राजनीति


मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको भ्रमणमा चीनसँग हुँदै छन् यी सहमति र सम्झौता

मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको भ्रमणमा चीनसँग हुँदै छन् यी सहमति र सम्झौता

नेपालखबर
मंसिर १६, २०८१ आइतबार २२:९, काठमाडौँ

प्रधानमन्त्रीको चीन भ्रमणसँग सम्बन्धित रहेर मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दिएको जानकारीअनुसार, प्रस्तावित तीन सय मिलियन आरएमबी बराबरको आर्थिक तथा प्राविधिक अनुदान सहायता स्वीकार गर्ने सम्झौता स्वीकृत गर्ने निर्णय भएको छ। उक्त प्रस्तावमा हस्ताक्षर गर्ने अख्तियारी अर्थ सचिवलाई नै दिइएको छ।

सन् २०२५ देखि सन् २०२९ सम्मको विकास योजनासम्बन्धी समझदारीपत्र पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ। यसको हस्ताक्षर गर्ने जिम्मेवारी अर्थ मन्त्रालयका सचिवलाई दिइएको छ।

यस्तै सार्वजनिक सेवा प्रसारण संस्था (रेडियो नेपाल र नेपाल टेलिभिजन) र चाइना मिडिया ग्रुप (सीएमजी) बीच हुने समझदारी पत्रलाई पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको मन्त्री गुरुङले जानकारी दिए।

यससम्बन्धी समझदारी प्रधानमन्त्री केपी शर्मा ओलीको सोमबारदेखि हुने चीन भ्रमणका क्रममा गरिनेछ।

नेपाल सरकार र चीन सरकारबीच नेपालमा स्वयंसेवी चिनियाँ भाषा शिक्षक तालिम कार्यक्रम परिचालनका लागि तयार भएको समझदारी पत्र स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ। समझदारी पत्रमा हस्ताक्षर गरी कार्यान्वयन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई  जिम्मा दिइएको छ ।

प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा एमओयु (लेटर अफ एक्सप्रेसन) हुने तय भएका आयोजनामा काठमाडौँ चक्रपथ सुधार, चौथो चरणको अरनिको राजमार्ग सुधार, हिल्सा–सिमीकोट सडक आयोजना, कोरोला नाकालाई व्यवस्थित गर्ने विषयसँग सम्बन्धित आयोजना, टोखा–छहरे सुरुङ मार्गलगायत रहेका छन्। यसैगरी बीपी कोइराला क्यान्सर अस्पताल चितवनमा बोन म्यारो ट्रान्सप्लान उपचार पद्धति सुरु गर्नेलगायत आयोजना रहेका छन्। एक सय विद्युतीय गाडी, एक सय प्रहरी भ्यान, ५० स्कुल भ्यान, ५० एम्बुलेन्सका लागि पनि प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा सहमति हुने गरी छलफल अघि बढेकाले यस विषयमा पनि ठोस उपलब्धि हुन सक्ने मन्त्री गुरुङले जानकारी दिए।

बैठकले प्रधानमन्त्री ओलीको यही मंसिर १७ देखि २० गतेसम्म हुने चीन भ्रमण सफलताका लागि शुभकामना दिने निर्णय पनि गरेको छ।

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली सोमबार चार दिने औपचारिक भ्रमणमा भोलि बेइजिङ प्रस्थान गर्दै छन्।

मन्त्रिपरिषद् बैठकले प्राविधिक सहसचिव रामप्रसाद घिमिरेलाई प्राविधिक सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

२० मिलियन अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। सो सम्बन्धी सहमति आदानप्रदान पत्रको मस्यौदा स्वीकृत गरी हस्ताक्षर गर्ने जिम्मेवारी अर्थ मन्त्रालयका सचिवलाई दिने निर्णय भएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad