राजनीति


डोनाल्ड लुसमक्ष प्रचण्ड : विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यान जाओस्

डोनाल्ड लुसमक्ष प्रचण्ड : विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यान जाओस्

नेपालखबर
मंसिर २३, २०८१ आइतबार १७:२७, काठमाडौँ

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्।

अध्यक्ष प्रचण्डको निवास खुमलटारमा उनीहरूबीच भेटवार्ता भएको हो।

प्रचण्डको सचिवालय अनुसार, अमेरिकी सहायक विदेशमन्त्री लुको नेपाल भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्दै प्रचण्डले दुई देशबीच लामो समयदेखिको सम्बन्धलाई यस्ता भ्रमण र भेटवार्ताले थप बलियो बनाउने विश्वास व्यक्त गरेका थिए।

नेपालको आर्थिक विकासका लागि अमेरिकाले गरिरहेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै प्रचण्डले सबैको सहयोग र सद्भावबाट अघि बढ्ने विश्वास पनि दिलाए। नेपाल आर्थिक समृद्धिको बाटोमा अघि बढ्न खोजिरहेको उल्लेख गर्दै उनले अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायको सहयोग र सद्भाव महत्त्वपूर्ण हुने धारणा पनि राखे।

‘हामीले कृषिलाई आधार मानेर उर्जा र पर्यटन विकासलाई जोड दिने नीति लिएका छौँ,’ उनले भने, ‘सबै क्षेत्रमा सूचना प्रविधिलाई लिडिङ रोलमा राखेर मात्रै नेपाललाई समृद्ध बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास रहेको छ। यसका लागि अन्तर्राष्ट्रिय समुदायबाट हुने सहयोग र लगानी महत्त्वपूर्ण हुन्छ।’

नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिका साथ मौलिक रूपमा सम्पन्न हुन थालेको जानकारी गराउँदै अध्यक्ष प्रचण्डले यसमा अन्तर्राष्ट्रिय समुदायको सद्भावका लागि धन्यवाद दिए।

‘हामीले नेपालमा शान्ति प्रक्रिया बहुमत र अल्पमत वा सत्ता पक्ष र विपक्षको रूपमा नलिएर राष्ट्रिय सहमतिका साथ टुंग्याउँदै छौँ। यो हाम्रा लागि मात्र होइन, शान्ति र स्थायित्व चाहने अन्तर्राष्ट्रिय समुदायकै लागि पनि खुसीको कुरा हो,’ उनले भने, ‘टीआरसी विधेयक पारित भएपछि जसरी अन्तर्राष्ट्रिय समुदायले स्वागत गरेको छ, यसले हामीलाई खुसी बनाएको छ।’

अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको तनावप्रति नेपालको गहिरो चासो रहेको र यसबाट नेपालमा पर्न सक्ने असरप्रति आफूहरू संवेदनशील रहेको उनको भनाइ थियो।

नेपाली युवक विपिन जोशी अहिलेसम्म पनि इजरायलमा बेपत्ता रहेको घटना नेपालका लागि चिन्ताको विषय रहेको उल्लेख गर्दै प्रचण्डले हालै उनी जीवितै रहेको इजरायली पक्षबाट जानकारी आउनु सुखद भएको र जतिसक्दो चाँडो रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यान जानुपर्ने धारणा पनि राखे।

अमेरिकी सहायक मन्त्री लुले नेपालको प्रगति आफूहरूका लागि खुशीको विषय हुने भन्दै सबै प्रकारका सहयोग र सद्भाव बढाउँदै लैजाने बताए।

उनले नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिका लागि टुंगिन थालेकोमा खुसी व्यक्त गर्दै यो अन्तर्राष्ट्रिय समुदायका लागि सुखद खबर भएको धारणा पनि राखे। उनले नेपालको आर्थिक विकासका लागि अमेरिकाले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै अमेरिका सरकारले मात्रै नभई अमेरिकी जनताले पनि नेपालको विकासका लागि सहयोग गर्दै आएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad