुनै जरुरी थिएन, अध्यादेशमा केही खोट छ कि, सरकारको केही स्वार्थ छ कि भन्ने आमजनतामा परेको छ,’ उनले भने, ‘संसदमै पेस गर्दा पनि कांग्रेस र एमाले मिल्दा झन्डै दुई तिहाइको सङ्ख्या छ। सजिलै पास हुन्थ्यो। संसद् छलेर सरकारले जुन अध्यादेश ल्याएको छ त्यो ठिक भएन।’

कोइरालाले राजनीति देश र जनताका लागि हुनुपर्नेमा पैसाका हुन थालेको टिप्पणी पनि गरे।

उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राजनीति गर्नुपर्नेमा अहिलेको राजनीति सत्ता, पैसाको पछि हिँडिरहेको उल्लेख गरे। तीनै तहको सरकारमा बसेको अधिकांश व्यक्तिहरू व्यक्तिगत स्वार्थमा केन्द्रित भएको उनको आरोप छ।

‘अहिले राजनीतिलाई व्यावसायिकीकरण गरिँदै छ। राजनीति भनेको पेसा, व्यवसाय होइन सेवा हो,’ उनले थपे, ‘पैसै कमाउने हो अन्य थुप्रै विकल्पहरू छन्। तर राजनीति गर्नु भनेको समाजसेवा गर्नु हो।’ जनप्रतिनिधिहरू लोभ र लालचमा फस्न नहुनेमा उनको जोड थियो।

नोना कोइरालाको १८ औँ स्मृति दिवसको अवसर आयोजित कार्यक्रममा कोइरालाले नोना कोइरालाले आफूलाई नैतिकता र इमान्दारिताको पाठ सिकाएको बताए। इमान्दारिता र नैतिकता नभए राजनीति गर्ने व्यक्ति कहिल्यै पनि अगाडि बढ्न नसक्ने उनको भनाइ थियो।  

कार्यक्रममा यस वर्षको नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिएको थियो। नेता डा. कोइराला र प्रतिष्ठानकी अध्यक्ष पुनम कोइरालालगायतले पत्रकार नेपाललाई दोसल्ला ओढाएर नगद २५ हजारसहित सम्मान पत्र प्रदान गरेका थिए। प्रतिष्ठानले हरेक वर्ष स्मृति दिवसको अवसर पारेर सो पुरस्कार प्रदान गर्दै आएको छ।

कार्यक्रममा बोल्ने वक्ताहरूले नोना कोइराला त्याग र समर्पणको प्रतीक भएको बताएका थिए। कार्यक्रममा कांग्रेस नेता वसन्त भट्टराईले नोना कोइरालाले पार्टीमा अभिभावकको भूमिका निर्वाह गरेको बताए। उनले मन्त्री पदसमेत अस्वीकार गरेर त्यागको राजनीति गरेको स्मरण गरे।

कोसी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले  नोनाले  विपन्न र शहीदका छोराछोरीलाई धेरैलाई डाक्टर, इन्जिनियर बनाएको भन्दै चर्चा गरे। जनतालाई अधिकार दिलाउन कठोर र पार्टी र प्रजातन्त्रका लागि लडेकाहरूका लागि आमा बनेर प्रस्तुत हुने गरेको उनको भनाइ थियो।

विराटनगर महानगरका मेयर नागेश कोइरालाले नोना कोइरालासित राजनैतिक, धार्मिक, सामाजिक व्यक्तित्वलगायतका विभिन्न विषय जोडिएको बताए। कोइराला परिवारलाई एक ढिक्का बनाएर राजनीतिमा अगाडि बढाउन नोनाको योगदान महत्त्वपूर्ण रहेको मेयर कोइरालाको भनाइ थियो।

प्रतिष्ठानकी अध्यक्ष पुनम कोइरालाले विराटनगरको आदर्श बालिका विद्यालयलगायत शैक्षिक संस्थाहरूको स्थापना र विकासमा नोना आमाको महत्त्वपूर्ण भूमिका रहेको चर्चा गरिन्। उनले नोना कोइरालाले महिलाहरू आत्मनिर्भर र स्वाभिमानपूर्वक बाँच्नुपर्छ भन्ने गरेको बताइन्।

पुरस्कृत पत्रकार नेपालले सञ्चार क्षेत्रले जहिल्यै पनि विपक्षीको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। सो अवसरमा प्रतिष्ठानका उपाध्यक्ष ज्योति आचार्य, महासचिव अमित श्रीवास्तव, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक प्राडा सञ्जीवकुमार शर्मालगायतले नोना कोइरालाको योगदानको चर्चा गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad