नेपाली कांग्रेसका नेताहरूलाई १५ औँ महाधिवेशन लागिसकेको छ।
सभापतिमा उठ्ने तयारीमा रहेका नेता जिल्ला पुगेर गतिविधि गर्न थालेका छन्। जिल्ला, क्षेत्रीय सभापति, महासमिति सदस्य र केन्द्रीय सदस्यसँग भेटघाट बाक्लो बनाएका छन्।
आक्रामक प्रचार गरिरहेका नेतामा पर्छन्– शेखर कोइराला।
१४ औँ महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित भएका उनले १५ औँ महाधिवेशनका लागि तयारी गरिरहेको उनी निकट बताउँछन्।
आफ्नै समूहबाट महामन्त्री निर्वाचित भएका गगन थापाले पनि सभापतिमा तयारी गरेपछि कोइरालाले आफ्नो रणनीति फेरबदल गरेका छन्। पार्टीका सबै पक्ष र समूहलाई समेट्ने योजनासाथ काम गरिरहेको नेताहरू बताउँछन्।
२०८२ भित्र महाधिवेशन सम्पन्न गर्न उनले सभापति देउवालाई दबाब पनि दिएका छन्।
कांग्रेसमा सभापति देउवा समूह बलियो छ। त्यसपछि कोइराला नै छन्। तर, कोइराला परिवारमा पनि शेखर, शशांक र सुजाता एकै ठाउँमा देखिएका छैनन्। शशांकले आफैँ उठ्ने बताइरहेका छन्। यद्यपि, उनको आफ्नै समूह देखिँदैन।
गिरिजाप्रसाद कोइरालाकी छोरी भएकोले सुजातासँग केही नेता छन्। जसले महाधिवेशनमा केही भरथेग गर्न सक्छन्।
महामन्त्री थापाको आफ्नै समूह छ, त्यसमाथि देउवाकै साथ लिएर सभापति उठ्ने उनको योजना देखिन्छ। त्यसकै लागि उनले कोइराला समूह छोडेका छन्।
तर, गगनलाई शेखरकै पक्षबाट उठाउन केही नेताले जोडबल गरिरहेका छन्।
यी सबै पार्टीभित्रको अंकगणित विश्लेषण गरिरहेका कोइराला यसपटक हार टार्नेगरी महाधिवेशन प्रचार–प्रसारमा रहेको उनी निकटस्थहरूको भनाइ छ।
‘उहाँले अघिल्लो महाधिवेशनमा ४० प्रतिशत मत ल्याउनु भएको हो, १५ औँको तयारी फरक किसिमले भइरहेको छ,’ कोइरालालाई सघा रहेका एक नेताले नेपालखबरसँग भने, यसपटक लचक भएर आफ्नो गुट र समूहभन्दा माथि उठेर सबैतिरका साथीलाई समेट्नेगरी काम भइरहेको छ।’
त्यसअनुसार उनले १४ औँ महाधिवेशनमा आफ्नो पक्षमा रहेर साथ दिएका नेताबाहेक अन्य समूहतिर पनि आँखा लगाइरहेका छन्।
‘हामीलाई ४० प्रतिशत मतबाट ६० प्रतिशत पु¥याउनु छ, जित्न त ५१ प्रतिशत ल्याए पुग्छ तर, कम्फर्टेबल हुनुप¥यो नि!’ ती नेताले थपे, ‘यसपटक बिल्कुल नयाँ रणनीति बनाएर खटिएका छौँ।’
निकटहरूका अनुसार देउवा प्यानलकै केही पदाधिकारी कोइरालासँग नियमित सम्पर्कमा छन्।
‘सभापति देउवाकै समूहमा रहेका केही साथीहरूले अबको सभापति शेखर हो भनेर भन्न थाल्नुभएको छ, सचिवालयमा चाप हेर्दा त्यो पुष्टि हुन्छ,’ एक केन्द्रीय सदस्यले भने, ‘कुनै समूहका नेताप्रति पनि अनुदार नहुने उहाँको नीति छ।’
चुनावमा पाएको ४० प्रतिशत मतले हौसिएका कोइरालाले त्यही बेला १५ औँ महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा गरेका थिए। तर, आफ्नै समूहबाट महामन्त्री बनेका थापाले पनि सभापति उठ्ने सार्वजनिक गरेपछि कोइराला जिल्ला दौडमा निस्किएका हुन्।
यसपटक उनी ३७ जिल्लाका विभिन्न कार्यक्रममा पुगिसकेका छन्। यस्तै, काठमाडौँमा रहेका बेला पनि शुभेच्छुक र भातृ संस्थाको कार्यक्रममा उनी पुगेका छन्।
‘मुख्य कुरा अबको महाधिवेशनमा दबाब नहोस्, साथीहरूबीचमा रहेका गुनासा बाँकी नराखौँ भन्ने जोड हो। त्यसकै लागि भ्याए र सम्भव भएका ठाउँमा पुग्नुहुन्छ, साथीहरू भेट्नुहुन्छ, ताकि कोही कसैले उहाँले सहयोग गर्नुभएन भनेर महाधिवेशनमा बिच्किने अवस्था नरहोस्,’ ती नेताले थपे।
कांग्रेस–एमाले गठबन्धनले जनताको पक्षमा काम गर्न नसकेको, दुई प्रतिस्पर्धी र ठूला दल मिलेर पनि जनतामा आशा जगाउन नसकेको टिप्पणी उनले गरिरहेका छन्।
सभापति देउवालाई पनि नचिढ्याउने उनको योजना देखिन्छ। सोही कारण सरकारको आलोचना गरे पनि देउवाको विपक्षमा उनले प्रतिक्रिया नजनाएको कोइरालाका पक्षीय नेता दाबी गर्छन्।
सांसद र शक्तिशाली भएर पनि कार्यकर्ताको काम नगरिदिएको, संरक्षण नगरेको जस्ता कुराले उनीप्रति नेताहरू असन्तुष्ट छन्। सोही कारण अघिल्लो महाधिवेशनमा परिणाम राम्रो हुन नसकेको स्वीकार गर्दै कोइराला कसैलाई पनि असन्तुष्ट नबनाउने योजनामा छन्।
‘धेरै मत भएका जिल्ला र प्रदेश तथा नेतालाई साथमा लिन हरतरहको कोसिस भइरहेको छ,’ कोशी प्रदेशका एक नेताले भने, ‘हिजो मत लिन नसकेका साथीहरूसँग नयाँ सम्बन्ध विस्तार हुनेछ।’
देउवा समूह बलियो भएको ठाउँ र कोइराला कमजोर भएका ठाउँ हेरेर उनले कार्यक्रम गर्ने उनीहरू बताउँछन्।
‘सुदूरपश्चिमबाट आफ्नो पक्षका मत बढाउन, मधेसका मत एकत्रित गर्न र केही जिल्ला र क्षेत्रमा विशेष संयन्त्र बनाएर खटिने तयारी छ,’ ती नेताले थपे।
समूह नबनाउने
कोइरालाले पहिले नै समूह बनाएर प्रचार नगर्ने भएका छन्। अधिवेशनकै समयमा सबैतिरका नेतालाई तान्नको लागि त्यस्तो योजना बनाएको उनीनिकटहरू बताउँछन्।
यद्यपि, कोइरालाको पक्षमा माहोल बनाउन सानो टिम खटिइसकेको छ।
‘कतिपय कुरा अधिवेशनतिर मात्र निक्र्याैल हुन्छ,’ एक केन्द्रीय सदस्यले भने, ‘समीकरण कुन बेला बदलिन्छ थाहै हुँदैन। शेखर कोइराला सभापतिमा उठ्ने कुरा प्रष्ट रहेको सन्देश पार्टीका सबैले पाइसक्नुभएको छ, उहाँको मुभमेन्ट पनि त्यही अनुसार छ,’ उनले भने।
केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले कोइरालाले जिल्लामा नेता/कार्यकर्ता भेटघाट सुरु गरेको बताए।
‘अब मंसिरबाट उहाँको गतिविधि सुरु हुन्छ,’ उनले भने, ‘विभिन्न प्यानलमा रहेका साथीहरूसँग सरसल्लाह गरिरहनुभएको छ। महामन्त्री गगनजीसँग पनि उहाँको संवाद भइरहेको छ। मिलेर महाधिवेशनमा जानसक्ने कुरा भएको पनि छ।’
अर्का केन्द्रीय सदस्य बलबहादुर केसीले पनि कोइरालाले राजनीतिक भेटघाट गरिरहेको बताए।
‘उहाँ घुम्न र साथीहरू भेट्न थाल्नुभएको छ। कतिपय साथीसँग टेलिफोनमै पनि संवाद हुन्छ,’ उनले भने।
Shares

प्रतिक्रिया