राजनीति


स्वास्थ्य बिमा सुधारका लागि कार्ययोजना ल्याउन स्वास्थ्यमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

स्वास्थ्य बिमा सुधारका लागि कार्ययोजना ल्याउन स्वास्थ्यमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

नेपालखबर
माघ ६, २०८१ आइतबार १५:२९, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बिमा सुधारका लागि कार्ययोजना ल्याउन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई निर्देशन दिएका छन्। 

स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि एकसाताभित्रमा कार्ययोजना पेश गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन्। 

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसहित कार्यदलका संयोजक शम्भु आचार्य तथा सदस्यहरू डा. रघुराज काफ्ले, डा. भगवान कोइराला र सदस्य सचिव सरोज शर्मा प्रतिवेदनबारे जानकारी दिन प्रधानमन्त्रीलाई भेट्न गएका थिए। 

उनीहरूलाई एक साताभित्र कार्ययोजना लिएर आउन प्रधानमन्त्री ओलीले भनेका हुन्। प्रतिवेदन कार्यान्वयनमा आफ्नो साथ रहने पनि प्रधानमन्त्रीले बताए। 

‘प्रधानमन्त्रीज्यूले सकारात्मक प्रतिक्रिया दिनुभएको छ,’ स्वास्थ्य मन्त्री पौडेलले भेटपछि भने, ‘हामी कार्ययोजनासहित पुनः प्रस्तुत गर्नेछौं।’

मन्त्री पौडेलले एक साताभित्र प्रतिवेदन सार्वजनिक गर्ने र सरकारले मुख्य सुझाव पनि कार्यान्वयनमा लैजाने प्रक्रिया अघि बढाउने बताए।

स्वास्थ्य बिमामा नागरिक पहुँच अभिवृद्धि गर्न र सेवा स्तरीय दिनका लागि सुझाव दिन विश्व स्वास्थ्य संगठनका पूर्वउच्च अधिकारी डा. आचार्यको नेतृत्वमा मन्त्री पौडेलले सुझाव कार्यदल गठन गरेका थिए।

प्रतिवेदनमा उठाइएका विषयको कार्यान्वयन ढाँचाबारे अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन गरिरहेको छ।

स्राेत पर्याप्त नभएको भन्दै विगतको भुक्तानीमा ढिलाइ भएको र स्वास्थ्य बिमा बोर्डले अस्पतालहरूको बक्यौता रकम भुक्तानी गर्न कठिन परेको छ। 

स्रोत वृद्धि तथा सरकारी निकायबाट छरिएको स्वास्थ्य उपचार राहतसम्बन्धी सेवा तथा बिमा कार्यक्रम एकीकृत गर्न सकिएमा आफूले घोषणा गरेको पाँच लाख बिमा सम्भव हुने मन्त्री पौडेलले दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad