नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी हुने दाबी गरेका छन्।
प्रधानमन्त्री ओलीले चिनियाँ शीर्ष नेतृत्वसँग सोमबार विभिन्न चरणमा गरेको भेटवार्तामा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बारे कुनै सहमति वा समझदारी बन्न नसकेको भन्ने खबरहरू आइरहेका छन्। दुवै देशका प्रधानमन्त्री नेतृत्वका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्तापछि भएका सहमति एवं समझदारीहरूको सूचीमा बीआरआईबारे केही उल्लेख गरिएको छैन।
नेपालले प्रस्ताव गरेको बीआरआई सहकार्य फ्रेमवर्कमा चिनियाँ पक्षको सहमति जुटाउने प्रयास भ्रमणको अन्तिम क्षणसम्मै जारी राख्ने भनिएको छ।
यसैबीच, सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका कार्यवाहक अध्यक्ष पोखरेलले भ्रमणका क्रममा विभिन्न परियोजनाबारे औपचारिक छलफलहरू जारी रहेको उल्लेख गर्दै बीआरआईबारे अहिले नै बोल्नु गलत हुने बताएका हुन्।
दुवै देशका तर्फबाट संयुक्त वक्तव्य आएपछि मात्र सबै कुराको जानकारी पाइने उनको भनाइ छ।
बीआरआई परियोजना राष्ट्रिय स्वार्थको विषय भएकाले अग्राधिकार दिएर अघि बढ्ने कुरामा नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमत रहेको र सहमतिको दस्तावेजकै रूपमा तयार पारेर चीनसमक्ष प्रस्तुत गरेको उनले जानकारी दिए।
उनले भने, ‘खासगरी बीआरआईलाई हेर्ने सन्दर्भमा बाहिर अनेक ढंगले अड्कलबाजीहरू भइरहेका थिए। कांग्रेस नकारात्मक र एमाले सकारात्मक छ भन्ने ढंगले पनि कुराहरू बाहिर आइरहेका थिए। त्यस्तो होइन। हामी राष्ट्रिय स्वार्थको विषयलाई अग्राधिकार दिएर अगाडि बढ्छौँ। कांग्रेस र एमालेले नेपालको राष्ट्रिय राजनीतिमा नयाँ खालको सहमतिको दृष्टान्त स्थापित गरेका छौँ। जहाँसम्म भ्रमणको कुरा छ, आज चिनियाँ प्रधानमन्त्री र राष्ट्रपतिसँग पनि भेट भइसकेको जानकारी हामीले पाएका छौँ। थप विवरण त भोलि जोइन्ट स्टेटमेन्ट आउला, त्यसमा आउनेछन्। हाम्रो पारस्परिक समझदारीमा बनेको तयारीका आधारमा कुराहरू भएका छन्। कुराहरू फलदायी ढंगले भएका छन्।’
उनले प्रधानमन्त्रीको पहिलो भ्रमण आवश्यकताको आधारमा जुनसुकै मित्रराष्ट्रको हुन सक्ने कुरामा कांग्रेस र एमाले एकमत रहेको र यसलाई अन्यथा लिन नहुने धारणा पनि राखे। प्रधानमन्त्रीको चीन भ्रमण मूलतः राजकीय भ्रमण भए पनि यसले पार्टीगत सम्बन्ध पनि सुमधुर हुने विश्वास व्यक्त गरे।
उनले थपे, ‘चीन र नेपालबीचको सम्बन्धको विषयलाई तीनवटा आयामबाट हेर्न जरुरी छ। एउटा, राजकीय सम्बन्ध, अर्को कम्युनिस्ट पार्टीहरूबीचको सम्बन्ध र जनस्तरको सम्बन्ध। यो तीन विषयका हिसाबले नेपाल–चीन सम्बन्धलाई बुझ्नुपर्छजस्तो लाग्छ। यसपटकको भ्रमण मूलतः राज्यस्तर राजकीय भ्रमण हो। यसक्रममा राजनीतिक सम्बन्ध पनि हुने नै भयो। अर्को कुरा, यसपटक प्रधानमन्त्री चीन भ्रमणमा गइरहँदा समाजमा विश्लेषक हौँ भन्नेहरूले पहिले कुन देश जानुपर्थ्यो भन्ने हल्ला फैलाए। फलानोले बोलाएन, अनि त्यसपछि चीन भ्रमणमा गए पनि भनियो। अहिलेका सत्तासीन दलहरू एमाले र कांग्रेस आवश्यकताको आधारमा जुनसुकै देशको भ्रमण पनि पहिलो हुनुपर्दछ भन्ने मान्यतामा छौँ। यही देशमा पहिले र त्यसपछि मात्र अन्य देशको भ्रमण भन्ने खालको बुझ्नुहुँदैन भन्ने स्थापित गरेका छौँ।’
Shares

प्रतिक्रिया