दोस्रो चरणको आन्दोलननको स्वरुप तय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले को केन्द्रीय समिति बैठक पनि आज बस्दैछ।
बुधबार दिउँसो तीन बजेको लागि बैठकको सयम निर्धारण गरिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
‘यही मंसिर ८ गतेदेखि हामी दोस्रो चरणको आन्दोलनमा जाँदैछौँ। काठमाडौँमा प्रदर्शन र सभा गरेर दोस्रो चरणको आन्दोलन सुरुवात हुनेछ,’ झाले नेपालखबरसँग भने, ‘दोस्रो चरणको आन्दोलनको मोडालिटी तय गर्न आज बैठक राखिएको हो।’
यस विषयमा छलफल गर्न मंगलबार पनि रास्वपाको बैठक बसेको थियो। तर, हिजोको बैठकले कुनै निर्णय गरेको छैन।
पूर्व गृहमन्त्रीसमेत रहेका पार्टी सभापति रवी लामिछानेलाई प्रहरीले सहकारी ठगी आरोपमा पक्राउ परेपछि संसदको चौथो ठूलो दल रास्वपा अहिले आन्दोलनमा छ।
८ गतेबाट सुरु हुने दोस्रो चरणको आन्दोलनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा आजको बैठकले निर्णय गर्ने प्रवक्ता झाले बताए।
‘हाम्रा सभापतिलाई आरोप लागेपछि कानुनी प्रक्रिया अघि बढाउन पाइन्छ, तर हिरासतमै राखिरहनुपर्ने बाध्यकारी अवस्था छैन,’ झाले भने, ‘हिरासत बाहिर राखेर पनि कानुनी कारबाही अघि बढाउन सकिन्थ्यो भन्ने हाम्रो भनाई हो। आफ्नो दलका मान्छेलाई केही नगर्ने तर हामीलाई मात्रै आक्रमण गर्नु राजनीतिक प्रतिशोध नै हो।’
अन्य पार्टीका साथीहरुले पनि रास्वपाको आन्दोलनमा ऐक्यवद्धता जनाउने प्रतिवद्ध व्यक्त गर्न थालेको उनले बताए।
लामिछाने पक्राउको विरोधमा रास्वपाले मंगलबार साँझ ७ बजे खबरदारी घण्टी बजाएको छ। रास्वपाले आफ्नो घरमा र सम्भव हुने टोलको चोकमा जम्मा भई मंगलबार साँझ ७ मिनेट घन्टी बजाउन आह्वान गरेको थियो।
Shares

प्रतिक्रिया