जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने हिरासतमै रहेको तस्बिर भनी सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएपछि प्रहरीले अनुसन्धान थालेको छ।
हिरासतजस्तो देखिने कोठामा ओढ्ने ओढेर सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा राख्दै त्यो रवि लामिछाने नै भएको दाबीसहित भाइरल बनाइएको छ।
यस विषयमा जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रवक्ता, डीएसपी वसन्तकुमार शर्मालाई बिहीबार नेपालखबरले जिज्ञासा राख्दा उनले अनुसन्धान/छानबिन भइरहेको बताए।
त्यो तस्बिर रवि लामिछानेकै हो कि होइन भन्ने प्रश्नमा डीएसपी शर्माले होइन भने भन्न सकेनन्।
उनले भने, ‘हो, होइन, त्यो तस्बिर कसरी बाहिरियो, ती सबै कुरा पत्ता लगाउनकै लागि त अनुसन्धान गरिरहेका छौँ।’
रास्वपाका नेताले उक्त तस्बिर आफ्नै सभापति रवि लामिछानेकै भएको जिकिर गर्दै आपत्ति जनाइरहेका छन्।
अर्कातर्फ कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले भने यो तस्बिर नै रविको होइन भन्ने दाबी गरिरहेका छन्।
पोखराको सूर्यदर्शन सहकारी ठगीअन्तर्गत संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा समेत रवि गत कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा छन्।
पछिल्लोपटक अर्थात् आठौँपटक यही पुस २ गते जिल्ला अदालत कास्कीले रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
कास्की प्रहरीले यही पुस १ गते रविसहित ५१ जनलाई प्रतिवादी बनाउँदै सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता गराउन राय दिँदै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ।
अब सरकारी वकिल कार्यालयले उक्त मुद्दा आउने शुक्रबारभित्र अदालतमा दर्ता गराइसक्नुपर्नेछ। किनकि सम्पत्ति शुद्धीकरणकाे कसुरमा अनुसन्धानका लागि बढीमा ९० दिन मात्र हिरासतमा राख्न पाइने प्रावधान छ।
सोही प्रकरणमा रविका व्यावसायिक साझेदार छविलाल जाेशी पक्राउ परेकाे शुक्रबार (पुस ५ गते) ९० दिन पूरा हुँदै छ। जोशी गत असोज ६ गते पक्राउ परेका थिए।
रविविरुद्ध म्याद थपको शृखला-
–कात्तिक २ गत काठमाडौँस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाटै पक्राउ (पोखराको सूर्यदर्शन सहकारी प्रकरण)
–कात्तिक ४ गते कास्की जिल्ला अदालतद्वारा पक्राउ परेर्कै दिनदेखि लागू हुनेगरी ६ दिन हिरासत म्यादको अनुमति
–कात्तिक ८ गते कास्कीमै दोस्रोपटक ७ दिन म्याद थप
–कात्तिक २० गते कास्कीमै तेस्रोपटक १० दिन दिन म्याद थप
–कात्तिक २५ गते कास्कीमै चौथोपटक १३ दिन दिन म्याद थप
–कात्तिक २५ गते पोखराबाट भैरहवा लगेर बयान (सुप्रिम सहकारी प्रकरण)
–मंसिर ९ गते कास्कीमै पाँचौपटक १५ दिन म्याद थप
–मंसिर १३ गते पोखराबाट काठमाडौँ ल्याएर बयान (स्वर्णलक्ष्मी सहकारी प्रकरण)
–मंसिर १८ गते अनुसन्धानका लागि काठमाडौँबाटै चितवन लगेर बयान (सहरा चितवन सहकारी प्रकरण)
–मंसिर २३ गते कास्कीमै छैटौँपटक ४ दिन म्याद थप
–मंसिर २४ गते पोखराबाट काठमाडौँ हुँदै वीरगन्ज लगेर बयान (सानो पाइला सहकारी प्रकरण)
–मंसिर २७ गते कास्कीमै सातौँपटक ५ दिन म्याद थप
–पुस २ गते कास्कीमै आठौँपटक ४ दिन म्याद थप
Shares

प्रतिक्रिया