प्यालेस्टिनी प्राधिकरणका प्रमुख महमुद अब्बासले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकामा डोनाल्ड ट्रम्पलाई बधाई दिँदै सफलताको कामना गरेका छन्।
प्यालेस्टिनी अधिकारी नियन्त्रित वाफा समाचार एजेन्सीको वेबसाइटमा बुधबार पोस्ट गरिएको सन्देशमा अब्बासले यस क्षेत्रमा शान्ति र सुरक्षाका लागि ट्रम्पसँग काम गर्ने आशा व्यक्त गरेका छन्।
सन्देशमा उनले विश्व अन्तर्राष्ट्रिय कानून अनुसार चल्नुपर्ने पनि उल्लेख गरेका छन्।
उनले भनेका छन्- हामी शान्तिप्रति हाम्रो प्रतिबद्धतामा दृढ छौँ र संयुक्त राज्य अमेरिकाले पनि तपाईंको नेतृत्वमा प्यालेस्टिनीहरूको जायज मागलाई समर्थन गर्नेछ भन्नेमा हामी विश्वस्त छौँ।
गाजामा एक वर्षभन्दा बढी समयदेखि इजरायल र हमासबीच द्वन्द्व चलिरहेको छ।
अमेरिकी चुनावका क्रममा इजरायल डेमोक्रेसी इन्स्टिच्युटले गरेको सर्वेक्षणअनुसार करिब दुईतिहाइ इजरायली नागरिकले कमला ह्यारिसभन्दा इजरायली हितका लागि ट्रम्प राम्रो नेता भएको विश्वास व्यक्त गरेका थिए।
बीबीसीको अमेरिकी सम्बद्ध संस्था सीबीएस न्युजका अनुसार गाजाका एक बासिन्दाले भने- अमेरिकी चुनाव जोसुकैले जितोस्। रिपब्लिकन होस् वा डेमोक्रेट दुवै उस्तै हुन्। तिनीहरू एउटै सिक्काका दुई पाटा मात्र हुन्।
हमासले के भन्यो?
ट्रम्पको जितमा हमासका वरिष्ठ नेता बसम नइमले यसलाई अमेरिकीहरूको व्यक्तिगत मामिला भनेका छन्।
यद्यपि उनले गाजामा जारी द्वन्द्व अन्त्य हुने आशा व्यक्त गरेका छन्।
साथै उनले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्र र जेरुसेलमलाई राजधानी बनाउन सहयोग पाउने अपेक्षा पनि गरेका छन्।
Shares

प्रतिक्रिया