राजनीति


सांसदहरु भन्छन्ः कोरोनाबारे सरकार खेलाँची गर्दै छ, तत्काल रणनीति बनाउनुपर्‍यो

सांसदहरु भन्छन्ः कोरोनाबारे सरकार खेलाँची गर्दै छ, तत्काल रणनीति बनाउनुपर्‍यो

नेपालखबर
फागुन २९, २०७६ बिहिबार ८:४४,

सांसदहरुले कोरोना भाइरस संक्रमणबाट जोगिन तत्काल रणनीति बनाई आवश्यक सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले विमानस्थल, सीमानाका र भीडभाड हुने स्थानमा आवश्यक सतर्कता अपनाउँदै स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिम र सुरक्षित उपकरणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

विदेशबाट आउनेले कोरोना संक्रमण नभएको प्रमाणपत्र देखाएकै भरमा कुनै चेकजाँच नगरी जाने व्यवस्था गर्दा संक्रमणको जोखिम बढेको भन्दै जोखिमयुक्त मुलुकबाट आउनेलाई अनिवार्य क्वारेन्टाइनको व्यवस्था गर्न पनि सांसदहरुले माग गरे। साथै कोरोना भाईरसको त्राससँगै कालोबजारी बढेकाले दैनिक उपभोग्य सामानको सुलभ मुल्यमा उपलब्ध गराउने सम्बन्धमा जनतालाई आश्वस्त पार्न पनि सरकारको ध्यानाकर्षण गराए।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद सांसद खगराज अधिकारीले कोरोना भाइरसको संक्रमणको जोखिम बढेको अवस्थामा बजारमा कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न माग गरे।

'काेराेनाकाे माैकामा व्यापारीले कृत्रिम अभाव गरे'
कोरोनाकोे मौका पारेर ‘जम्माखोरहरुले’ कृत्रिम अभाव सृजना गर्न खोजेको भन्दै अनुगमन गरी कारबाही गर्न उनले माग गरे। उनले खाना पकाउने ग्यास लगायतका उपभोग्य सामग्रीहरुको अभाव देखिएकाले सामान लुकाएर कालोबजारी गर्ने व्यापारीलाई कानूनअनुसार कारबाही गर्न माग गरे।

उनले भने, ‘आज विश्व ‘कोभेड १९’ नोभल कोरोना भाइरसबाट त्रसित छ। यही मौका पारेर जम्माखोरहरुले कृत्रिम अभाव खडा गर्दैछन्। खाना पकाउने ग्यास लगायतका अति उपभोग्य वस्तुहरुमा ठुलो अभाव सिर्जना गर्ने यस्ता काला बजारीयाहरुलाई र आपूर्ति व्यवस्थामा बाधा दिनेहरुलाई कानुनले सख्त कारबाही गर्न कुनै बाधा दिएको छैन र तुरुन्तै यसतर्फ सरकारले कदम चालोस भन्ने माग राख्न चाहन्छु।’

सांसद अधिकारीले स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिम र सुरक्षित उपकरणहरु तत्काल उपलब्ध गराउन समेत माग गरे।

'स्वास्थ्यकर्मीले पर्याप्त स्वास्थ्य सामग्री कहिले पाउँछन्?'
उनले स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिम र सुरक्षित कपडा र अरु साधनहरुको प्रयोग र त्यसको अभाव देखिएको हुनाले त्यसको व्यवस्था गर्न माग गरे। उनले कोरोना भाइरसको आक्रमण भइहाल्यो भने सुरक्षित गर्न स्वास्थ्यकर्मीहरु उपचारमा खट्न सक्ने गरी तयारी गर्न सरकारको ध्यानाकर्षण गराए।

'काेराेनाविरूद्ध रणनीति बनाउन ढिला भयाे'
नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले कोरोना संक्रमणलाई नेपाल भित्रिन नदिने रणनीति तयार गर्न सरकारको ध्यानाकर्षण गराइन्। अन्तर्राष्ट्रिय आवागमनमा नेपालले अहिलेसम्म कुनै पनि रोक नलगाएको प्रति उनले आपत्ति जनाइन्। छिमेकी मुलुक भारतले आवागमनका यात्रुलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिसकेको उल्लेख गर्दे उनले समयमा नै आवश्यक सावधानी अपनाउन सरकारको ध्यानाकर्षण गराइन्।

उनले भनिन्, ‘कोरोना भाइरस नियन्त्रण गर्नका लागि सरकार तयार छ कि छैन ? खाद्य सामग्रीदेखि औषधि उपचारका लागि कच्चा पदार्थ ल्याउनका लागि सरकार तयार छ कि छैन? अहिले सरकार, सरकारमा बसेका मन्त्रीहरुको अभिव्यक्ति हेर्दाखेरी अत्यन्तै कमजोर अभिव्यक्ति र नेपाली जनताले विश्वास गर्न नसक्ने किसिमको अभिव्यक्ति सरकारबाट आइरहेको छ । सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ। हरेक जनता खाद्यान्न लगायत अत्यावश्यक औषधीबाट बञ्चित हुनुपर्दैन भनेर व्यवहारमा देखाउन जरुरी छ।’

'स्वास्थ्यमन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिए'
भारतलगायत सबै मुलुकले आफ्नो देशमा पर्याप्त सुरक्षा सर्तकता अपनाईरहेका बेला नेपाल सरकारका मन्त्रीले भने गैरजिम्मेवार अभिव्यक्ति दिएर जनतालाई थप त्रसित पार्ने काम गरिरहेको भन्दै उनले स्वास्थ्यमन्त्रीको अभिव्यक्तिबारे सरकारको जवाफ माग गरिन्।

‘सरकारको स्वास्थ्यमन्त्रीले सरकार अहिले तयारीमा छैन, आफैले आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ क्वारेन्टाइनमा एक्लै बस्नुपर्छ भन्ने जस्ता सन्देशहरु बाहिर प्रवाह गरेर जनतालाई अझै बढी त्रसित गरेको छ’, भुसालले भनिन्, ‘सरकारले किन यस्तो अभिव्यक्ति दियो, त्यसको जवाफ पनि हामी सभामुखमार्फत चाहन्छौँ।’

कोरोना संक्रमणको नाममा जनतालाई त्रसित पार्ने गरी अत्यावश्यक खाद्य वस्तुहरु व्यापारीले लुकाएर बजारमा पाईन छोडको, अन्तर्राष्ट्रिरुपमा पेट्रोलियम पदार्थको मूल्य ३० प्रतिशतले कमी आउँदा पनि नेपाली महंगो पेट्रोल किन्न बाध्य भएको उल्लेख गर्दै उनले जनतालाई आश्वस्त पार्न सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराइन्।

उनले भनिन्, ‘वाणिज्य मन्त्री यहीँ हुनुहुन्छ। कसैले खान नपाए मलाई भन्नु भनेर उहाँले अभिव्यक्ति दिनुभएको छ। कुन जनताको मन्त्रीमा पहुँच हुने किसिमको हामीकहाँ त्यस्तो राजनीति कहाँ छ र सभामुख महोदय ? खाना पकाउने ग्यास बजारबाट लुकाईसकेको छ सभामुख महोदय सरकारले त्यसको कडा अनुमगन गर्ने कि नगर्ने?’

राजपाका सांसद महिन्द्रराय यादवले कोरोना संक्रमणले नेपाली जनतामा भय र त्रास फैलिएको भन्दै नागरिकलाई आश्वस्त तुल्याउदै संक्रमणको जोखिमबाट बच्नका लागि आवश्यक सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण गराए।

उनले सरकारको व्यवहारको जनता आश्वस्त हुनुको सट्टा झन झन अन्यौल बढाएको भन्दै एकीकृत र एकद्धार प्रणालीबाट जनतालाई सुसूचित गराउन पनि आग्रह गरे। उनले कोरोना संक्रमणको सम्भावित जोखिमबाट बच्न सीमा क्षेत्रमा समयमै आवश्यक सतर्कता अपनाउँदै जोखिम न्यूनीकरणका लागि प्रदेश र संघबीच समन्वय गर्न पनि सरकारको ध्यानाकर्षण गराए।

सांसद प्रदीप यादवले कोरोना संक्रमणको जोखिम निम्तिन नदिनका लागि सरकारले पर्याप्त सर्तकता अपनाउन नसकेको भन्दै त्यसतर्फ गम्भीर बन्न ध्यानाकर्षण गराए।

उनले छिमेकी मुलुक भारतले पनि उडानहरु रद्द गर्ने निर्णय गरिसकेको, सबै मुलुकले विमानस्थलमा जाँच गर्ने र जोखिमयुक्त मुलुकबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिरहदाँ नेपाल सरकारले भने लापरवाही गरेको आरोप लगाए। उनले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका चिनिया कामदार केहीलाई क्वारेन्टाइनमा राखेको भन्ने खबर आएको भन्दै त्यसबारे स्पष्ट पार्न सरकारकाको ध्यानाकर्षण गराए।

'चिनियाँ कामदारबारे जवाफ खाेइ?'
उनले भने, ‘सरकारले धेरै सूचना लुकाइरहेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका केही चिनियाँ कर्मचारीलाई कोरोना संक्रमण भएको सूचना आएको छ । हो के त्यहाँ ? सरकारसँग म यो कुराको स्पष्ट पार्न माग गर्न चाहन्छु । त्यहाँ केही सात आठ जना चिनिया कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ । वास्तविक कुरा के हो ? नेपाली कामदारहरु घर बसिरहेका छन् डरले । तर कुनै कुरा बाहिर आएको छैन । सरकारले कुरा लुकाईरहेको छ।’

उनले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ३० प्रतिशतले कमि आउँदा पनि नेपालमा भने पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरिएको प्रति पनि सरकारको ध्यानाकर्षण गराए।

उनले भने, ‘सरकारले उपभोक्ता ठग्ने काम गरिरहेको छ । सरकारसँग पैसा छैन भने देशलाई इमरजेन्सी घोषणा गरोस् । कि त पेट्रोलियम पदार्थको पैसा घटाओस्।’

सांसद डिला संग्रौला पन्तले विश्वभर नै कोरोना भाईरसको संक्रमणको त्रास फैलिएको र आवश्यकत सर्तकता अपनाइरहेका बेला नेपाल सरकार भने गैह जिम्मेबार बन्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण गराइन्।

विश्वका मुलुकले आफ्ना नागरिकलाई सुरक्षित बस्न अपिल गर्दै आवश्यक क्वारेन्टाइन लगायतको व्यवस्था मिलाईरहेका बेला सरकारका स्वास्थ्यमन्त्रीले जनतलाईलाई आफैँ क्वारेन्टाइनमा बस्नुपर्छ भनी गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै उनले जिम्मेवार मन्त्रीले त्यस्तो अभिव्यक्ति दिन नमिल्ने तर्क गरिन्।

उनले भनिन्, ‘हाम्रो स्वास्थ्यमन्त्रीले नेपाली जनतालाई अपिल गर्नुको साटो अब विदेशबाट आएकाले क्वारेन्टाईनमा आफै बस्न पर्यो । आइसोलेसनमा आफै बस्नुपर्यो । सरकारले राख्न सक्त्तैन भन्दै गर्दा आज नेपाली जनता त्रसित छन् । यो मुलुकको स्वास्थ्य मन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिने अधिकार छैन म म ध्यानाकर्षण गराउन चाहन्छु।’

कोरोना भाइरसको संक्रमणको जोखिमको त्रास सगै बजारमा खाद्यान्न, ग्यास, औषधि, मास्क, सेनिटाइजरलगायत सामान अभाव भएको भन्दै खाद्यान्न अभाव हुन नदिने व्यवस्था गर्न पनि उनले ध्यानाकर्षण गराइन्।

त्यसैगरी सांसद निरादेवी जैरुले कोरोनाको नाममा कालोबजारी मौलाएको भन्दै नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन्। उनले कोरोना संक्रमणको सम्भावित जोखिमको आकलन गरि काठमाडौंमा रहेका तथा विभिन्न क्षेत्रका विद्यालय र भवनहरुलाई क्वारेन्टानको लागि तयारी अवस्थामा राख्ने व्यवस्था गर्न समेत सरकारको ध्यानाकर्षण गराइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad