प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले नागरिकमा नकारात्मक प्रभाव पार्ने खालका समाचार सम्प्रेषण नगर्न सञ्चारजगतलाई आग्रह गरेकी छन्।
सोमबार काठमाडौँमा आयोजित ‘संसदीय पत्रकारिता अवधारणा र अभ्यास’नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी हुन्।
उनले राज्य सञ्चालनको लागि पत्रकारिताले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै कसैले पनि राजनीतिक प्रभावमा परेर समाचार लेख्न नहुने धारणा पनि राखिन्।
‘तपाईँहरूले कस्तो सूचना दिँदाचाहिँ जनतालाई फरक पर्दैन, त्यो कुरा याद गर्नुपर्दछ,’ उनको भनाइ थियो, ‘हामीले यो राज्यलाई बचाउने र नागरिकलाई नकारात्मक प्रभाव नपर्ने गरी समाचारहरू सम्प्रेषण गर्नुपर्ने हुन्छ। राज्य सञ्चालनका लागि पत्रकारिताको महत्त्वपूर्ण भूमिका रहेको छ। अहिले त डिजिटल प्रविधि पाँचौँ अंग पनि आइसक्यो। पत्रकारहरूले राजनीतिक प्रभावमा परेर काइते तरिकाले लेखेको पनि देखिन्छ। त्यसैले यसरी नलेख्न आग्रह गर्दछौँ। संसदको गरिमा बढाउनका लागि संसदीय पत्रकारिताको महत्त्वपूर्ण भूमिका रहन्छ।’
उनले वर्तमान व्यवस्था बचाउँदै मुलुकमा समृद्धि ल्याउनका लागि सबैले एकजुट भएर अगाडि बढ्न जरुरी धारणा पनि राखिन्।
Shares

प्रतिक्रिया