राजनीति


स्वर्णिम वाग्लेसहित रास्वपाका केन्द्रीय नेताहरूविरुद्ध सर्वोच्चमा मुद्दा

स्वर्णिम वाग्लेसहित रास्वपाका केन्द्रीय नेताहरूविरुद्ध सर्वोच्चमा मुद्दा

फाइल तस्बिर: रास्वपा उपसभापति स्वर्णिम वाग्ले


नेपालखबर
कात्तिक २९, २०८१ बिहिबार १३:२८, काठमाडौँ

उपसभापति स्वर्णिम वाग्लेसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय नेताहरूविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ।

सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान भइरहेका बेला रास्वपाले गरेको आन्दोलनले अदालतको अवहेलना भएको दाबी गर्दै सर्वोच्चमा मुद्दा दर्ता गरिएको हो।

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको निवेदनमा उपसभापति वाग्लेसहित कार्यवाहक प्रवक्ता मनीष झा, सुमना श्रेष्ठ, विराजभक्त महर्जन, तोसिमा कार्की, सोबिता गौतमलगायत रास्वपा सांसदलाई विपक्षी बनाइएको छ। 

निवेदनमा अनुसन्धान चलिरहेका बेला अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको आरोप लगाइएको छ। 

उक्त निवेदनमा सुनुवाइ गर्न मंसिर ३ गतेका लागि पेसी तोकिएको छ।

कात्तिक १४ गते सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरेको उक्त निवेदनका विषयमा निवेदक भट्टराईले कात्तिक २१ गते इजलासमा निवेदन दिएपछि पहिलो सुनुवाइ गर्दै न्यायाधीश शर्माको इजलासले दरपीठ बदर गरिदिएको थियो। त्यसपछि सो मुद्दा दर्ता भएको हो।

पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने हाल रुपन्देहीमा छन्। त्यहाँको बुटवलस्थित सुप्रिम सहकारी ठगी अनुसन्धानका लागि गत मंगलबार उनलाई पोखराबाट रुपन्देहीको भैरहवा पुर्‍याइएको हो। त्यहाँ जिल्ला सरकारी वकिलको कार्यालयमा आज तेस्रो दिन पनि उनीसँग बयान लिने क्रम जारी छ।   

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरण अनुसन्धानका क्रममा कास्की जिल्ला प्रहरीको हिरासतमै रहेका बेला उनलाई भैरहवा लगिएको हो।  कास्कीमा भने उनको बयान लिइसकिएको छ। 

सूर्यदर्शन सहकारी ठगी आरोपमा यही कात्तिक २ गते काठमाडौँमा पक्राउ गरी लामिछानेलाई पोखरा पुर्‍याइएकै दिनदेखि रास्वपाले पोखरालगायत स्थानमा विरोध प्रदर्शन गरिरहेको छ। यसका नेताहरूले आफ्ना सभापति लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा गिरफ्तार गरिएको आरोप लगाइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad