ऊर्जामन्त्री दीपक खड्काले आफूमाथि मन्त्रालयमै हातपात भएको भन्दै सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार बुढानीलकण्ठमा राखेको मन्त्रीसहितको संसदीय दल कार्यसमितिको बैठकमा खड्काले आफूमाथि हातपात भएको र सुरक्षाकर्मी समयमै नपुगेको गुनासो गरेका थिए।
‘गत शुक्रबार साँझ ६ बजे मन्त्रालयबाट निस्कदैँ गर्दा भर्याङमै ममाथि एक व्यक्तिले हातपात प्रयास गरे,’ बैठकमा गृहमन्त्री रमेश लेखकलाई सुनाएका थिए, ‘किन मन्त्रालयमै सुरक्षा व्यवस्था कमजोर भयो?’
गृहमन्त्री लेखकले भने समयमा जानकारी किन नदिएको भन्दै प्रश्न गरेका थिए। ‘मलाई समयमै किन भन्नुभएन त?’ लेखकको जवाफ उधृत गर्दै एक मन्त्रीले नेपालखबरसँग भने, ‘अब यस्ता घटना दोहोरिन दिइने छैन।’
कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरले पनि बैठकमा ऊर्जामन्त्रीले आफूमाथि आक्रमण भएको भन्दै सबैलाई सचेत रहन आग्रह गरेको बताए।
‘हातपातको प्रयास गरेको हो, सबैजना सचेत रहनु भन्नुभयो’, मन्त्री खड्काको भनाई उधृत गर्दै उनले भने, ‘उहाँले सबैजना सचेत रहन आग्रह गर्दछु भन्नुभयो।’
Shares

प्रतिक्रिया