राजनीति


कञ्चनपुरमा भारतीयले नेपालको जमिन कब्जा गरेकोबारे तुरुन्त जाँचबुझ गर्न झलनाथ खनालको माग

कञ्चनपुरमा भारतीयले नेपालको जमिन कब्जा गरेकोबारे तुरुन्त जाँचबुझ गर्न झलनाथ खनालको माग

नेपालखबर
पुस ११, २०८१ बिहिबार ९:१९, काठमाडौँ

पूर्वप्रधानमन्त्री झलनाथ खनालले कञ्चनपुरमा भारतीयले नेपालको झन्डै एक हजार बिघा जमिन कब्जा गरेको समाचारप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। 

कञ्चनपुरको दक्षिणी सिमानास्थित सीमा स्तम्भ २७ र २८ का बीचमा रहेको करिब ६६७ हेक्टर जमिन भारतीयले कब्जा गरेर खेतीपातीसमेत गरिरहेको कुरा जानकारीमा आएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री खनालले यस विषयमा तुरुन्त कदम चाल्न सरकारसँग माग गरेका हुन्। 

‘यो अत्यन्त गम्भीर घटना हो। यसरी देशको भूभाग र सिमाना खुलेआम अतिक्रमण हुँदा पनि यो देशको सरकार देख्न सक्दैन, थाहा पाउन सक्दैन र मुलुकको सीमा रक्षा गर्न कुनै कदम चाल्न सक्दैन। यो दुईतिहाइ भनिने भारी भरकम सरकारको अकर्मण्यता, असक्षमता र लापरबाहीको चरम अभिव्यक्ति हो, बिहीबार बिहान खनालले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘म यो सरकारलाई त्यो अतिक्रमण भएको ठाउँमा तुरुन्त एउटा शक्ति सम्पन्न निरीक्षण टिम पठाइयोस्, स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी शक्ति, त्यहाँका जनप्रतिनिधिहरू र पार्टीका प्रतिनिधिहरूसमेत पठाइयोस्, स्थितिको तुरुन्त जाँचबुझ गरियोस्, आवश्यकताअनुसार भारत सरकारसँग समेत वार्ता गरियोस् र सम्पूर्ण नेपाली जनताको मुटुको टुक्राभन्दा प्रिय त्यो भूमिको सुरक्षा गरियोस् र त्यसलाई नेपालको अभिन्न भूभागका रूपमा स्थापित गरियोस्, हाम्रा सीमा स्तम्भहरूलाई अद्यावधिक गर्नुका साथै सिमानामा नियमित पेट्रोलिङको समेत व्यवस्था गरियोस् भनेर म सम्पूर्ण देशभक्त नेपाली जनताको तर्फबाट जोडदार माग गर्दछु। अन्यथा नेपाली जनताको देशभक्तिपूर्ण भावनाको विस्फोटलाई कसैले रोक्न सक्ने छैन।’​

नेकपा एकीकृत समाजवादीका सम्मानित नेतासमेत रहेका खनालले जारी गरेको विज्ञप्तिको पूर्णपाठ यस्तो छ-

समस्त देशभक्त दिदीबहिनी तथा दाजुभाइहरू!

हाम्रो मातृभूमि नेपाल आफ्नो उदयदेखि नै स्वतन्त्र रहेको मुलुक हो। हामी कुनै स्वतन्त्रता दिवस मनाउदैनौँ, किनभने हामी कहिल्यै कसैको अधीनस्थ भएनौँ। यो सारा विश्वले थाहा पाएको एउटा सत्य हो। त्यत्तिकै अर्को सत्य के पनि रहिआएको छ भने हाम्रो मुलुकको मूलतः दक्षिणी सीमाबाट एकपछि अर्को सीमा अतिक्रमणहरू निरन्तर हुँदै आएका छन्। लिम्पियाधुरा, लिपुलेक र कालापानीको अतिक्रमण त छँदै छ, सुस्ता र अन्य कतिपय ठाउँमा पनि समस्या छँदै छन्। अहिले आएर भारतीय पक्षबाट भएको अर्को गम्भीर अतिक्रमणको घटना खुलासा भएको छ।

नेपालको सुदूरपश्चिमको जिल्ला कञ्चनपुरको दक्षिणी सिमानामा रहेको सीमा स्तम्भ २७ र २८ का बीचमा रहेको करिब एक हजार बिघा (करिब ६६७ हेक्टर) जमिन भारतीयहरूले कब्जा गरेर खेतीपातीसमेत गरिरहेको कुरा जानकारीमा आएको छ। यो शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको क्षेत्र हो। त्यो निकुञ्जको जंगल भएको क्षेत्र हो। त्यहाँ पुग्न आवागमनको पनि समस्या छ र निकुञ्जको सुरक्षाका कारणले नेपालतिरबाट जो कोही त्यहाँ पुग्न पनि सक्दैन। तर दक्षिणतिरबाट लगातार अतिक्रमणमा भइरहेको कुरा अहिले जानकारीमा आएको छ।

यो अत्यन्त गम्भीर घटना हो। यसरी देशको भूभाग र सिमाना खुलेआम अतिक्रमण हुँदा पनि यो देशको सरकार देख्न सक्दैन, थाहा पाउन सक्दैन र मुलुकको सीमा रक्षा गर्न कुनै कदम चाल्न सक्दैन। यो दुईतिहाइ भनिने भारी भरकम सरकारको अकर्मण्यता, असक्षमता र लापरबाहीको चरम अभिव्यक्ति हो।

म यो सरकारलाई त्यो अतिक्रमण भएको ठाउँमा तुरुन्त एउटा शक्ति सम्पन्न निरीक्षण टिम पठाइयोस्, स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी शक्ति, त्यहाँका जनप्रतिनिधिहरू र पार्टीका प्रतिनिधिहरूसमेत पठाइयोस्, स्थितिको तुरुन्त जाँचबुझ गरियोस्, आवश्यकताअनुसार भारत सरकारसँग समेत वार्ता गरियोस् र सम्पूर्ण नेपाली जनताको मुटुको टुक्राभन्दा प्रिय त्यो भूमिको सुरक्षा गरियोस् र त्यसलाई नेपालको अभिन्न भूभागका रूपमा स्थापित गरियोस्, हाम्रा सीमा स्तम्भहरूलाई अद्यावधिक गर्नुका साथै सिमानामा नियमित पेट्रोलिङको समेत व्यवस्था गरियोस् भनेर म सम्पूर्ण देशभक्त नेपाली जनताको तर्फबाट जोडदार माग गर्दछु। अन्यथा नेपाली जनताको देशभक्तिपूर्ण भावनाको विस्फोटलाई कसैले रोक्न सक्ने छैन।

मिति: ११ पुस, २०८१

झलनाथ खनाल

पूर्वप्रधानमन्त्री

तथा

सम्मानित नेता, नेकपा (एकीकृत समाजवादी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad