राजनीति


कोरोना रोकथामबारे आज सार्क राष्ट्रबीच भिडियो संवाद, ओली सहभागी हुने

कोरोना रोकथामबारे आज सार्क राष्ट्रबीच भिडियो संवाद, ओली सहभागी हुने

नेपालखबर
चैत २, २०७६ आइतबार ३:१२,

कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि साझा रणनीति बनाउन आज (आइतबार) नेपालसहित सार्क राष्ट्रहरूबीच भिडयो संवाद (कन्फरेन्स) हुने भएको छ।

अपराह्न ५ बजे हुने भिडियो कन्फरेन्समा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली नै सहभागी हुने भएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको एक्सन रुमबाट प्रधानमन्त्री ओली भिडियो संवादमा सहभागी हुनेछन्।

प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिगौला प्रत्यारोपण गरेर १२ दिनपछि शुक्रबार साँझ मात्र सरकारी निवास बालुवाटार फर्केका हुन्।

उनले शनिबार नै बालुवाटारमा विभिन्न राजनीतिक भेटघाट गरिसकेका छन्।

यस्तै भारतका तर्फबाट भिडियो कन्फरेन्समा प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुने भारतका विदेश मन्त्रालयका रविश कुमारले जानकारी दिएका छन्।

शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै ट्विमार्फत महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न सार्कले संयुक्त पहल गर्नुपर्ने भन्दै साझा रणनीति बनाउन प्रस्ताव राखेका थिए।

उनको प्रस्तावलाई नेपालका तर्फबाट प्रधानमन्त्री ओलीसहित सबै राष्ट्रले मोदीको प्रस्तावमा समर्थन जनाएका छन्।

सार्क राष्ट्रमा नेपाल, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, र श्रीलंका छन्।

आज हुने भिडियो संवादमा कोरोना भाइरस संक्रमणको असर र रोकथामका प्रयाससम्बन्धमा सार्क राष्ट्रका प्रमुखहरूबीच छलफल हुनेछ।

कोरोना संक्रमणबाट अहिलेसम्म भारतमा ८२ जना संक्रमित भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ। नेपालमा १ जना संक्रमित भेटिए पनि उपचारपछि उनी निको भइसकेका छन्।

त्यसयता परीक्षण गराएका कसैमा पनि यो संक्रमण नपाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

भारतमा बाहेक अहिलेसम्म अन्य सार्क मुलुकमा कोरोना भाइरसका कारण मृत्यु भएको छैन।

सार्क ५ वर्षदेखि अवरुद्ध छ। २०७१ सालमा १८औं शिखर सम्मेलनपछि शिखर सम्मेलन हुन सकेको छैन।

आइतबार हुने भिडियो कन्फरेन्सलाई सार्क ब्युँताउने रणनीतिका रूपमा लिइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad