छापा खबर


यसकारण जोखिमपूर्ण छ कोटेश्वर-कलंकी सडकमा बेलुकीको यात्रा

यसकारण जोखिमपूर्ण छ कोटेश्वर-कलंकी सडकमा बेलुकीको यात्रा

नेपालखबर
चैत २, २०७६ आइतबार ३:८,

फराकिलो, स्तरीय र सुन्दर। कुनै विकसित देशको भन्दा कम राम्रो देखिँदैन। हो, यो चक्रपथको कोटेश्वरदेखि कलंकीसम्मको सडकको बयान हो। त्यसको दृश्य यस्तै मनमोहक देखिन्छ।

अझ नेपालमै पहिलोपटक बनेको भनिएको कलंकीको अन्डरपासले ध्यान तानिरहेकै छ। तर यस्तो सुन्दर देखिने फराकिलो र स्तरीय सडकभित्र जोखिमको कहर भने लुक्न नसकेको खबर आजको समाचारपत्र दैनिकमा सुरेश तामाङले लेखेका छन्।

चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको यस सडक खण्डमा सुरक्षाका लागि चाहिने आधारभूत वस्तुहरू जेब्राक्रस रेखा, डिभाइडर, आकासे पुल, ट्राफिक संकेत, ट्राफिक लाइट, फुटपाथ आदि नबन्दा जोखिम बढेको बढै छ।

छ वटाभन्दा बढी मुख्य चोक रहेको यस सडक खण्डको कोटेश्वर, बीएन्डबी र धोबीघाटमा चीनले आकाशे पुल बनाइदिएको हो। यातायात विज्ञ आशीष गजुरेलले उक्त सडक खण्ड पैदलयात्री मैत्री नभएको बताउँदै भने, ‘त्यहाँ सुरक्षित क्रसिङको व्यवस्था नभएकाले त्यसलाई सुरक्षित भन्न सकिँदैन। किनकि सडक खुला र फराकिलो भए पनि क्रसिङ र जेब्राक्रसिङ उपयुक्त नभएकाले धेरै सुधार गर्नुपर्ने देखिन्छ।’

चिनियाँ ठेकेदार कम्पनी सांघाई ग्रुपले विस्तार गरेको १० किमि भएको यस सडकमा दिउँसोभन्दा साँझ र बेलुका यात्रा गर्न जोखिम बढेको पाइएको छ। सडक छेउमा बत्ती नहुँदा रातको समयमा सवारी चालकदेखि पैदलयात्री जोखिममा परेका छन्।

गएको वर्षको माघमा सरकारलाई हस्तान्तरण भएको उक्त सडक खण्ड चार वर्षमा सम्पन्न गर्ने भनेर सन् २०१३ मा चिनियाँ ठेकेदारले विस्तार थालेको थियो। सडक सुरक्षाको विषयमा व्यापक कुरा उठेपछि सडक विभागले अध्ययन गर्न एक समिति बनाएको थियो। समिति गठन भएको एक वर्ष बिते पनि हालसम्म सडकको सुरक्षामा सुधार आएको देखिँदैन।

तर, सडक विभागका महानिर्देशक केशव शर्माले सडक सुरक्षामा ध्यान दिँदै चक्रपथमा कामहरू गरिरहेको दाबी गरे। ‘ग्वार्को, सातदोबाटो, एकान्तकुना, महालक्ष्मीस्थान, बल्खु, सानेपामा आकाशे थप पुल बनेको बताउँदै भन्नुभयो– ‘जेब्राक्रसको रेखा बनाउनेलगायत सडक सुरक्षामा ध्यान दिएका छौँ। त्यहीअनुसार काम भइरहेको छ,’ उनले भने।

यद्यपि, ग्वार्को, सातदोबाटो, एकान्तकुनाबाहेक अन्य स्थानमा अझै आकाशे पुल निर्माण हुन सकेको छैन। सडकको मुख्य लेन छुट्याउन सडकका बीचमा कोरिएको रेखासमेत मेटिइसकेको छ भने धेरै स्थानको जेब्राक्रसको रेखा खुइलिइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad