क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक मोहन वैद्यले जनताले राज्यसत्ताप्रति नै विकल्प खोज्नुपर्ने अवस्था आएको बताएका छन्।
सत्तारुढ दलहरू, राजनीतिक व्यवस्था र राज्यसत्ताप्रति नै जनतामा असन्तुष्टि, आक्रोश बढ्दै गएकाले त्यसको विकल्पको खोजी गर्ने अवस्था पैदा भएको उनको भनाइ थियो।
बिहीाबार काठमाडौँमा सुरु भएको पार्टीको राष्ट्रिय एकता महाधिवेशनमा बोल्दै संयोजक वैद्यले मुलुकमा क्रान्तिका लागि परिस्थिति अनुकूल बन्दै गएको दाबीसमेत गरे।
उनले क्रान्तिकारी कम्युनिस्ट आन्दोलन हालका लागि कमजोर अवस्थामा रहेको स्वीकार गर्दै आगामी दिनमा बलियो भएर जाने विश्वास व्यक्त गरे।
मुलुकमा वैकल्पिक राजनीतिक शक्तिको नेतृत्व क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूले लिने वैद्यको भनाइ थियो।
उनले भने, ‘सरकार सञ्चालक राजनीतिक दलहरू र समस्त व्यवस्था तथा राज्यसत्ताप्रति नै जनतामा असन्तुष्टि, आक्रोश तथा वितृष्णा बढ्दै जाने र विकल्पको खोजी गर्ने अवस्था पैदा हुन थालेको छ। उक्त कुराहरूमाथि दृष्टि दिँदा आज एकातिर क्रान्तिका लागि वस्तुगत परिस्थिति अनुकूल बन्दै जान थालेको देखिन्छ। परन्तु अर्कोतिर आत्मगत परिस्थिति भने कमजोर नै रहेको छ। तर यो पनि अस्थायी कुरा हो। परिस्थितिले कोल्टे फेर्दै जानेछ। आज क्रान्तिकारी कम्युनिस्ट आन्दोलन कमजोर अवस्थामा भए पनि भोलि बलियो हुनेछ। यो कुरा नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासले पनि प्रमाणित गरेको छ।’
साम्राज्यवादी र प्रतिक्रियावादीहरूले मुलुकलाई संकटको डिलमा पुर्याएको उनको धारणा थियो।
Shares

प्रतिक्रिया