राजनीति


एमालेका ३ नेताको कारबाहीमा दुई केन्द्रीय सदस्यको विरोध- पहिला अनुमोदन गराएर पछि छलफल?

एमालेका ३ नेताको कारबाहीमा दुई केन्द्रीय सदस्यको विरोध- पहिला अनुमोदन गराएर पछि छलफल?

नेपालखबर
पुस २१, २०८१ आइतबार २१:२४, काठमाडौँ

नेकपा एमालेले तीन नेतामाथि गरेको कारबाहीमा दुई जना केन्द्रीय सदस्यले औपचारिक बैठकमा विरोध जनाएका छन्।

आइतबार पार्टी मुख्यालय, च्यासलमा सुरु भएको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यद्वय प्रकाश शाह र झपटबहादुर रावलले विरोध जनाएका छन्।

एमालेको पुस १० गते बसेको केन्द्रीय सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाटै निकाला गर्दै विन्दा पाण्डे र उषाकिरण तिम्सेनलाई ६ महिनाका लागि निलम्बनको निर्णय गरेको थियो। उक्त निर्णय आइतबार केन्द्रीय समिति बैठकबाट अनुमोदन भएको छ।

बैठकको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका थिए। त्यसपछि महासचिव शंकर पोखरेलले केन्द्रीय समितिको सातौँ बैठकयता बसेको १४ वटा सचिवालय बैठक र एउटा पोलिट्ब्युरो बैठकका निर्णय अनुमोदनका लागि पेस गरेका थिए। 

यसरी पहिला अनुमोदन गर्ने र त्यसपछि छलफल गराउने गरी अपनाइएको बैठकको कार्यविधिमा प्रश्न उठाउँदै केन्द्रीय सदस्य शाहले भीम रावलमाथिको कारबाहीले सुदूरपश्चिममा पार्टीलाई ठूलो क्षति पुग्ने बताएका थिए। आग्रहपूर्वक गरिएको यस्तो कारबाहीमा पार्टीले पुनरवलोकन गर्नुपर्ने धारणा उनले राखे।

यस्तै केन्द्रीय सदस्य झपटबहादुर रावलले पनि भीम रावलमाथिको काबारही फिर्ता लिनुपर्ने धारणा राखे। विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई अभिव्यक्ति दिएकै आधारमा गरिएको कारबाहीमा पनि पुनर्विचार गर्नुपर्ने उनको भनाइ थियो।

आठौँ केन्द्रीय समितिको बैठकको पहिलो दिन २७ जना केन्द्रीय सदस्यले धारणा राखेका छन्। आज बोल्ने प्रायः सदस्यहरू सुदूरपश्चिम, कर्णाली र केही लुम्बिनीका थिए। 

सुदूरपश्चिमबाट शाह र रावलका अलावा अफिलाल उखेडा, झपट बोहरा, यज्ञ बोगटी, कमला ओलीलगायतले छलफलमा भाग लिएका थिए। 
कर्णालीबाट गुलाबजंग शाह, दल रावल, नगेन्द्र शाही (नेसनल) र धर्मराज रेग्मीले बोलेका थिए।

लुम्बिनीबाट शिवराज सुवेदी, खड्कबहादुर खड्का लगायतले आफ्ना धारणा राखे।

बैठकमा सहभागी नेताका अनुसार, नेताहरूमाथि गरिएको अनुशासनको कारबाहीका विषयमा प्रकाश शाह र  झपट रावलबाहेक अन्यले खुलेर बोल्न सकेनन्। उनका अनुसार, कीर्तिपुरमा एमाले कार्यालय बनाउने विषयमा पनि अहिलेसम्म कुनै नेताले प्रश्न उठाएका छैनन्।

‘आज बोल्ने अधिकांश कमरेडहरूले सरकारको प्रभावकारिताका विषयमा प्रश्न उठाउनुभयो,’ ती नेताले भने, ‘सरकारले प्रभावकारी काम गर्न नसकेको, युवा पलायन बढेको, जनतामा निराशा व्याप्त रहेको, पार्टीमा गुटबन्दी मौलाएको, नेतापिच्छेका गुट बन्दै गएको भन्ने कुरा नै बढी उठे। यही अवस्था हो भने मिसन ०८४ पनि सफल नहुने अवस्था छ, पार्टीभित्र एकता मजबुत बनाउनुपर्छ भन्ने कुरा पनि आए।’

बैठकमा एमाले अध्यक्ष ओलीले ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका छन्। उक्त प्रतिवेदनमाथिको छलफल सोमबार पनि जारी रहनेछ। सुरुमा केन्द्रीय सदस्यहरूले बोल्ने र त्यसपछि क्रमशः पोलिट्ब्युरो, स्थायी समिति हुँदै सचिवालयका सदस्यहरूले बोल्ने तालिका तय गरिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad