एकतामा ढिलाइ भएपछि नेत्रविक्रम चन्द (विप्लव) माओवादी केन्द्रसँग बिच्किएका छन्। मंसिर २७–पुस २ सम्म कपिलवस्तुमा केन्द्रीय समिति बैठक राखेर उनले तत्काल एकता सम्भव नरहेको बताएका छन्।
‘भरखरै एकता हुने स्थिति देखिएन। किनभने त्यो सम्बन्धी तदारुकता माओवादी केन्द्रमा देखिएन। एकताका लागि विचार, राजनीति कहाँकहाँ कसरी अघि बढ्ने, नेतृत्व, संगठनको छलफलमा प्रवेश गर्नुपर्यो नि एकतामा जाने हो भने त, त्यहाँ प्रवेश नगरेको हुँदा तत्काल एकता सम्भव भएन,’ एक केन्द्रीय सदस्यका अनुसार विप्लवले बैठकमा सुनाए, ‘हामी एकता तत्काल चाहन्थ्यौँ। तर, त्यो सम्भव भएन।’
विप्लव आफू नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई माओवादी केन्द्रसँग एकता गराउन एक वर्ष अघिदेखि नै प्रयासरत छन्। २०८० साउन २४ गते विप्लवले केन्द्रीय कार्यालय कपिलवस्तुमा बसेको पदाधिकारी बैठकमा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गराएका थिए।
साउन २७ गते बसेको केन्द्रीय समिति बैठकले त्यसलाई अनुमोदन गरेको थियो।
त्यसयता दुईपटक केन्द्रीय समितिको बैठक बसिसकेको छ र हरेक बैठकले एकता गर्ने प्रस्ताव पारित गरेको छ।
तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूसँगको तारन्तार भेट र एक वर्षदेखिको प्रयास पनि सफल नभएपछि उनी बिच्किएका हुन्।
माओवादीसँग एकता हुने आशामा पछिल्ला दिन विप्लवले प्रचण्डकै पक्षमा गुनागान गाए। चुनावमा भाग नलिएको उनको पार्टीले स्थानीय तहको उपचुनावमा माओवादीकै उम्मेदवारलाई सघायो।
माओवादी केन्द्रको भने यो अवधिमा पटकपटक पदाधिकारी, स्थायी समिति बैठक पनि बसे पनि एकताबारे कुनै निर्णय गरेन। बरु पटकपटक केन्द्रीय समिति बैठक सारिरहेको छ।
‘बीचसम्म प्रचण्ड सकारात्मक हुनुहुन्थ्यो। तर, अहिले एकताको लागि माओवादी केन्द्रले कुनै आधिकारिक कदम चालेन। केन्द्रीय समिति बैठक पनि बसेको सुनिएको छैन। बाहिर बोल्दाखेरी भन्ने, तर भित्र कुनै प्रयत्नै भएको देखिँदैन,’ विप्लवको भनाइ ती केन्द्रीय सदस्यले उधृत गरे, ‘एकताको विषय अहिले स्थगित गरौँ।’
यद्यपि, विप्लव एकताको ढोका भने पुरै बन्द गरेका छैनन्।
माओवादी केन्द्रले एकताको पहल किन गरेन त? माओवादी केन्द्रका केही नेता नै एकता रोक्न लागिपरेको विप्लवको अड्कल छ।
‘माओवादी केन्द्रभित्र एकता रोक्ने तत्वहरू देखिएको पनि हाम्रो मिटिङमा संश्लेषण भयो, उपमहासचिव जनार्दन र वर्षमानतिर संकेत थियो,’ ती केन्द्रीय सदस्यले भने।
जनार्दन शर्मा र वर्षमान पुन दुवै महासचिवका आकांक्षी हुन्।
माओवादी केन्द्रका एक पदाधिकारीले पनि एकता प्रक्रिया ढिलाइ हुनुमा नेताहरू व्यवस्थापन प्रमुख कारण रहेको खुलाए।
‘एकता गरेर मात्र भएन, नेताहरूको व्यवस्थापनको पनि कुरा छ। कहाँ ल्याएर सेट गर्ने? एउटा नीति बनाउनुपर्यो। नत्र, कोहीलाई महासचिव चाहिएला, कोहीलाई उपाध्यक्ष, केहीलाई सचिव चाहिएला। भइरहेकाहरूको व्यवस्थापन र आउनेहरूको व्यवस्थापनको संगठनात्मक सन्तुलन कसरी कायम गर्ने, मिलाउने? त्यही कारण ढिलाइ भएको हो,’ ती पदाधिकारीले थपे, ‘व्यवस्थापन नै जटिल बनेको हो। विप्लव आउनुभयो भने कहाँ राख्ने? कुन पद दिने? उपाध्यक्ष हो कि, महासचिव दिने कि वा ल्याएर सदस्य मात्र बन भन्ने हो कि?’
उनले यस विषयमा निष्कर्ष निकाल्ने अपेक्षा गरिएको केन्द्रीय समिति बैठक पर सरिरहेको पनि बताए।
‘केन्द्रीय समिति बैठक नहुँदै एकता हुने कुरा भएन, तर, केन्द्रीय समिति बैठक पर–पर सरिरहेको छ,’ ती पदाधिकारीले नेपालखबरसँग भने, ‘अध्यक्ष, महासचिव, उपमहासचिवबीच कुराकानी भइरहे पनि निचोडमा पुग्नुभएको छैन।’
माओवादीले पुस २ देखि ७ गतेसम्म केन्द्रीय समिति बैठक बोलाएको थियो। तर, त्यो पनि सरेर पुस २१ गते पुर्याइएको छ।
एकताबाट ल्याउने नेताको जिम्मेवारीको विषय मिलाउन प्रचण्डलाई सजिलो छैन। मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केही नेता, नेपाल समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीसँग एकता गर्ने माओवादी केन्द्रको तयारी छ।
त्यसो त माओवादीले कम्युनिस्ट पार्टीबाट आउने नेताले जुन पद पूर्ववत् पार्टीमा पाएका छन्, त्यही जिम्मेवारी दिन सकिने बताएको छ। तर, त्यसो गर्दा माओवादीको पार्टी विधान मिचिन्छ। पदाधिकारी संख्या निश्चित तोकिएको छ। यसो हुँदा अर्काे विकल्पमा अध्यक्ष प्रचण्डले छलफल थालेका छन्।
‘एकताको प्रक्रियाबाट आउने सबैलाई मिलाउन महाधिवेशन आयोजक समिति बनाएर जान सकिन्छ, यसो गर्दा अध्यक्षबाहेक अन्यलाई पद दिनै पर्दैन,’ प्रचण्डका विश्वासपात्र अर्का नेताले भने।
माओवादी केन्द्रसँगको एकता अनिश्चित भएपछि नेपाल कम्युनिस्ट पार्टीले नयाँ कार्यक्रम अघि बढाउने निर्णय गरेको छ।
‘हामीले एकीकृत जनक्रान्ति भनेका छौँ। यो कोर्सलाई अगाडि बढाइराख्ने, एकताको ढोकालाई पनि खुलै राख्ने र खासगरी एकता नहुन्जेलसम्मलाई माओवादी धाराहरूबीच मिलेका विषयमा मोर्चा कायम गरेर जाने, कार्यक्रम गर्ने। त्राmन्तिकारीहरूबीच ध्रुवीकरणलाई जोड दिने,’ विप्लवका ती केन्द्रीय सदस्यले भने।
तर, प्रवक्ता समेत रहेका माओवादीका उपाध्यक्ष अग्नि सापकोटाले एकताबारे चाँडै औपचारिक निर्णय गर्ने दाबी गरे।
‘एकताबारे निर्णय गर्न विलम्ब गरेको होइन,’ उनले भने, ‘केन्द्रीय समितिको बैठक अगाडि थप निर्णय लिने कुरा भएन, बैठकमा यसबारे एजेन्डा बनाएर छलफल हुन्छ, जे निष्कर्ष निस्कन्छ, त्यही आधारमा हुन्छ।’
उनका अनुसार एकतापछि आउने नेताहरूको व्यवस्थापनबारे एउटा विधि बनाउने तयारी भइरहेको छ।
‘एकता प्रक्रिया निश्चित अघि बढ्छ। मोहन वैद्यको पार्टीका केही नेता, विप्लवजीको पार्टी र नेसपा तीन दलबीच एकता हुने हो,’ उनले थपे, ‘छलफल गर्दै जाँदा कुन निष्कर्षमा पुगिन्छ, त्यही निर्णय हुन्छ।’
त्यसो त प्रचण्डले पदाधिकारीमा सन्तुलन हुनेगरी पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङ र पूर्वप्रदेश प्रमुख अमिक शेरचनलाई फेरि पार्टीमा सक्रिय बनाउँदैछन्।
एकता प्रक्रियाबाट ल्याउने नेताहरूबीच सन्तुलन मिलाउनेबारे उनी लेखाजोखा गरेकै कारण पनि हतारमा निर्णय नगरेको केही नेताको बुझाइ छ।
Shares

प्रतिक्रिया