राजनीति


रास्वपामा कार्यवाहक डीपी, खटन रविकै

रास्वपाका नेता भन्छन् : रविको ‘रोडम्याप’ बाहिर गएर यो पार्टी चल्दैन
रास्वपामा कार्यवाहक डीपी, खटन रविकै

सागर न्यौपाने
पुस १४, २०८१ आइतबार २१:१८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल शनिबार पोखरा हान्निए। 

उनी कास्की प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछानेलाई भेट्न पुगेका थिए। रविसँग एक घण्टा छलफल गरेर साँझ उनी काठमाडौँ फर्किए।

सम्पत्ति शुद्धीकरण, संगठित अपराध र सहकारी ठगी गरी तीनवटा मुद्दा दायर भएपछि रवि सांसद पदबाट निलम्बन भएका छन्। उनी सांसदबाट निलम्बनमा परेपछि पार्टीको जिम्मेवारीमा पनि बसेनन्। मुद्दा दायर हुनुअघि पुस ६ गते उपसभापति डीपीलाई कार्यवाहकको जिम्मेवारी दिए।

पुस ८ गते बसेको रास्वपा सचिवालय बैठकले उनको प्रस्तावलाई अनुमोदन गर्‍यो।

नयाँ जिम्मेवारी पाएपछि डीपीको दौडधुप बढेको छ। उनले अन्यौलमा रहेको पार्टीको जाम खोलिदिएको नेताहरू बताउँछन्।   

उनले पुस ८ र १२ गते दुईवटा सचिवालय बैठक राखिसकेका छन्। पदाधिकारी रिक्त रहेका केन्द्रीय विभागमा मनोनयन गराए।

अब फेरि केन्द्रीय समिति र विस्तारित केन्द्रीय समितिको बैठक बोलाएका छन्। 

सभापति रवि पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगाएर ठगी गरेको आरोपमा कात्तिक २ गते पक्राउ परेपछि पार्टी गतिविधि ठप्प हुन पुगेको थियो। रवि पक्राउको विरोधमा रास्वपाले गर्ने घोषणा भएको कार्यक्रम समेत धेरै दिन चलने। रविको प्रहरी हिरासत बसाइ लम्बिएपछि त पार्टी झन् अन्यौलमा पर्न थाल्यो।

मंसिर १६ गतेको स्थानीय तहको उपनिर्वाचनमा नेताहरूले प्रभावकारी भूमिका खेल्न सकेनन्। सभापति पक्राउ परे पनि पार्टीको नियमित गतिविधि नरोकिनुपर्ने हो, जबकि, डीपी र डा. स्वर्णिम वाग्लेगरी दुईजना उपसभापति छन्। दुवै नेता जिम्मेवारीमै रहँदा पनि रास्वपामा नयाँ उर्जा थप्न सकेनन्। त्यसपछि पार्टीकै नेताले असन्तुष्टि जनाउन थाले।

यद्यपि, कुनै बैठक बस्न नसकेको हुँदा असन्तुष्टि औपचारिक रूपमा प्रवेश हुनै पाएन। पार्टी हाँक्न औपचारिक जिम्मेवारीको पर्खाइमा उनीहरू थिए।  

रविमाथि मुद्दा चल्छ भन्ने रास्वपाका नेताहरूलाई लागेकै थिएन। सरकारले अनावश्यक दुःख दिइरहेको उनीहरू बताउँथे। 

तर, त्यसो भएन। तीनवटा विषयमा रविमाथि मुद्दा चलाउने सरकारी वकिल कार्यालयले निर्णय गर्‍यो।   

सभापति रविको मुद्दा चल्ने सम्भावना बढ्दै गएपछि डीपी र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ पोखरा धाउन थाले।

पुस ७ मा उनीविरुद्ध तीनवटा कसुरमा मुद्दा दायर भयो। रविले मुद्दा लाग्नुअघि अर्थात् पुस ६ गते नै कार्यवाहकको जिम्मेवारी डीपीलाई दिए। 

डीपीले वडाको अधिवेशन गराउन बाँकी तहलाई सर्कुलर गरिसकेका छन्। पुस १५ गते बिहान केन्द्रीय समितिको भर्चुअल बैठक बस्दैछ। केन्द्रीय समितिको विस्तारिक बैठक १९, २० र २१ गते बोलाएका छन्। 

नियमित बैठकमा केन्द्रीय सदस्य मात्र बस्थे भने सो बैठकमा प्रदेशका सभापति र महामन्त्री समेत राख्ने तय भएको छ। रास्वपाको विस्तारित बैठक पहिलो पटक बस्न लागेको हो।

रविको मुद्दा किनारा लाग्न समय लागेमा रास्वपा कमजोर हुन्छ भनेर टीकाटिप्पणी भइरहेको बेला डीपीले पार्टीलाई थप चलायमान बनाउने उनी निकटस्थहरू बताउँछन्। कतिपयले रास्वपामा स्वर्णिमलाई छलेर डीपी हाबी हुन थालेको विश्लेषण पनि गर्न थालेका छन्।

तर, कार्यवाहक पाए पनि डीपी रविको मार्गदर्शनभन्दा बाहिर नजाने सो पार्टीका नेताहरू बताउँछन्।

‘पार्टीमा समस्या ल्याउन सकिन्छ कि भनेर खोजेका होलान् कोही कोहीले, तर त्यस्तो केही छैन,’ रवि निकट एक नेताले नेपालखबरसँग भने।

उनीहरूका अनुसार रविकै मार्गचित्र अनुसार डीपीले पार्टी चलाइरहेका छन्। पुस १२ गते सचिवालय बैठक बसेपछि १३ गते बिहानै डीपी पोखरा जानुको कारण पनि त्यही भएको उनीहरूको भनाइ छ।

‘उहाँले सचिवालय बस्नुअघि पनि रविजीसँग सल्लाह गर्नुभएको थियो,’ एक पदाधिकारीले नेपालखबरसँग भने, ‘बैठकपछि पनि उहाँले प्रत्यक्ष आएर भेट्नुभयो। पार्टी, संगठनकै विषयमा छलफल भएको हो।’ 

रविविरुद्ध मुद्दा लागेपछि सांसदबाट निलम्बन गरिएको विषय रास्वपालाई चित्त बुझेको छैन। यसबारे पनि रवि–डीपी भेटमा कुरा भएको ती पदाधिकारी बताउँछन्। 

‘रविजीको रोडम्यापभन्दा बाहिर गएर पार्टी चल्दैन,’ उनले थपे, ‘केहीदिन डीपीजीले आफ्नो तबरले चलाउन खोजेको देखिन सक्छ तर विचार फरक हुनेगरी यो पार्टी चल्दैन।’ 

रास्वपा भनेकै रविको ब्राण्ड भएकोले पनि वैचारिक प्रतिस्पर्धा नहुने ती नेता दाबी गर्छन्। 

‘रविजीबाट यसरी अघि बढ्नु भन्ने म्यान्डेट पाएरै उहाँ अघि बढ्नुहुनेछ,’ उनले भने, ‘निरन्तर सल्लाह र छलफलमै हुनुहुन्छ।’

रास्वपाका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले पार्टीले गर्नैपर्ने काम थालेको बताए। 

‘रास्वपा जनताले आशा गरेको दल हो, धेरै सदस्य भइसकेको दलको गतिविधि नहुँदा समस्या हुन्थ्यो, अहिले कार्यवाहक तोकिएपछि समानान्तर हिसाबले काम हुन थालेको छ,’ श्रेष्ठले भने, ‘पार्टीलाई व्यवस्थित गर्दै अघि बढाउन थालिएको हो।’

महाधिवेशनमा ढिलाइ हुन सक्ने
रास्वपाले आगामी वैशाखमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। तर, सभापति रवि विरुद्ध मुद्दा लागेपछि महाधिवेशन हुने/नहुने यकिन छैन। 

पुस १२ गते बसेको सचिवालय बैठक लगत्तै कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले महाधिवेशन तोकिएको मितिमा हुने दाबी गरे। तर, उपनेता श्रेष्ठ भने अर्काे निर्णय नभइन्जेलसम्म सोही मितिमा गर्ने समझदारी बनेको बताउँछन्।

‘राष्ट्रिय भेलाले महाधिवेशनको मिति तय गरिसकेको छ, अर्काे निर्णय नहुञ्जेल यसलाई मानेर जाने भनेका छौँ,’ श्रेष्ठले भने, ‘यो परिस्थिति आउला भन्ने सोचिएको पनि थिएन, वडा अधिवेशन हुँदै स्थानीय तहको भेला सक्छौँ। भोलि परिस्थिति के आउँछ अनि नयाँ निर्णय पनि हुनसक्छ। पार्टीले प्रक्रिया, पद्धति र विधि पनि बचाइराख्नुपर्छ।’

रवि निकट नेताहरू पनि मुद्दाको प्रकृति अनुसार मिति यताउता हुनसक्ने बताउँछन्।

‘छिटो गर्नुपर्छ भनेर वैशाखको मिति तोकिएको हो, उहाँको मुद्दा के हुन्छ, अलिअलि प्रभावित हुन सक्छ,’ ती नेताले भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad