बिहीबार कीर्तिपुरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, ‘यो पटक यो नगरपालिकाबाट दिने सन्देश र ४१ वटा उपचुनावबाट दिने सन्देश ०८४ को लागि आँखीझ्याल हुनेछ। यहाँबाट ०८४ कस्तो हुनेछ भन्ने देखिन्छ।’
प्रचण्डले भनेजस्तै यो उपचुनावको सन्देश महत्त्वपूर्ण हुने ठानेर दलहरूले स्थानीय तहको चुनावमा भएभरको बल लगाएका छन्।
माओवादीका अध्यक्ष आफैँ कीर्तिपुर पुग्दा नेपाली कांग्रेसले महामन्त्रीद्वय र नेकपा एमालेले महासचिवलाई नै फिल्डमा उतार्यो।
स्वतन्त्रबाट उठेका राजमान महर्जनले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई पटकपटक कीर्तिपुर बोलाए। अन्तिम चुनावी सभालाई उनै हर्कले सम्बोधन गरे।
दलका लागि मात्र होइन, स्वतन्त्रले पनि यसपटकको स्थानीय तहका विभिन्न स्थानमा हुन लागेको चुनावलाई निकै महत्त्व दिएका छन्। दलीय गढ भत्काएर नयाँ इतिहास बनाउने रणनीतिमा उनीहरू छन्।
४१ पदका लागि आगामी १६ गते हुने उपचुनावमा ३७० बढी उम्मेदवार छन्। त्यसमध्ये राजनीतिक दलबाट २८० र स्वतन्त्रबाट १ सय १० छन्।
चुनावको लागि प्रचार प्रसारको अन्तिम दिन बिहीबार ४१ वटै स्थानमा उनीहरूले अन्तिम सभा राखिसकेका छन्। जसरी पनि चुनाव जित्नैपर्ने दबाबका साथ उनीहरू खटिएका छन्।
स्वतन्त्र उम्मेदवार नयाँ इतिहास बनाउने दाबी गरिरहँदा राजनीतिक दल आफ्नो सिट गुम्न नदिने बताउँछन्।
त्यसलाई पुष्टि गर्ने आधार देखाउँदै नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने– ‘ओखलढुङ्गा जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराई र कैलालीको समन्वय प्रमुखमा टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित हुनुभयो।’
काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुख, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष, दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पनि कांग्रेसले जितेको ठाउँ हो।
कांग्रेसले जितेका रिक्त ठाउँमा आरामले जितिने विश्वकर्माको दाबी छ।
‘यसपटक आक्रामक प्रचारप्रसार नगरी घरघर पुगेका छौँ,’ उनी भन्छन्।
कांग्रेसले जितेका २० ठाउँको वडाध्यक्ष पद पनि रिक्त छ।
‘कीर्तिपुर लगायत सजिलै जित्ने ठाउँमा ठिक्क तयारी छ, पहिले जितेकोबाट केही नयाँ ठाउँ बढाउने कोसिसमा छौँ,’ विश्वकर्मा भन्छन्।
यसैगरी, रुकुम पूर्वको उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्ष निर्विरोध जितेको माओवादी कीर्तिपुर र मोरङको ग्रामथान जित्ने बताउँछ।
प्रवक्ता समेत रहेका माओवादी उपाध्यक्ष अग्नि सापकोटाले २०६४ को जस्तै लहर आएको दाबी गरे।
‘अहिले हाम्रो पूरै पार्टी फेरि एकताबद्ध छ,’ सापकोटाले भने, ‘उम्मेदवार छनोट सर्वसम्मत र स्थानीय तहमा प्रभाव पार्ने खालका छन्।’
विगतमा प्राविधिक कुरा मिलाउन नसक्दा केही ठाउँ गुमाउनु परेको भन्दै अहिले त्यो मिलाइएको र माओवादीको ग्राफ उकालो लाग्दो अवस्थामा रहेको उनी बताउँछन्।
माओवादीले जितेको रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष, हुम्लाको सार्केगाड पालिका उपाध्यक्ष सहित ८ वडा रिक्त छन्।
‘कांग्रेस–एमाले अलमिलएका छन्,’ सापकोटाले थपे, ‘एकपटक कीर्तिपुरले नयाँ कीर्तिपुर बनाउनेछ, हामीले पहिला जितेका त जित्छौँ, त्यसबाहेक केही पालिका अध्यक्ष र उपाध्यक्ष थप जित्छौँ।’
उपचुनाव हुन लागेको स्थानमध्ये कीर्तिपुर नगरपालिका वडा नम्बर ४ मा स्वतन्त्रले जितेका थिए। यसपटक पनि त्यहाँ स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्।
एमालेले जितेका ७ वटा वडा मात्र रिक्त छ। तर, एमालेले नयाँ ठाउँ जित्नेगरी रणनीति बनाएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतम बताउँछन्।
‘हाम्रा रिक्त वडा त जितिहाल्छौँ, त्यसबाहेक पालिका अध्यक्ष, उपाध्यक्ष पनि हामी जित्छौँ,’ गौतमले नेपालखबरसँग भने, ‘कीर्तिपुर जितेर हाम्रो विरासत फेर्काउँछौँ। फेरि पनि एमाले नै बलियो शक्ति हो भनेर देखाउँछौँ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीको कुरा पनि फरक छैन।
अघिल्लो पटक स्थानीय तहको चुनावमा दल नै दर्ता नभएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपचुनावमा बाजी मार्ने बताउँछन्– रास्वपाको स्थानीय तह निर्वाचन परिचालन समिति संयोजक गणेश पराजुली। यद्यपि, रास्वपाले कीर्तिपुरमा उम्मेदवारी दिएको छैन।
उम्मेदवारी दिएका ठाउँमा पुराना दललाई आश्चर्यमा पार्नेगरी नतिजा आउने उनी दाबी गर्छन्।
स्वतन्त्र उम्मेदवारी दिनेहरूको आत्मविश्वास पनि कम छैन। उनीहरू पनि जित्ने दाबी गर्छन्। सय बढी उम्मेदवारमध्ये केहीले चुनाव जितेर दलीय गढ भत्काउने ठोकुवा गरेका छन्।
यी हुन् चुनाव हुने वडा
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३, झापाको कन्काइ नगरपालिका वडा नं ६, तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं ८, सुनसरीको गढी गाउँपलिका वडा नं ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नं १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २, रौतहटको ईशनाथ नगरपालिका वडा नं ७, राजपुर नगरपालिका वडा नं ६ र गढीमाई नगरपालिका वडा नं ८ मा उपचुनाव हुँदैछ।
त्यस्तै, काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं १ र ४, काठमाडौँ महानगरपालिका वडा नं १६, नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौँडा नगरपालिका वडा नं १२, गोरखाको गोरखा नगरपालिका वडा नं ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नं १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४, रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ र कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं १ का वडाध्यक्ष पदमा निर्वाचन हुँदैछ।
त्यस्तै, दैलेखको दुल्लु नगरपालिका वडा नं १३, कालिकोटको तिलागुफा नगरपालिका वडा नं ४, जाजरकोट कुशे गाउँपालिका वडा नं ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं ५, बझाङको सुर्मा गाउँपालिका वडा नं ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ को वडाध्यक्ष पनि रिक्त छ।
Shares

प्रतिक्रिया