राजनीति


हिजो एमालेबाट आएकोले जाँदा पनि त्यहीँ नै हुन्छ : पूर्वराष्ट्रपति भण्डारी

हिजो एमालेबाट आएकोले जाँदा पनि त्यहीँ नै हुन्छ : पूर्वराष्ट्रपति भण्डारी

नेपालखबर
माघ १४, २०८१ सोमबार १६:३९, विराटनगर

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीति भन्दा कोही टाढा नहुने भएकोले ढिलो चाँडो एमालेमै फर्किने बताएकी छन्। उनले हिजो पनि एमालेमा नै जन्मिएको, हुकेको, बढेर यहाँसम्म ल्याएकोले फेरि पनि त्यहीँ फर्किने बताएकी हुन्। उनले अहिले नै पार्टी राजनीतिमा सक्रिय भई हाल्ने बेला नभएकोले त्यो बेला आएपछि भन्ने बताइन्।

विराटनगरमा पत्रकारहरूसँग छलफल गर्दै उनले अहिलेको अवस्थामा देशमा शान्ति, स्थायित्व र दिगो विकासको लागि आफू सक्रिय रूपमा शिक्षा, युवा, महिला र रोजगारीको विषयमा सक्रिय रूपमा आफ्नो उपस्थिति देखाएको पनि बताइन्।

‘नेपालको हितको लागि के के गर्नु पर्छ, त्यसको राष्ट्रिय एजेन्डाहरूमा मेरो चासो हुने नै भयो,’ उनले भनिन्, ‘शिक्षाको कुरा गरिरहेको छु, मैले स्वास्थ्यको कुरा गरिरहेको छु, मैले जलवायु परिवर्तनको कुरा गरिरहेको छु, म युवा वैज्ञानिकहरूसँग भेट गरिरहेको छु भने त्यसलाई तपाईँहरू कसरी बुझ्नुहुन्छ?’

पार्टीमा आबद्ध हुने नहुने, कुन पार्टीमा हुने भन्ने कुरा फरक विषय भए पनि राजनीतिबाट कोही अछुत नभएको उनले बताइन्।  

भण्डारीले राष्ट्रिय राजनीतिबाट कोही बाहिर नहुने पनि सुनाइन्। देशको स्थायित्व, शान्ति र प्रगति होस् भन्ने कुरामा आफूले चासो राखेको उल्लेख गरिन्।

‘मैले हिजो पनि त्यही विषयलाई लिएर आफ्नो कर्तव्य पुरा गरेको हो,’ उनले भनिन्, ‘वर्गीय, शोषण, श्रमको विरुद्धमा हिजोदेखि नै लागेकोले देशको समग्र विकासको लागि लाग्छु।’

राष्ट्रिय एजेन्डा, महिला, बालबालिका, खानेपानी लगायतको विषयमा आफ्नो चासो र चिन्ता रहेको जानकारी गराइन्। 

‘जहाँसम्म दलीय रूपमा रहेर जिम्मेवारी लिने की नलिने भन्ने कुरामा अहिलेसम्म म प्रवेश गरिसकेको छैन,’ उनले भनिन्, ‘अब भोलि कुन दलमा काम गर्ने भन्ने पनि कुरा आउँछ होला, म हिजो नेकपा एमालेबाट आएको, जन्मेर हुर्केर यो ठाउँसम्म पुगेको हुनाले जाँदा पनि त्यहीँ नै कुरा हुन्छ।’

सोमबार विराटनगर आएकी पूर्व राष्ट्रपति भण्डारी आजैदेखि राजनीतिक भेटघाटमा व्यस्त छिन्। उनले भोलि इटहरीमा रहेको जनता माविको कार्यक्रममा सहभागी जनाउने छिन्।

त्यस्तै धरान इन्जिनियरिङ क्याम्पसको कार्यक्रम तथा १६ गते बूढीगंगामा हुने चुडाकवि फाउन्डेसनले आयोजना गर्ने वादविवाद प्रतियोगिताको प्रमुख अतिथि तथा सोही दिन मनमोहन प्राविधिक विश्वविद्यालयको अवलोकन गर्ने जनाएकी छन्।

१८ गते ग्रामथान गाउँपालिकामा रहेको सरस्वती माध्यमिक विद्यालयको वार्षिक उत्सव कार्यक्रममा सहभागी हुने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad