कारोबार


सिचुवान एयरलाइन्सको उडानले पोखरा विमानस्थलमा प्राविधिक समस्या नरहेको प्रमाणित भयोः प्राधिकरण

सिचुवान एयरलाइन्सको उडानले पोखरा विमानस्थलमा प्राविधिक समस्या नरहेको प्रमाणित भयोः प्राधिकरण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पत्रकार र व्यवसायी लिएर काठमाडौँतर्फ उडेको सिचुवान एयरलाइन्सको जहाज। नयाँ वर्ष २०२५ का अवसरमा शुक्रबार सुरु हुने दोस्रो अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’मा सहभागी हुन चार्टर उडानबाट चिनियाँ टोली आज पोखरा आइपुगेको हो। तस्बिरः राधिका कँडेल/रासस


नेपालखबर
पुस ११, २०८१ बिहिबार १४:२७, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा सिचुवान एयरलाइन्सको उडानले प्राविधिक रूपमा कुनै समस्या नरहेको प्रमाणित गरेको बताएको छ।

बिहीबार बिहानै चीनबाट १२९ यात्रु लिएर सिचुवानको जहाज पोखरा विमानस्थलमा अवतरण गरेको थियो। यसपछि जहाजले काठमाडौँमा प्रमोसन उडान पनि गरेको थियो। 

सो जहाज पोखराबाट दिउँसो १२ बजे काठमाडौँ १२६ यात्रु बोकेर आएको थियो। 

नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक डिओ चन्द्रलाल कर्णले सिचुवान एयरलाइन्स पोखरामा अवतरण र टेकअफ सहज रूपमै गरेको बताए। 

प्रमोसन फ्लाइटका रूपमा पोखराबाट काठमाडौँ उडान भर्दै न्यारोबडी जहाज नियमित उडान गर्न कुनै समस्या नरहेको उल्लेख गरेको छ। 

‘पोखरा विमानस्थल निर्माण गर्दा न्यारोबडी जहाज उडान गर्न सक्नेगरी डिजाइन गरिएको थियो,’ उपमहानिर्देशक कर्णले भने, ‘सिचुवानको पूर्ण क्षमताको उडानले प्राविधिक रूपमा कुनै समस्या नरहेको प्रमाणित गरेको छ।’

नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक प्रदीप अधिकारीले डाँडा र धावनमार्गको कारण उडान गर्न नसकिने भन्ने हल्ला झुटो साबित गरेको बताए। 

‘पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुनै सक्दैन भन्ने हल्लाको व्यापार अब बन्द भयो,’ महानिर्देशक अधिकारीले भने, ‘हाम्रो मेहेनतले नियमित उडान गर्न सक्छौँ। कसैले डाँडा र कसैले धावनमार्गको कारण अन्तर्राष्ट्रिय उडान हुन सकेन भन्ने हल्ला खण्डित भयो।’

पोखरामा वार्षिक २ लाख अन्तर्राष्ट्रिय पर्यटक आएका छन् भने आगामी वर्ष ४ लाख पुर्‍याउन सके कम्पनी उडान गर्न आफैँ तयार हुने बताउँछन्। 

लामो समयको प्रयासपछि एउटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका सम्पूर्ण प्रक्रिया पूरा गरेर पोखरामा सुविधा सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर १ जनवरी २०२३ मा उद्घाटन गरिएको थियो। हालसम्म केही चार्टर्ड उडानबाहेक एउटा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन।

पोखराका व्यवसायीले सम्बन्धित कार्यालय स्थापना गरी नियमित उडान तालिका केही समयअघि नै सार्वजनिक गर्दै उडान नियमित हुनुभन्दा पहिले नै यात्रुले किन पोखराबाट हुने अन्तर्राष्ट्रिय उडानलाई रोज्ने भन्ने वतावरण बनाउनुपर्ने बताएका छन्। 

पोखरामा अध्यागमन, भन्सार, श्रम, शिक्षा, स्वास्थ्य परराष्ट्र मन्त्रालयका सम्बन्धित कर्यालयको स्थापना, अन्तर्राष्ट्रिय जहाज कम्पनीका शाखाको स्थापना वा सम्पर्क कार्यालयको स्थापना गर्न माग गरेका छन्। 

पर्यटकीय राजधानी पोखराबाट सरकारले राम्रो तयारी गरे नियमित उडान हुन सक्ने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad