राजनीति


सभापतिको कुर्सी ताकेर देउवासँग ‘केमिस्ट्री’ मिलाउँदै गगन

सभापतिको कुर्सी ताकेर देउवासँग ‘केमिस्ट्री’ मिलाउँदै गगन

सागर न्यौपाने
कात्तिक २३, २०८१ शुक्रबार २०:४६, काठमाडौँ

नेपाली कांग्रेसको २०७८ मंसिरमा भएको १४ औँ महाधिवेशनमा डा. शेखर कोइराला सभापतिमा पराजित हुँदा महामन्त्रीमा गगन थापा निर्वाचित भए।

सभापतिमा शेरबहादुर देउवा दोहोरिँदा गगन पहिलोपटक पदाधिकारी बन्न सफल भएका थिए। फरक समूहबाट जितेको हुनाले शेरबहादुरसँग भन्दा शेखरसँग गगनको कुरा मिल्थ्यो। त्यही भएर थापाले उनैसँग राजनीतिक छलफल गर्थे।

केही विषयमा शेखर र गगन मिलेर सभापति देउवालाई र्‍याखर्‍याख्ती पनि पारे। पार्टीमा देउवाले एकल निर्णय गर्न नसक्ने स्थिति उनीहरूले पैदा गरे। तर, शेखर र गगनको यस्तो खालको सहकार्य लामो समय चलेन।

केही महिनायता गगन शेखरसँग टाढिएको कोइराला पक्षीय नेताहरू बताउँछन्। यसले कांग्रेसभित्रको राजनीति गर्माउन थालेको चर्चा पनि नेता–कार्यकर्ता गर्छन्।

खासगरी १५ औँ महाधिवेशनमा सभापति उठ्ने घोषणा गरिसकेकाले गगनले शेखरको साथ छोडेको हुनसक्ने उनीहरूको अनुमान छ।

‘अढाई महिना भयो, महामन्त्री गगन थापा शेखर दासँग ‘पोलिटिकल डायलग’मा हुनुहुन्न,’ कोइराला पक्षीय एक नेताले नेपालखबरसँग भने, ‘बरु उहाँ पार्टी सभापतिसँग नजिकिनु भएको देखिन्छ।’

थापाले सभापतिमा उठ्ने घोषणा गरिसकेका छन्। कोइराला समूहमै रहँदा उनलाई सभापति उठ्न सम्भव छैन। किनकि शेखरले आफू पनि उठ्ने बताउँदै आएका छन्। 

‘शेरबहादुर देउवाको उत्तराधिकारी बन्न पाइन्छ कि भनेर हुनसक्छ, गगनजीले यता भेटघाट र संवाद गर्नुभएको छैन,’ ती नेताले थपे।

देउवाले गरे पहल
महाधिवेशनपछिको डेढवर्ष देउवाले गगन–शेखर गठबन्धनमा कुनै बाधा पार्न खोजेनन्। महामन्त्रीका रूपमा पनि गगनलाई पनि स्वतःस्फूर्त काम गर्न दिएको उनी निकट नेताहरू दाबी गर्छन्। 

‘पार्टी सभापतिले अनावश्यक कुनै हस्तक्षेप गर्नुभएन,’ प्रवक्ता समेत रहेका नेता डा. प्रकाशशरण महतले भने।

तर, २०८० जेठ अन्तिम साताबाट देउवाले आफ्नो चाल बदले र शेखरसँगको दूरी छोट्याउने प्रयास सुरु गरे। सोही अनुसार भक्तपुरसहित केही पार्टी कार्यक्रममा शेखरसँग एउटै मञ्चमा देखिए। २५ औँ वरीयतामा रहेका कोइरालालाई वरिष्ठ नेता दिन पनि तयार भए। 

यससँगै शेरबहादुर–शेखर सम्बन्ध सुध्रिएको र आगामी महाधिवेशनमा उनले शेखरलाई सहयोग गर्ने अड्कल काट्न थालियो। 

पार्टी संगठन हाँकिरहेका र देशभर सम्बन्ध विस्तार गरेका  महामन्त्री गगनले यो कुरा थाहा नपाउने कुरै भएन। त्यसपछि उनले देउवाको विश्वास जित्ने प्रयास सुरु गरे।

सहकारी प्रकरणमा ठगी गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध निरन्तर आवाज उठाउने गगन नै हुन्। संसदीय छानबिन समितिबाट रवि दोषी ठहर भए। यस प्रकरणपछि देउवालाई गगनको सूचना संयन्त्र बलियो लागेको कांग्रेस नेताहरू बताउँछन्।

‘डे वानदेखि सभापति र महामन्त्रीबीच नङ र मासुको सम्बन्ध हुनुपर्ने हो। तर, फरक प्यानलबाट निर्वाचित भएर आएका सभापति र महामन्त्री भएको हुनाले उहाँहरूमा निर्वाचनकै धङधङी रह्यो मध्यान्तरसम्म। अब त आधा कार्यकाल सकियो। तत्पश्चात उहाँहरूले महसुस गर्नुभएको जस्तो लाग्छ,’ देउवानिकट एक नेताले नेपालखबरसँग भने, ‘बिदा हुन लागेका सभापतिसँग धेरै टसल गरेर, विवाद गरेर जानुभन्दा उहाँहरूसँग मिलेर र सहकार्य गरेर अघि बढ्नु ठीक हुन्छ भन्ने बुझाइ भएपछि अहिले सभापति र महामन्त्रीहरू पार्टी हित र संगठनका लागि विमति नराखीकन अधिकांश विषयमा सहमतिमा काम गरिरहनुभएको छ।’

एमालेसँग गठबन्धन बनेपछि भदौ २३ गते सरकारको न्युनतम् साझा कार्यक्रम बनाउन गठन भएको कार्यदल र कात्तिक २१ गते बनेको दुई दलीय संयन्त्रमा गगनलाई भूमिका दिइएको छ। 

गगनको ‘उत्ताउलोपन’ हटेकाले देउवाले उनलाई विश्वास गर्न थालेको देउवानिकटस्थहरूको दाबी छ।

‘महामन्त्रीमा पनि परिपक्वता बढ्दै गयो। त्यसैले सभापतिले जे भए पनि महामन्त्री हो, विश्वास गर्नुपर्छ, गगनजीमा विगतमा रहेको उत्ताउलोपन हटिसकेकोले जिम्मेवारी बहन गर्न सक्छन् भनेर विश्वासको तह बढाउँदै लानुभएकै हो,’ अर्का नेताले भने। 

गगनपक्षीय नेताहरू भने पार्टी संगठन नै चल्न नसक्ने भएपछि सभापति मिल्न आएको बताउँछन्।

‘पार्टीलाई चलायमान गराउन पर्‍यो। सरकारलाई गति दिनुपर्‍यो। बाहिर सल्लाह सुझाव दिन सक्ने, एक्सनमा जान सक्षम गगन थापा नै हो,’ एक केन्द्रीय सदस्यले भने, ‘सभापतिजीलाई मिल्नुपर्छ भन्ने लागिसकेपछि महामन्त्रीले सहयोग त गर्नैपर्‍यो।’

कांग्रेसलाई बलियो बनाउन दुई नेताहरू मिलेको दुवै पक्षका नेताहरू बताउँछन्। तर, यसमा देउवाकै भूमिका महत्वपूर्ण रहेको थापा पक्षका नेताको भनाइ छ।

‘पार्टी नेतृत्वले महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पहिले नै मिलाएर लैजानुपथ्र्याे, तर पहिला प्रयास भएपछि विभिन्न चरणमा पुगेर रोकिएको थियो,’ थापा पक्षका अर्का नेताले भने, ‘अहिले दुवैजना एकै ठाउँमा हुनुहुन्छ, यसलाई सकारात्मक रूपमा लिएका छौँ।’

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति र महामन्त्री मिल्न आवश्यक रहेको बताए। 

‘यो आवश्यक पनि थियो, भइपनि राखेको छ’ उनले भने। 

देउवाको आशीर्वाद पाउने होड
पार्टी, संगठन भनेर मात्र गगनले देउवासँग लय मिलाउन थालेका होइनन्। उनको नजर देउवा आसीन सभापतिको कुर्सीमा छ। 

तर, उनलाई महाधिवेशनमा सभापतिमा उठ्न बलियो भरथेगको आवश्यकता छ। त्यो भर दिने शक्ति देउवासँगै छ।

‘अबको सभापति, जसले देउवासँग नजिक भएर आफूलाई प्रमाणित गर्न सक्छ र उहाँको आशीर्वाद लिन सक्छ, उसैले जित्ने भएको हुनाले सभापति देउवाको आशीर्वादका लागि दोस्रो तहका सबै नेता प्रतिस्पर्धामा हुनुहुन्छ,’ देउवा निकट एक नेताले भने, ‘फरक क्याम्पबाट निर्वाचिन महामन्त्री गगनजी पनि अहिले सभापतिको विश्वासिलो महामन्त्रीको रूपमा रहनुभएको छ। यसले उहाँलाई सभापति उठ्छु भन्दा त्यसले फाइदै पुगेको उहाँले पनि महसुस गर्नुभएको छ, हामीले त्यो अनुमान गरेका छौँ।’

कांग्रेसमा शेखर कोइराला फेरि उठ्ने निश्चित छ। उपसभापति भएको हुनाले पूर्णबहादुर खड्काको दाबी स्वाभाविक हुने नै भयो। 

‘देउवाले आशीर्वाद कसलाई दिनुहोला, त्यो पछिको कुरा भयो, तर नजिकिने होडबाजी राम्रै छ,’ ती नेता भन्छन्।

भदौयता देउवाले थापालाई महत्त्वपूर्ण जिम्मेवारी मात्र दिएका छैनन्, उनको पक्षमा खुलेर बोलेका पनि छन्। यस्तै, थापाले पनि देउवालाई खुलेर सहयोग गरेका छन्। 

कांग्रेसका प्रवक्ता महत देउवा–थापा निकटता नौलो नभएको बताउँछन्।

‘महामन्त्रीको हैसियतले जे काम गर्नुपर्ने हो, त्यो काम गर्न उहिल्यैदेखि सभापतिले छुटै दिनुभएको छ। कति गर्ने÷नगर्ने भन्ने कुरा उहाँको आफ्नो क्रियाशीलतामा भर पर्ने हो। कुन अथोरिटीका साथ कसरी आफूलाई प्रस्तुत गर्नुहुन्छ, आम पार्टी पंक्तिले बुझ्ने कुरा हो,’ महतले भने, ‘हाम्रो पार्टी सभापति त्यसै उदार हुनुहुन्छ। पार्टीको कुनै काम गर्दा अनावश्यक हस्तक्षेप गर्ने वा किन गरिस् भन्ने उहाँको स्वभाव छैन।’

संयन्त्रहरूमा राख्दा जिम्मेवारी र पदीय हैसियतले गरिएको उनी बताउँछन्।

‘पहिला चाहिँ टाढा अहिले नजिक त्यस्तो केही देखेको छैन,’ महतले थपे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad