कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका पार्टी सभापति रवि लामिछानेको भाइरल तस्बिरबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने भएको छ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले यस विषयमा आज विज्ञप्ति जारी गर्ने तयारी भइरहेको जानकारी दिए।
‘त्यस तस्बिरबारे हामी आफ्नो औपचारिक धारणा सार्वजनिक गर्दै छौँ’, कार्यवाहक प्रवक्ता झाले नेपालखबरसँग भने।
अहिले सामाजिक सञ्जालमा एउटा कोठामा सिरक ओढेर सुतिरहेको एक व्यक्तिको तस्बिर भाइरल भइरहेको छ। त्यो तस्बिर कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेकै भएको दाबी रास्वपा नेताहरूले गरिरहेका छन्।
पार्टीको औपचारिक धारणा सार्वजनिक गर्नुअघि रास्वपाका कार्यवाहक प्रवक्ता झाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो रवि दाइलाई राखिएको ठाउँकै तस्बिर हो। म धेरैपटक भेट्न गएको छु। हामी जाँदा मोबाइल, घडी र पेनसमेत सबै बाहिर नै छाड्नुपर्छ। यो सीसीटीभीको फुटेज हो, जहाँ प्रहरीबाहेक अरू जान पाउँदैन। हिरासतमा रहेको व्यक्तिको तस्बिर यसरी बाहिर ल्याउन कानुनअनुसार पाइँदैन। सत्तापक्षको नियतमा शंका छ।’
Shares

प्रतिक्रिया