सत्तारुढ नेकपा एमालेका सचिव योगेश भट्टराईले आफूलाई सिंह वा ठूलो ठान्दा कुरा बिग्रने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्र्द टिप्पणी गरेका भट्टराईले दम्भी र घमण्डी बन्न नहुने सुझाव समेत दिएका छन्।
‘जब मानिसले आफूलाई सिंह ठान्छ, तब कुरा बिग्रन्छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘उसले मानिसको मौलिक चरित्र गुमाउँछ। अनि उ दम्भी र घमण्डी बन्छ। हिंस्रक बन्छ। कमजोरमाथि जाइलाग्छ। नियम कानुन मान्दैन। अरुको अस्तित्व अस्वीकार गर्छ।’
सहकारी ठगीको आरोपमा पक्राउ परेका रविलाई मंगलबार बयानका लागि रुपन्देही लगिएको थियो। त्यहाँको जिल्ला अदालतमा बयान दिएर निस्कदै गर्दा रविले बाघलाई खोरमा थुने पनि स्याल नबन्ने अभिव्यक्ति दिएका थिए।
एमाले सचिव भट्टराईले लोकतन्त्रले यस्तो अभिव्यक्ति र चरित्रलाई अस्वीकार गर्ने बताएका छन्। ‘लोकतन्त्रले यो चरित्रलाई अस्वीकार गर्छ, त्यसैले मान्छेलाई अझ राम्रो मान्छे बनाऊ। सिंहलाई सिंह कै रूपमा रहन दिउ...। नबिगारौं।’
Shares

प्रतिक्रिया