तीनवटा सहकारी ठगी आरोपमा पक्राउ पुर्जी जारी भए पनि सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराललाई प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन।
उनीविरुद्ध सुप्रिम, नाता र स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको हो।
तर उनी अहिले पनि गाउँपालिकाकाे उपाध्यक्षका रूपमा निर्धक्क सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका छन्।
हिजो मंगलबार मात्र उनी फिक्कल-३ स्थित प्रकाशोदय माविको अभिभावक भेलामा सहभागी भएका छन्। उनी आफैँले सामाजिक सञ्जालमा त्यसको तस्बिर राखेर जानकारी दिएका छन्।

बराल नेकपा एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष हुन्। उनी मुछिएको स्वर्णलक्ष्मी सहकारीले १ अर्ब ११ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोप छ।
यस विषयमा जिज्ञासा राख्दा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, एसपी नवराज अधिकारीले नेपालखबरसँग भने, ‘त्यस्तो हो भने म बुझेर तुरुन्त कारबाही अघि बढाउँछु।’
Shares

प्रतिक्रिया