राजनीति


माओवादीको जनमतमा सुधार आएको देखियो: शंकर पोखरेल

‘सामाजिक सञ्जालमा नेतृत्व विरुद्धको कुप्रचारले काठमाडौँमा एमालेलाई कमजोर बनायो’
माओवादीको जनमतमा सुधार आएको देखियो: शंकर पोखरेल

फाइल तस्बिर


नेपालखबर
मंसिर १९, २०८१ बुधबार ७:३०, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले भर्खरै सकिएको उपचुनावको परिणामले माओवादी केन्द्रले आफ्नो जनमत सुधार गरेकाे स्वीकार गरेका छन्। उनले चुनावी परिणाम आफ्नो पार्टीका लागि पनि सुधारोन्मुख भएको दाबी गरेका छन्। 

उनले उपचुनावबाट माओवादी केन्द्रले १ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष र १ वडाध्यक्ष थप्न सफल भएको भन्दै माओवादी केन्द्रको जनमतमा सुधार आएको बताएका हुन्। 

काठमाडौँ उपत्यकामा भने आफ्नो पार्टीले अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेको पनि उनले स्वीकार गरेका छन्।

सामाजिक सञ्जालमार्फत् महासचिव पोखरेलले उपचुनावको परिणामलाई लिएर एमाले तेश्रो भयो भनेर गरिएको प्रचार पनि पूर्णतया सत्य नभएको जिकिर गरेका छन्।

‘उपचुनावको परिणामलाई लिएर एमाले तेश्रो भनेर प्रचार भइरहेको छ। अहिलेको निर्वाचन  परिणामको सामान्य विश्लेषण गर्दा त्यस्तै देखिन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर चुनाव भएको निर्वाचन क्षेत्रको विगतको परिणाम र त्यस क्षेत्रको राजनीतिक प्रभावका हिसाबले विश्लेषण गर्ने हो भने निष्कर्श त्यो भन्दा भिन्न देखिन्छ।’

एमालेले विगतमा जितेका ७ वडाध्यक्षका ठाउँमा एक गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्षसहित ५ वडाध्यक्ष जितेको भन्दै पोखरेलले चुनावी परिणाम आफ्नाे पार्टीकाे लागि सुधारोन्मुख रहेको बताएका हुन्। 

‘गुमेका २ वडाध्यक्षका ठाउँमा गाउँपालिका १ अध्यक्ष र २ उपाध्यक्षसहित एमाले ३ पदाधिकारी जित्न सफल भएको छ। यस हिसाबले एमालेका लागि पनि निर्वाचनको परिणाम सुधार उन्मुख नै देखिन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्। 

उनले उपचुनावबाट माओवादी केन्द्रले १ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष र १ वडाध्यक्ष थप्न सफल भएको बताएका छन्। 

‘यद्यपी माओवादीको जितमा विगतको चुनावमा नेपाली कांग्रेससँगको तालमेलमा उसले आफ्नो प्रभाव क्षेत्रमा छोडेका सिट पनि सामेल छन्,’ पोखरेलले अगाडि भनेका छन्, ‘यद्यपी कोसी प्रदेशको तराई क्षेत्रमा भने उसले आफ्नो जनमतमा केही सुधार गरेको देखिन्छ।’

उनले स्थानिय कमिटीको योजना र अपेक्षा अनुरुप भने उपचुनावको  परिणाम आउन नसकेको स्वीकारेका छन्। ‘विशेषगरी राजधानी काठमाडौँमा हुने निर्वाचनको परिणाममा उल्लेख्य सुधारको अपेक्षा गरिएको थियो, त्यो पुरा हुन सकेन,’ पोखरेलले लेखेका छन्, ‘अझै पनि शहरी क्षेत्रका मतदाताको झुकाव मुलधारका राजनीतिक दलका पक्षमा आउन सकेको देखिदैन। त्यसमाथि पछिल्लो समयमा सामाजिक संजालमा भएको एमाले र त्यसको नेतृत्व विरुद्धको कुप्रचारले पनि एक हदसम्म चुनावी परिणामलाई प्रभावित गरेको देखिन्छ।’

एमाले महासचिव पोखरेलले यस पटकको निर्वाचनमा आम रुपमा पहिले जितेका सिटमा देखिएको परिवर्तन भने आश्चर्य जनक रहेको बताएका छन्। 

‘एमालेले विगतमा जितेका ७ वडाध्यक्ष मध्ये १ सिट मात्र कायम राख्न सक्यो। माओवादी केन्द्रले विगतमा जितेका ६ वडाध्यक्षमध्ये पूर्वी रुकुमलाई छोडेर सबै गुमाउन पुग्यो। नेपाली कांग्रेसले १९ वडाध्यक्षमा १० र ६ पदाधिकारी मध्ये कीर्तिपुरलाई छोडेर सबै गुमायो। साना दलहरुवाट जित्नेको अवस्था पनि त्यस्तै देखियो,’ उनले भनेका छन्, ‘यसवाट जनप्रतिनिधिको भूमिकाप्रति स्थानिय जनता सन्तुष्ट नभएको र मत परिवर्तन गर्न खोजेको देखिन्छ। यसवाट जनप्रतिनिधिहरुले आफ्नो कार्यशैलीमा व्यापक सुधार गर्नुपर्ने सन्देश उपनिर्वाचनले दिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad