उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले विधि प्रक्रिया पूरा गरेर सहकारी पीडितलाई राहत दिने र दोषीलाई कानुनको दायरामा ल्याउने बताए।
बिहिबार चितवन विमानस्थलमा नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नागरिकको बचतमा बद्मासी गर्ने दोषीहरुले कुनै हालमा उन्मुक्ति नपाउने दाबी गरे।
‘दोषीहरुलाई कारवाही गर्ने गरि र पीडितहरुको बचत फिर्ता पनि गर्नेगरी सरकारले सिस्टम बनाएर काम गरिररहेको छ,’ उनले भने, ‘यो सरकारले यसअघिका सरकारले गर्न नसकेका र बाँकी रहेका कामहरुमा सुधार गर्न काम अघि बढाइरहेको छ।’
सञ्चारकर्मीहरुले रास्वपा सभापति रवि लामिछानेका सन्दर्भमा राखेको प्रश्नमा उपप्रधानमन्त्री सिंहले आफूहरु सरकारमा आएपछि विधिको शासनअनुसार देश अघि बढिरहेको भन्दै गल्ती गर्ने कसैले पनि उन्मुक्ति नपाउने दाबी गरे। ‘रुल अफ ल सबैलाई बराबरी लागू हुन्छ भन्ने कुरालाई सरकारले अघि बढाएको छ,’ उनले भने, ‘संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेसहितको सरकार बनेपछि विकासको कामले पनि गति लिएको छ। यसअघि रोकिएका कामहरुले पनि गति पाएका छन्।’
फरक प्रसंगमा उनले नवलपुरमा नमूना सदरमुकाम बनाउने काम पछिल्लो ५ वर्षदेखि अगाडि बढ्न नसकेकोमा अहिले आफूले शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेपछि प्रक्रिया अघि बढाएको दाबी गरे।
Shares

प्रतिक्रिया