नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छठ पर्वले राष्ट्रलाई एकताबद्ध तुल्याउँदै समृद्धिको बाटोमा अघि बढ्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।
छठ पर्वको अवसरमा बिहीबार बिहान शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, ‘छठ पर्वले चुनौतीहरूलाई अवसरमा बदल्न, व्यक्तिगत एवं सामाजिक जीवनमा आशाको रक्तसञ्चार भर्न, राष्ट्रलाई एकताबद्ध तुल्याउँदै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको बाटोमा अघि बढ्न हामी सबैलाई प्रेरणा मिल्ने विश्वासका साथ सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।’
मानव जीवन कृषि युगमा प्रवेश गरेपछि उत्पादित कृषिजन्य उपज र परिकारहरूको खुसीयाली एवं कृषि युगको निरन्तरताको प्रतीकका रूपमा सूर्यको आराधना गरी छठ पर्वको परम्परा सुरुवात भएको उल्लेख गर्दै उनले छठ पर्व प्रकृति र मानव जीवनबीच जीवन्त व्यावहारिक सम्बन्ध गाँस्ने पर्वका रूपमा समेत स्थापित भएको बताएका छन्।
यस पर्वले प्रकृति र मानवबीचको सम्बन्ध जीवन्त तुल्याउनका साथै जीवनोपयोगी प्राकृतिक वस्तुको सम्मान एवं संरक्षण, उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्तिसमेत महत्त्वपूर्ण भूमिका खेल्ने अध्यक्ष प्रचण्डले उल्लेख गरेका छन्।
नेपालका विविध संस्कृति र पर्व क्रमशः सम्पूर्ण नेपालीका साझा संस्कृति र परम्परा बन्दै गएको उल्लेख गर्दै उनले छठ पर्व पनि सम्पूर्ण नेपालीकै आम पर्वका रूपमा मनाउन थालिएको बताएका छन्।
Shares

प्रतिक्रिया