गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल नेपाललाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाउने बताएका छन्।
मंगलबार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बललाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाउन मन्त्रालय लागिपरेको बताएका हुन्।
उनले त्यसका लागि अन्तर्राष्ट्रिय मापदण्डसहितका थप बीओपी (बोर्डर आउपोस्ट) हरूको स्थापना गर्न लागिएको जानकारी पनि दिए। हालका बीओपीहरूको स्तरवृद्धि गर्दै समग्र संगठनलाई प्रविधिमैत्री एवं चलायमान बनाउनेतर्फ पनि मन्त्रालय प्रयासरत रहेको उनको भनाइ थियो।
उनले दीक्षित प्रहरीलाई आफ्नो बौद्धिकता, योग्यता, क्षमता र इमान्दारिलाई सदैव सत्य र लोकहितको पक्षमा लगाएर काम गर्न आग्रह पनि गरे।
सशस्त्र प्रहरी बल नेपालको कानुन परिवर्तन गर्न लागिएको भन्दै यसले सशस्त्र प्रहरीलाई थप सबल, सक्षम र व्यावसायिक बनाउने विश्वास पनि गृहमन्त्रीले व्यक्त गरेका थिए।
उनले भने, ‘सशस्त्र प्रहरी बल, नेपाललाई सीमाको डेडिकेटेड फोर्स बनाउन मन्त्रालय लागिपरेको छ । यसका लागि अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बीओपीहरूको स्थापना, मौजु बीओपीहरूको स्तरवृद्धि गर्दै समग्र संगठनलाई प्रविधिमैत्री एवं चलायमान बनाउनेतर्फ मन्त्रालय प्रयासरत रहेको छ। राष्ट्रिय सुरक्षाभित्र पर्ने सबै जिम्मेवारीहरू हाम्रा साझा जिम्मेवारीहरू हुन्। हाम्रो जिम्मेवारीबाट राज्यका हरेक नागरिकमा सुरक्षाको प्रत्याभूति भए मात्र हाम्रो अस्तित्व र परिचालनको अर्थ हुन्छ। आफ्नो बौद्धिकता, योग्यता, क्षमता र इमान्दारीलाई सदैव सत्य र लोकहितको पक्षमा लगाउनुहोला। सदाचारयुक्त, योग्य, सकारात्मक सोच र मानसिकता भएको दक्ष र इमान्दार अधिकृतको रूपमा राष्ट्रसेवाको आगामी यात्रा सफल होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। कानुन परिवर्तन गरेर नयाँ कानुन निर्माणको प्रक्रिया अगाडि बढाउन लागेको छौँ।’
Shares

प्रतिक्रिया