ad ad

विचार


अब गगन थापा

अब गगन थापा

सन्जय घिमिरे
जेठ ७, २०८१ सोमबार १९:१५, टेक्सस (अमेरिका)

सन् २०१९, अप्रिल महिनाको कुनै एक दिन। 

अमेरिकाको प्रसिद्ध विश्वविद्यालय हार्वडको कुनै एक कुनामा विभिन्न देशका राजनीतिक नेता, राष्ट्रपति, धनाढ्य र विज्ञका आँखामा एकाएक पट्टी बाँधियो।दिमाग भने खुला छोडिएको थियो। 

समय डिनरको थियो। नाम दिइएको थियो – डिनर इन दि डार्क। अर्थात् अँध्यारोमा रात्री भोजन। 

आफ्नो डिनर टेबलमा अरु को–के हैसियतका मान्छे डिनर गरिरहेका छन्, एकअर्कालाई थाहा थिएन। कुरा चाहिँ भए– सुशासनका, समृद्धिका। 

यो मान्छेसँग मैले यस्तो कुरा गर्नु पर्छ भन्ने ‘प्रि–अकुपाइड’ चेतको कुनै गुन्जाइस थिएन त्यहाँ। को मान्छेसँग कुरा गरिरहेको छु भन्ने थाहा नभएपछि, राजनीतिका आग्रह वा पूर्वाग्रह हुने कुरा पनि भएन। यो असाध्यै, दार्शनिक डिनर थियो। 

त्यहाँ त्यस रात नेपालका एकजना उम्दा नेता पनि डिनर गरिरहेका थिए– आँखामा पट्टी बाँधेर।

नेता थिए– गगन थापा। 

गज्जब। 

त्यस डिनरपछि गगन हार्वडकै लाइब्रेरीको कुनै एउटा कुनामा बसेर कसैलाई भनिरहेका थिए– मलाई आज धेरै कुरा थाहा रहेनछ भनेर थाहा भैरहेको छ। 

आजको दुनियाँमा यो दुर्लभ स्वीकारोक्ति हो। 

मैले आजसम्म जीवनमा कमै यस्ता मान्छे भेटेको छु, जसले आफूलाई धेरै कुरा थाहा छैन भन्ने कुराको साँच्चिकै बोध गर्छ। नेपाली राजनीतिका नेताहरू त उस्तै परे आफूलाई ‘गुगलका पनि बा’ सम्झन्छन्, थाहा छैन भन्ने कुरा त टाढाको कुरा। 

हो, तिनै गगन थापा, जसले हार्वडमा कुनै कुनामा आँखामा पट्टी बाँधेर तर दिमाग खुला गरेर अँध्यारोमा भोजन र गफ गरिरहेका थिए, म आज तिनैबारे लेख्दैछु।

केही साताअघि टाढाबाट लेखेको थिएँ– हार्दै गएको देश र नेपाली लोकतन्त्रमाथि। र, वाचा गरेको थिएँ– हार्दै गइरहेको नेपाली लोकतन्त्रलाई जिताउन सक्ने एउटा सम्भावित पात्रमाथि लेख्ने।

पात्र त मेरो दिमागमा पहिले नै थिए– गगन थापा। पात्र खासमा नौलो पनि होइन। तर वाचा सार्वजनिक गरेपछि मैले अर्कै खालको दबाब महसुस गरेँ। पटकपटक सोचेँ– के म सही लेख्दैछु? मैले भनेकै पात्र किन सही? के अरु त्यस्तो पात्र छैन? 

कहिले मनले दिमागलाई, कहिले दिमागले मनलाई प्रश्न गरिरह्यो– के म सही लेख्दैछु? 

यो बीचमा अनेक मान्छेका कुरा सुनेँ। पात्रकै अर्थात् थापाका पनि पुराना, नयाँ, अनेक सन्दर्भ, अन्तर्वार्ता र शैलीहरूको फेरिफेरि जाँचपड्ताल गरेँ। यो समय, गगन थापामाथि लेख्ने सही समय हो वा होइन भन्ने पनि लागिरह्यो। 

तर जब सहकारी काण्डमा गगन र रविलाई आमने–सामने बनाउने चक्कर चल्यो, तब मलाई लाग्यो, यो ठिक समय हो गगनमाथि लेख्ने। 

उनीमाथि लेख्नुअघि नेपालका सन्दर्भमा मैले पहिले तीन निष्कर्ष निकालेँ :

एक– नेपालमा अहिलेको जस्तो लोकतन्त्र अब काम छैन। 

दुई– नेपाली लोकतन्त्र हार्दो छ। 

तीन– हार्दो नेपाली लोकतन्त्रलाई एकपटक जिताउन सक्ने अब एक मात्र खेलाडी हुन्– गगन थापा। 

ख्याल गर्नुस् है, मैले एकपटक जिताउन सक्ने भनेको छु। 

एक र दुई नम्बर बुँदामा सायद त्यति धेरै तर्क र बहसहरू नहुन सक्छन्। वा भए पनि त्यति धेरै विमतिहरू नहुन सक्छन्। तर मलाई थाहा छ– तीन नम्बर बुँदाका हकमा, किन र कसरी, किन गगन थापा मात्रै, जस्ता प्रशस्त प्रश्नहरू आउन सक्छन्। मलाई यो पनि थाहा छ– गगन भगवान होइनन्, जसको हातमा नेपाली लोकतन्त्रको सृष्टि र संहार दुवै छ। मलाई यो पनि थाहा छ– गगन थापा, ती ‘बा’ पनि होइनन्, जो हामी बच्चामा अरु कसैले गर्न नसकेको काम आफ्ना बाले गर्न सक्छन् भन्ने ठान्थ्यौँ। 

तर यति चाहिँ म आज ढुक्कसँग भन्दैछु– गगन थापा, जो आज एक मात्र यस्ता खेलाडी हुन्, जसले एक पटक नेपाली लोकतन्त्रको खेल जिताउने अन्तिम ताकत आजका दिनसम्म राख्छन्। 

यसका तर्क र कारणहरू म क्रमशः भन्दै जान्छु। 

लौ, सुरुमै भन्नु पर्ने एउटा ‘डिसक्लेमर’ त भन्नै बिर्सेछु। त्यो के भने आज जसमाथि लेख्दैछु, यो कसैको प्रभाव वा प्रेरणाबाट लेखिएको होइन। यसमा म बसेको देशको कुनै साइनो छैन। 

नेपाली चेत अलि बढी षड्यन्त्र देख्छ। नेपाली चेत आफ्नी छोरी नखरमाउली वा आफ्नो छोरा नखरमाउलो भएको कम, अरुको तन्नेरी छोरो वा तरुनी छोरी बिग्रेको बढ्ता देख्छ। यसैले मैले यति ‘डिसक्लेमर’ राखेँ। 

अब म ढुक्कसँग भन्दै जानेछु, किन गगन थापा? 

यो नठान्नुस् कि मैले खास आग्रहवश गगनको बारेमा लेख्दैछु। खासमा व्यक्तिगत रुपमा मेरो गगनसँग कुनै चिनजान छैन। गगन नेपाली कांग्रेसका हुन, यसकारण म उनलाई देखिरहेको छु, यो पनि होइन। 

इमानदारीपूर्वक भन्छु– मैले यो बीचमा गगनजस्तै मान्छे अन्त कतै, कुनै पार्टीमा पनि छन् कि भनेर पनि खोजेँ। खोज्नुअघि मैले केही आधारहरू बनाएको थिएँ।

आधारहरू थिए :

एक– नेपाली राजनीतिको भट्टीमा खारिएको। 

दुई– आफ्ना बोली, विचार र तर्कमा स्पष्ट। 

तीन– आजको देश–दुनियाँको कुरा बुझ्ने र बुझाउने क्षमता राख्ने। 

चार– युवा जोस र मनोविज्ञानसँग जोडिएको। 

पाँच– काम गर्ने शैली र तरिका कुनै विकसित देशको नेताको जस्तै।

यी पाँच आधारहरूको मैले एउटा चैतन्य सफ्टवेयर खडा गरेँ, जहाँ मैले नेपालमा अहिले चल्तीमा रहेका हरेक पार्टीका पहिलो, दोस्रो र तेस्रो तहसम्मका राजनीतिक नेता तथा कार्यकर्ताहरूको नाम राख्दै गएँ। 

त्यहाँ एउटा मात्र नाम पटकपटक ‘पप अप’ भइरह्यो– गगन थापा। मैले बनाएका आधारहरूको चेतनाको सफ्टवेरमा गगन किन पटकपटक ‘पप अप’ भए होलान् भन्ने कुराको व्याख्या अब म गर्नेछु। 

पहिले एक नम्बर आधारमा जाऊँ। 

आधार नम्बर एक– नेपाली राजनीतिको भट्टीमा खारिएको।

गगन थापा, यस्ता व्यक्ति हुन्, जसले राजासँग ‘हेट’को र गिरिजाप्रसाद कोइरालाजस्तो नेपाली राजनीतिको सबैभन्दा अनौठो पात्रसँग ‘लभ एन्ड हेट’को सम्बन्ध राखे। त्यो समयमा यो चानचुने कुरा थिएन। 

गिरिजाप्रसाद कोइराला, जसलाई भारतका प्रधानमन्त्री विमानस्थलमा स्वागत गर्न आफैँ पुग्थे। त्यो मान्छेसँग फुच्चे गगन वार कि पारका कुरा गर्थे। गिरिजाप्रसाद कोइरालाका मान्छे गगनलाई दरबारका मान्छेले चलाएका छन् भन्थे। तर गगनले सुरुताकै देखिनेगरी गणतन्त्र चाहियो भन्दै दरबारतिर फर्केर ढुंगा हाने। 

म जतिबेला नेपालमा पत्रकारितामा सक्रिय थिएँ र जहाँ सक्रिय थिएँ– त्यहाँ उतिबेला गिरिजाप्रसाद कोइरालाका नजिकका मान्छेहरू गगनको आरिस गर्थे। कतिपय म भएकै ठाउँसम्म भन्न आइपुग्थे– गगन, दरबारको फलानो (फलानो मान्छेको नाम जानीजानी नलिएको हो) बाट परिचालित मान्छे हो। यस्तै कुरा पटकपटक सुनेर पनि होला सायद नेपालमा हुँदा मैले मेरो पत्रकारिताको जीवनमा कहिल्यै गगनलाई भेट्ने कोसिस गरिनँ। एक हिसाबले बेवास्ता गरेँ।

पश्चाताप त होइन, तर एक खालको ‘रियलाइजेसन’ मलाई आज भइरहेको छ– मैले गगनलाई भेट्न छुटाएको रहेछु। 

भेट हुँदै गर्ला।

राजा र आफ्नै नेता गिरिजाप्रसाद कोइरालासँग लडेका गगनले कम्युनिस्ट नेताहरूसँग त कति लडे लडे। गगनसँग जत्तिको गणतन्त्र र लोकतन्त्रको सम्बन्ध सायदै आजका कुनै समकालीन नेतासँग जोडिएको छ। 

ऊ बेला गगन बनेर राजासँग आफ्नै पार्टीभित्र गिरिजाप्रसाद कोइरालाजस्ता नेताहरूसँग र कम्युनिस्ट भनिएकाहरूसँग वार कि पारका कुरा गर्नु र रुपनारायणजस्ता कम्युनिस्ट लडाकुहरूसँग मारमुंग्री गर्नु कम्ता सकस थिएन। ती सबै सकस बेहोरेका पात्र हुन् गगन। 

आज आफ्नै सभापति शेरबहादुर देउवासँग उसैगरी वार कि पारका कुरा गर्ने, एमालेका केपी ओलीसँग तर्कवितर्क गर्ने र प्रचण्डसँग आँखा जुधाएर कुरा गर्न सक्ने, अर्को कुनै इँट्टा नेपाली लोकतन्त्रको भट्टीमा मैले त गगनबाहेक दोस्रो देखेको छैन। 

गौर गरेर गगनका कुरा सुन्नुस् त। 

गगन गजब छन्। 

आज युट्युबरहरूले कि गगन छैनन् कि रवि छैनन् भनेको सुनेर म आश्चर्यचकित छु। कहाँ गगन आकाशजस्तो। कहाँ रवि, जो धर्तीमा पनि राम्ररी टेक्न सकिरहेको छैनन्। रवि अर्कै भट्टीमा खारिँदै होलान्, राजनीतिक भट्टीमा त गगन र रविको तुलनै हुन सक्दैन। भन्नुहोला, राजनीतिक भट्टीले अहिलेसम्म के नाप्यो र? 

म यत्ति भन्छु– पायो भने जती गगनले नाप्छन्, त्यति रविले नाप्न सक्दैनन्। प्लिज! अरु सब गर्नुस्, गगनलाई रविको तहमा नउतार्नुस्। यो मूर्खता नगर्नुस्। राजा, गिरिजाप्रसाद कोइरालादेखि केपी ओली, माधव नेपाल, प्रचण्डदेखि एक से एक नेताहरूको भट्टीमा खारिएर इँट्टा बनेको मान्छे हो– गगन। 

रवि त अहिलेसम्म कच्चा माटै छन्। माटोलाई पहिले इँट्टा बन्न दिनुस्। अनि इँट्टा–इँट्टाको कुरा गरौँला। 

आधार नम्बर दुई – आफ्नो बोली, विचार र तर्कमा स्पष्ट। 

मैले यो बीचमा धेरै नेताका बोली, विचार र तर्कहरूलाई सुनेँ, विश्लेषण गरेँ। ती यति विरोधासपूर्ण, हास्यास्पद र तर्कहीन लाग्छन् कि तिनले के बोलिरहेका छन्, के भनिरहेका छन्, कुनै ठेगान छैन। 

गगन थापाको विचार, बोली र तर्कमा स्पष्टता देखिन्छ। कुरा विचार, बोली र तर्कमा स्पष्टता मात्र होइन, त्यसलाई प्रकट गर्ने शैली र भाषाको पनि हो। 

हेर्नुस् त आइतबार (जेठ ६ गते) उपप्रधानमन्त्री तथा गृहमन्त्री रविले संसदमा दिएको भाषण र त्यसपछि गगनले गरेको पत्रकार सम्मेलन। त्यहीँबाट थाहा हुन्छ– गगनको ग्रहणशीलता र प्रकटीकरण। 

आक्रोश पोख्नु र तर्क गर्नु दुई फरक कुरा हुन्। कुनै घटना विशेषमा, आफू उभिएको ठाउँ बदलिँदा बदलिने सानातिना टिप्पणीहरूबाहेक गगनका विचार र तर्कहरूहरूमा सैद्धान्तिक विरोधाभासहरू देखिँदैन। 

उनी सुरुदेखि नै मोटामोटी एउटै चिज भनिरहेका छन्– यसरी लोकतन्त्र चल्दैन। शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड, माधव नेपालजस्ता एक पुस्ताका नेताहरूलाई ससम्मान कार्यकारी राजनीतिबाट विदा नगरेसम्म नेपाली लोकतन्त्र लफडामा परिरहन्छ। यसो नभएसम्म लोकतन्त्रले सही बाटो पक्रिँदैन। 

खुला र प्रष्टसँग यो कुरा भन्ने र यसमा खुलेर तर्क गर्ने मैले कांग्रेस वा अरु कुनै पार्टीमा अर्को व्यक्ति देखेको छैन। यो उनको विचार केवल नयाँ वा पुरानो पुस्ता भन्ने सतही कुरासँग मात्र सम्बन्धित छैन। गगनको यो विचारको गहिरो अर्थ र महत्व छ। 

उनी यो फगत भनिरहेका छैनन्– नयाँ पुस्ता चाहियो। 

उनी यो भनिरहेका छन्– उही मान्छे, सबैतिर सधैँ फिट वा ठिक हुन्छ भन्ने हुँदैन। 

देउवा वा ओली पुस्ता प्रजातन्त्र वा लोकतन्त्रको संघर्ष र स्थापनासम्म ठिकठाक थियो। त्यहाँ एकोहोरो लडाइँ थियो। प्रजातन्त्र वा लोकतन्त्र चाहियो चाहियो भनेर कराइदिँदा पुग्थ्यो। 

पुग्यो पनि। 

लोकतन्त्रसम्मको बाटो एउटै थियो।

त्यसपछिको बाटो एउटै थिएन, छैन। 

हो, यहीँ आएर बाटो हराएको छ। अलमलिएको छ। 

ब्रिटिस राजको अन्त्यपछि भारतको लोकतन्त्र पनि धेरै वर्षसम्म यस्तै संकटमा रह्यो। पछिल्ला दसबीस वर्षहरूमा बल्ल भारतको लोकतन्त्र समृद्धिसँग जोडिन थालेको हो। भलै, भारतको आजको लोकतान्त्रिक अभ्यासमा अनेक टिप्पणी गर्न सकिन्छ। तर मान्नुस् वा नमान्नुस्, आज दुनियाँमा भारतको जुन प्रभाव छ, त्यो तपाईं–हामी नेपालीले कल्पना गर्नेभन्दा पनि माथि छ। कम्युनिष्टहरूले आदर्श मान्ने चीनको पनि कुरा उही हो। आजको दुनियाँमा सिर्फ लोकतन्त्र बकवास हो, जसले चीनको जस्तो, भारतको जस्तो, कतार वा साउदी अरबको जस्तो वा भियतनामजस्ता देशको समृद्धिको भाषा बुझ्दैन। 

लोकतन्त्र भन्ने चिज आजको दुनियाँमा सिर्फ राजनीतिको खेल मात्र होइन, जो नेपालमा भइरहेको छ। आजको दुनियाँमा विकास र समृद्धिको लडाइँ एकोहोरो छैन। यो लडाइँको ‘डाइनामिजम’ सायद मलाई लाग्छ, गगनले राम्ररी बुझेका छन्। 

मेरो तीन नम्बर बुँदा यही डाइनामिजमसँग सम्बन्धित छ। 

आधार नम्बर तीन– आजको देश–दुनियाँको कुरा बुझ्ने र बुझाउने क्षमता राख्ने। 

मैले माथि नै भनेँ– आजको दुनियाँमा लडाइँ एकोहोरो छैन। विकास, समृद्धि वा प्रगतिका पनि अनेक आयामहरू छन्। यो समयमा नेपालको जेलमा चौध वर्ष वा यतिउति वर्ष बसेको भन्ने अनुभवले मात्र अनुभव गर्ने मान्छेलाई धाक लगाउने बाहेक अरु कुनै अवसर जुराउँदैन। 

जेल अनुभव र एआईको कविता लेखन एउटैएउटै हो, जसले अरुको भाव र चाहनाको प्रतिनिधित्व गर्दैन। 

यो यथार्थ बुझ्न नसक्ने मान्छेले आजको कहीँको पनि राजनीति हाँक्न सक्दैन। नेपालजस्तो भूराजनीतिक जटिलतामा फस्दै गैरहेको देशका लागि त आज अध्ययन, तर्क र भाषाको हिसाबले चुस्त नेतृत्व चाहिएको छ। केबल आन्तरिक राजनीतिको गोटी चाल्न जान्ने मात्र भएर अब आजको नेपाली लोकतन्त्र धानिँदैन। 

पुराना पुस्ता, जो बाघचाल सिकेर हुर्कियो र त्यसैमा रमाउँछ, त्यसलाई रुबिक क्युब मिलाउन समय लाग्छ वा मिलाउनै सक्दैन।

गगन जसरी विषयका आयामहरूको तीक्ष्णतापूर्वक चुरो समाउँछन्, त्यो तीक्ष्णता समकालीन नेपाली नेतामा कमै छ। गगन यसरी तर्क गर्छन्, त्यहाँ उनको अध्ययन, बुझाइमा गहिराइ र प्रस्तुतिमा परिपक्वता देखिन्छ। 

अन्यथा नलिनु होला, भारतीय विदेशमन्त्री जयशंकर जो छलफलहरूमा अमेरिकीहरूलाई पनि हायलकायल पार्छन्, तीसँग के प्रचण्ड, देउवा, ओली वा  नारायणकाजी र प्रदीप ज्ञवालीहरूले तर्कमा उस्तै क्षमता राख्छन् र कालापानी फर्कन्छ? 

अहँ, मलाई लाग्दैन। 

आफूले बोलेकै ठेगान नहुनेहरूले अर्कोले बोलेको भेउ पाउने त म कुनै सम्भावना देख्दिनँ। यो मामिलामा अरुभन्दा गगन ठिकठाकै छन् भन्ने मलाई लाग्छ। 

मेरो चेतले भन्छ– बितेका तीस वर्षमा गगनले उनको उमेरमा, भारत, अमेरिका, चीन वा युरोपियनको प्रभाव, खेल र भाषालाई जति बुझेका छन्, सायदै अरु कसैले बुझेको छ नेपालमा। त्यो भाषालाई ग्रहण गर्ने वा खण्डन गर्ने क्षमता र भाषा पनि गगनसँगै छ भन्ने मलाई लाग्छ। जसले अँध्यारोमा पनि विश्वका एक से एक व्यक्तित्वहरूसँग खुला संवाद गरेका छन्, अर्थात् ‘डिनर इन दि डार्क’, उनले उज्यालोमा लन्च खान पाए भने त सायद हार्ने छैनन्। 

आधार नम्बर चार– युवा जोस र मनोविज्ञानसँग जोडिएको।

आजको नेपाली राजनीतिको समस्या के हो भने तीस वर्षदेखि उही मान्छे, उही अनुहार सरकार र पार्टीमा हाबी छ। कुनै नयाँपन छैन, कुनै नयाँ भिजन छैन, कुनै नयाँ प्रगति छैन। र, पनि उही मान्छे कसरी टिकिरहेको छ? अचम्म छ। 

ती कस्ता छन् भने– आफ्ना घरमा कार्यकर्ताहरू भेटन आइरहेको मन पराउँछन्। आफ्नो वरिपरि मान्छे झुम्मिँदा उनीहरूलाई नेता भएको गर्विलो भान हुन्छ। ती भनसुन र खासखुसमा बढी रुचि राख्छन्। कोठे राजनीतिमा उनीहरूको दक्षता छ। मिलाएपछि जे पनि मिल्छ भन्ने उनीहरूमा क्रोनिक विश्वास छ। आफ्ना को हुन्, अर्काका को हुन्? तिनले बढी जानेको हिसाब बस यत्ति हो। क्षमता, दक्षता, नियम र कानुन तीनलाई गौण लाग्छन्। 

राम्रा कामको जस लिने, नराम्रा कामको अपजस नलिने छुट्टै ग्रन्थी तिनमा छ। 

हो, यस्तो पुस्ता आज पनि नेपाली राजनीतिमा हाबी छ। यो क्रोनिक पुस्तालाई अब विदा गर्नु पर्छ भनेर राजनीतिमा उदाएको मान्छे हो– गगन थापा, जसले आजका युवाहरूको जोस र मनोविज्ञानलाई बुझेको छ।

आजको नेपाली राजनीतिको अर्को एउटा समस्या के हो भने पुरानो पुस्ताले नयाँ पुस्तालाई बुझेको छैन, नयाँले राजनीति बुझेको छैन। पुस्ता पनि बुझेको, राजनीति पनि बुझेको र अझै पनि युवाहरूलाई जोड्न सक्ने, कोही नेता आजको राजनीतिमा सक्रिय छ भने त्यो हो, गगन थापा। 

आधार नम्बर पाँच– काम गर्ने शैली र तरिका कुनै विकसित देशको नेताको जस्तै।

जब गगन थापा पहिलो पटक सांसद भए, त्यो बेलादेखि नै उनले गरेको अभ्यास के हो भने संयन्त्र बनाएर काम गर्ने। आफूले नजानेको कुरा जान्नेहरूबाट सिक्ने। सिकेका कुराहरूको नोट राख्ने। संसदमा कुनै विषयमा बोल्न जानुअघि त्यसको गहिरो अध्ययन गर्ने, विज्ञहरूसँग छलफल गर्ने। 

यसैले त गगनका प्रस्तुतिहरूमा अपरिपक्वता कम देखिन्छ। गगनको काम गर्ने शैली कुनै विकसित देशका नेताहरूको जस्तै लाग्छ। 

के तपाईं शेरबहादुर देउवा, प्रचण्ड, ओली वा अन्य नेताहरूले यो अभ्यास गरिरहेको पाउनुहुन्छ?
***
पाँच बुँदाको मोटामोटी व्याख्यापछि अब मलाई लागेको गगनमाथिको मेरो एउटा शंका भन्छु। त्यो के भने काठमाडौँमा हुर्केबढेका गगनले गाउँ कति बुझेका छन्? गाउँ नबुझीकन नेपालमा राजनीति र विकासको मोडल ठम्याउन सकिँदैन। गाउँ बुझ्ने मामिलामा गगन कति अब्बल छन्, हो यसैमा मेरो गगनमाथि अझै शंका छ।

बाँकी चिजमा गगन नेपाली राजनीतिका आजसम्मका एक अब्बल पात्र हुन्। 

अब अन्त्यतिर फेरि पहिलेका तीन निष्कर्ष दोहोर्‍याऊँ। 

एक– नेपालमा अहिलेको जस्तो लोकतन्त्र अब काम छैन। 

दुई– नेपाली लोकतन्त्र हार्दो छ। 

तीन– हार्दो नेपाली लोकतन्त्रलाई एकपटक जिताउन सक्ने अब एक मात्र खेलाडी हुन्– गगन थापा। 

हो, अब नेपालमा पुराना देउवा, प्रचण्ड, ओली र नेपालहरूले बिगारेको, रविहरूले बिथोल्न खोजेको, दुर्गा प्रसाईंहरूले हल्लाउन खोजेको र ज्ञानेन्द्रले दाउ हेरेको, हार्दो नेपाल लोकतन्त्रलाई एकपटक बचाउन सक्ने खेलाडी गगन मात्र हुन्।

तपाईं फुटबलको जानिफकार हुनुहुन्छ भने थाहै होला, कतिपय खेलमा अब्बल खेलाडीलाई अठासी मिनेटमा मैदानमा उतारिन्छ। नेपाली लोकतन्त्र आजका दिनमा अठासिऔँ मिनेटमा खेल्दैछ। हार्नुअघि गगनलाई एकपटक मैदानमा उतारौँ। बाँकी दुई मिनेटमा गोल गर्ने आज नेपाली राजनीतिमा कुनै खेलाडी छ भने त्यो हो– गगन थापा। 

जतिसक्दो छिटो नेपाली दलका कोचहरूले यो कुरा बुझ्छन्, त्यति छिटो लोकतन्त्रले जित्ने सम्भावना हुन्छ। यो कुरा नेपाली कांग्रेस र सभापति देउवाले जति छिटो बुझ्छन्, त्यति देश र लोकतन्त्रलाई फाइदा हुन्छ। देउवाको पनि मान बढ्छ। 

सबैको मान बढ्छ। 

अब कुरा फेरि देउवा, ओली, प्रचण्ड वा माधव नेपाल, वा शेखरको गर्दै नगरौँ, गगनको गरौँ। साँच्चिकै अहिलेका पार्टीहरूमा लोकतन्त्रप्रति गहिरो आस्था छ र उम्दा लोकतन्त्रको खोजी छ भने भनौँ– पार्टीभन्दा माथि लोकतन्त्र। नेताभन्दा माथि लोकतन्त्र।

तर आजको जस्तो लोकतन्त्र चाहिँ होइन है, जसको अब काम छैन। 

अनुशासित वा नियन्त्रित लोकतन्त्र– गगनको नेतृत्वमा।

देउवा, ओली, प्रचण्डलगायत सबैको सहयोग पाएको गगनको नेतृत्व, अनुशासित वा नियन्त्रित लोकतन्त्र। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .